नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नम्बर २ मा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अर्जुननरसिंह केसीले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले योजनाबद्ध ढंगले काम नगर्दा किसानले मल नपाएकोले आफूहरुले अब संघर्ष गर्ने बताउनुभएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका ५ मा घरदैलोका क्रममा आयोजित सभामा बोल्नुहुँदै नेता केसीले वर्तमान सरकारले पनि दायित्व पूरा नगरेकोले अब आफूहरुले संघर्ष गर्ने आश्वासन दिनुभएको हो । 'अहिले किसानको सबभन्दा ठूलो समस्या मलको छ ।
पञ्चवर्षीय योजनाभित्र प्रत्येक वर्ष बजेट बनाएर कुन वर्ष कति चाहिने भनेर जे तयारी गर्नुपर्ने पूर्ववर्ती सरकारले त्यो गरेन । अहिले आको सरकारले एकातिर आफ्नै पार्टीको अधिवेशनमा अलमलियो। त्यसपछि स्थानीय निर्वाचनमा अलमलियो । यो सरकारको दायित्व हो । उसले पूरा गर्नैपर्थ्यो । त्यो गरेन,' नेता केसीले भन्नुभयो, 'यसका लागि कहाँ-कहाँ संघर्ष गर्नुपर्ने हो, हामी गर्छौं ।' उहाँले केन्द्र र प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गर्नुहुँदै गठबन्धनलाई आउँदो चुनावमा जिताउन नसके विकास नहुने बताउनुभयो ।
'आउँदो ५ वर्ष केन्द्रीय लेभलमा गठबन्धनको सरकार बन्छ भन्ने तपाईंहरु निश्चिन्त भएर बस्नुहोस् । प्रदेशमा गठबन्धनको सरकार बन्छ । बेलकोटगढी गठबन्धनले जित्या छ । अनि यिनीहरुलाई साथ नदिए विकास कसरी हुन्छ ? यिनीहरुले हो गर्ने,' उहाँले भन्नुभयो, 'विपक्षीले अनेक भ्रम फैलाइरहेको छ । हामीले त गर्न खोजेको हो ।
यो बाटोको बजेट कांग्रेसले काट्यो । अर्को माओवादीले काट्यो भन्ने । अनि सत्तामा आफू बस्ने । संसद् एमालेको हुने । नगरपालिका प्रमुख उहाँहरु नै हुने । अर्काले बजेट काट्दा काटिने के नेता त तपाईंहरु भनेर तपाईंहरु सोध्न सक्नुहुन्न ? आफूले गर्ने हो । अरुले बिगार्यो भनेर दोष लगाउन पाइँदैन ।' उहाँले अहिले गठबन्धनको मतदानलाई पैँचोको रुपमा लिन आग्रह गर्नुभएको छ ।
नुवाकोट- २ मा प्रतिनिधिसभा केसी उम्मेदवार हुनुहुन्छ भने प्रदेशसभा २ (१) माओवादी केन्द्रका नेता रामप्रसाद ढुंगाना र २ (२) मा कांग्रेसका नेता बहादुरसिंह लामा चुनावी मैदानमा हुनुहुन्छ ।