मिर्गौला मानव शरीरको महत्वपूर्ण अंग हो । मिर्गौलामा समस्या आएपछि उपचारको क्रममा धेरै नेपालीको घरखेत गएको छ भने धेरै जना सुकुम्बासीनै बन्नु परेको तितो यथार्थ हामीले देख्ने भोग्दै आइरहेका छौं । तर मिर्गौलालाई स्वास्थ राख्न हामीले ध्यान दिनुपर्ने कुराको बारेमा भने खासै चासो दिएको पाइदैन । नेपालमा बर्सेनि हजारौं मिर्गौला रोगी थपिँदै गइरहेका सरकारी, गैरसरकारी निकायको तथ्यांकले देखाउँछ । पछिल्लो समय जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि मिर्गौला समस्या देखिन थालेको छ ।
मिर्गौलालाई स्वस्थ राख्न ध्यान दिनुपर्ने विषयमा चिकित्सा क्षेत्रमा ३५ वर्षदेखि सेवा प्रदान गर्दै आउनुभएका नेपालको पहिलो र एकमात्रा मिर्गौला बचाउ अभियानको व्यवस्थापक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेसँग ग्लोबल मिडियाका लागि अन्जु डिम्दोङले गरेको कुराकानी ।
नेपालमा मिर्गौला रोगीको अवस्था कस्तो पाउनु हुन्छ ?
नेपालको जनसंख्या ३ करोड भन्दै आइरहेका छौं । ३ करोड जनसंख्या १० प्रतिशत अर्थात् ३० लाख व्यक्तिमा मिर्गौलाको समस्या छ । त्यो ३० लाखमध्ये पनि १० प्रतिशत अर्थात् ३ लाख व्यक्तिको मिर्गौला बिग्रन थालेको छ । ३ लाखको पनि १० प्रतिशत ३० हजार व्यक्ति नराम्रोसँग मिर्गौला बिगारेर बसेका छन् । त्यसबाट पनि प्रतिवर्ष ३ हजार व्यक्तिको मिर्गौला पूर्णतया बिग्रिन्छ । त्यस्तो व्यक्तिलाई डायलसिस या पूर्णतया प्रत्यारोपणबाट बचाउन सकिन्छ । हामीले नेपालमा ३३ वर्ष भयो डाइलसिस सुरु गरेको । अहिले जम्माजम्मी ५ हजार व्यक्तिले डायलसिस पाएका छन् ।
कति नागरिकलाई रोगबाट बच्ने उपाय नै थाहा छैन अनि मिर्गौला बिग्रेपछि उपचार गर्न सक्ने स्थिति छैन । मिर्गौला रोगी बढ्दै जानुका कारण के के हुन् ?
बिग्रँदो जीवनशैली, खानपानको भद्रगोल र औषधिको बढी मात्रा सेवन गर्दा मिर्गौलाका समस्या बढ्दै गइरहेको छ । हिजो उपचार गर्ने व्यवस्था थिएन । अहिले उपचार गर्ने व्यवस्था छ । मेडिकल कलेज बढ्न थाले, विदेशमा जाने व्यक्तिको अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने नियम छ । केही हदसम्म भए पनि संचार क्षेत्रको कारणले स्वास्थ्य जाँच गर्नुपर्दो रैछ भन्ने नागरिकमा जनचेतना छ ।
हिजोभन्दा रोगीको संख्या बढ्दो छ भने अर्कोतर्फ सुविधा प्राप्त भयो । जुन उपचार गर्न काठमाडौं आउनु पर्ने बाध्यता थियो भने अहिले त्यो उपचार प्रदेशको सहरहरुमा नै भइरहेको छ । त्यसले गर्दा बिरामीको संख्या बढ्नुमा दुई वटा कारण देखिन्छन् ।
कस्ता व्यक्तिमा मिर्गौलाको समस्या हुने बढी सम्भावना हुन्छ ?
गर्भवती आमाले कति स्वास्थ खानेकुरा खानुभयो ? स्वास्थ्य खानेकुरा गर्भवती आमाले खानुभयो भने जन्मले बच्चा स्वास्थ मिर्गौला लिएर जन्मछ । कम तौल लिएर जन्मेको बच्चामा मिर्गौलाको रोग हुने सम्भावना हुन्छ ।
धुम्रपान र मद्यपानले स्वास्थ्यमा विभिन्न समस्या हुन्छन् भन्ने कुरा बिर्सनु हुँदैन । उच्च रक्तचाप, मधुमेह, तौल बढी हुने नागरिकको संख्या बढ्दै गइरहेको छ । यी कारणले मिर्गौला जोखिममा पर्छ । मिर्गौलामा समस्या आउनुका सम्भावनाको बारेमा कुरा गरिरहँदा अर्को कारण जथाभावी औषधी प्रयोग पनि हो ।
हरेक व्यक्तिले सकेदेखि अल्ट्रासाउण्ड, क्रियाटिनीनन् र पिसाबमा प्रोटिन गएको छ कि छैन भनेर ३ कुराको परीक्षण गर्दा मिर्गौला स्वस्थ छ कि छैन भन्ने जानकारी पाउन सकिन्छ ।
साना–साना समस्या दुखाईलाई नसहने, समयमा चिकित्सकलाई नदेखाउने तर जथाभावी औषधि निम्स, निकोजस्ता पेनक्लियर प्रयोग गर्ने चलन छ । मिर्गौलामा यस्ता औषधिले असर गर्छ भन्ने बारेमा नागरिकलाई जानकारी भएन ।
मिर्गौलाका समस्या वंशाणुगत पनि हुन्छन् ?
वंशाणुगत पनि मिर्गौलामा समस्या हुन्छन् । जन्मिँदा बच्चा स्वस्थ अनि हुर्किँदै जाँदा दुबै मिर्गौलामा पानीका फोका आउने, फोका साइज ठूलो हुँदै जाने र नयाँ फोका आउँदै गएर अन्तमा अंगुरको झुप्पाजस्तो बन्ने र पुरै मिर्गौला बिग्रने समस्या वंशाणुगत हुन्छ । जसलाई ‘पोली सिस्टीज किड्नी डिजिज’ भनिन्छ । मिर्गौलाको यस्ता रोगहरु बाजे बराजुमा छ भने पछिल्लो पुस्तामा पनि देखिने सम्भावना हुन्छ । यो बाहेक रोगहरु वंशाणुगत जाने छैनन् ।
आफूमा मिर्गौला समस्या पो भयो कि भनेर शंका गर्ने लक्षणहरु के के हुन्छन् ?
धनी, गरिब, गाउँ, सहर जहाँ बसेको होस्, महिला, पुरुष, युवा बालबालिका, वृद्धवृद्धा सबै व्यक्तिमा मिर्गौला समस्या देखेका छौं । के भयो भने मिर्गौलामा समस्या भयो भनेर अस्पताल दौडीहालौं भन्ने कुराको सवालमा भने एक वर्ष भयो मैले मिर्गौला नजाचेको, पोहोर साल मिर्गौला जाचेको थिए यो साल मेरो मिर्गौला स्वस्थ छ भन्ने ग्यारेन्टी के छ ? त्यसैले हरेक व्यक्तिले सकेदेखि अल्ट्रासाउण्ड, क्रियाटिनीनन् र पिसाबमा प्रोटिन गएको छ कि छैन भनेर ३ कुराको परीक्षण गर्दा मिर्गौला स्वस्थ छ कि छैन भन्ने जानकारी पाउन सकिन्छ ।
यी कुरा नभए पनि अहिले हामीले मिर्गौला बचाउ अभियानमा भन्दै आएको कुरा ५० देखि ६० रुपैयाँ खर्च गरेर पिसाबमार्फत आफ्नो मिर्गौलाको अवस्थाबारे पनि बुझ्न सकिन्छ । देशभर नै हरेक व्यक्तिले आफ्नो मिर्गौला अवस्थाबारे वर्षमा एक पटक परीक्षण गर्ने समस्याबाट जोगिने एउटा महत्वपूर्ण उपाय हो ,यो सेवा देशभर नै उपलब्ध छ ।
३० वर्ष नाघेपछि मिर्गौला बुढो हुन थाल्छ, ३० वर्षभन्दा बढी उमेरका नागरिकले मिर्गौलाको परीक्षण गर्नुपर्छ भनिन्थ्यो । तर अहिले १० वर्षको बालबालिका, २० वर्षका युवाहरुमा पनि मिर्गौलामा समस्या भएर आइरहनु भएको छ भने ३० वर्षको कुरालाई कसरी मान्ने ?
मैले के मान्छु भने तपाईंको बालबालिकालाई विद्यालय भर्ना गर्नुभयो पिसाब जाच्नुस्, ६ वर्षको उमेरदेखि १६ वर्षसम्म बालबालिकाको मिर्गौला स्वस्थ भए/नभएको बारेमा जान्नलाई पिसाबमात्रै जाच्नुस् । १६ वर्ष पुगेपछि अल्ट्रासाउण्ड अन्य प्रक्रियामार्फत पनि थप परीक्षण गर्न सकिन्छ ।
मिर्गौलालाई स्वास्थ्य राख्न नागरिकले के-के कुरामा ध्यान दिनुपर्छ ?
पहिलो कुरा त, मैले खाएको खानेकुरा र मैले गरेको गतिविधिबाट मेरो मिर्गौला प्रभावित हुन्छ भन्ने बुझ्नुपर्यो । दिनमा ३ लिटर पिसाब फेर्ने गरी पिउनु भएको छ ? दिनको सुरुवात एक गिलास पानीबाट गर्नुस् ताकि दिनभरीमा २ देखि ३ लिटर पानी (झोल पदार्थ) पिउन सकियोस् । दिनमा १० हजार पाइला हिँड्नुपर्यो अर्थात् दौडिन, खेल्ने, नाच्ने जे गर्नुपर्छ १० हजार पाइला गर्नुस् ।
तपाईंले खानुभएको खानेकुरा स्वस्थकर छ ? घरमा बनेको खानेकुरा खार्दै हुनुहुन्छ कि बाहिरको खानेकुरा खार्दै हुनुहुन्छ ? अझ रेस्टुरेन्टुको खानेकुरा खाँदै हुनुहुन्छ भने एउटा कुरा के भन्न जरुरी छ भने जति प्याकेट, रेस्टुरेन्टुका खाना, फास्टफुडहरु आए त्यति रोगको संख्या पनि बढ्दै गएको छ ।
त्यसैले घरमा बनाएको जतिको खानेकुरा जतिको राम्रो फ्रेस खानेकुरा केही पनि छैन । सामान्य दुखाईमा पेनक्लियर खाने गर्दा पनि मिर्गौलामा समस्या हुनसक्छ । दिनमा ७ देखि ८ घण्टा सुत्नुस् र सकारात्मक सोच्नुस् । खाना, पानी, हिँडाई, पेनक्लियर खानुहुन्छ कि खानुहुन्न, उच्च रक्तचाप मधुमेह छ भने ठीकमा राख्नुस् ।
अर्को कुरा आजकाल तौल असाध्य बढी भएको पाइन्छ । तौललाई ठीकमा राख्नुस्, नियमित व्यायमलाई ध्यान दिनुस् । माथि उल्लेखित कुरामा ध्यान दिने हो भने कसरी मिर्गौला अस्वस्थ हुन्छ ।
नागरिकका मिर्गौला बचाइदिन सरकारले के गर्नुपर्छ ?
नेपालजस्तो मुलुकले उपचारको लागि सरकारले एक लाख सहयोग गर्दै आइरहेको छ । मिर्गौला प्रत्यारोपण गर्न साढे ४ देखि ५ लाखसम्म सहयोग गर्दै आइरहेको छ । नि:शुल्क डायलसिसको जीवनभर सुविधा दिएको छ । अहिले नेपाल सरकारले मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई मासिक भत्ता ५ हजारको व्यवस्था गर्ने पनि भनिएको छ । सरकारले दियो तर तपाईं/हामीले के दियौं । आफ्नो स्वास्थ्यको जिम्मेवारी हामी किन नलिने ? यसै कारणले हामीले मिर्गौला बचाऔं अभियान राखेका हौं । मिर्गौला बचाऔं अभियान मिर्गौला स्वस्थ राख्ने अभियान हो ।
सरकारले अर्बौ रुपैयाँ उपचारमा खर्च गरेको छ रोकथाममा खै त ? डायलसिस, प्रत्यारोपणमा एक वर्षमा डेढ अर्ब खर्च गर्नुहुन्छ भने त्यसको १० प्रतिशत अर्थात् १५ करोड प्रिभेन्सनमा खर्च गरौं न । हरेक व्यक्तिलाई स्वस्थ मिर्गौला राख्नको लागि ध्यान दिनुपर्ने कुरामा जानकारी दिन जरुरी छ ।
उदाहरण, काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ‘स्वस्थ्य मिर्गौला, स्वास्थ काठमाडौं’कार्यक्रम संचालन गरेको छ । यस्तै कार्यक्रम प्रत्येक स्थानीय सरकारले संचालन गर्ने हो भने काठमाडौं महानगरपालिकाको यो अभियानमा १६ हजारले मिर्गौलाको परीक्षण गराएका छन् । तीमध्ये १३ हजारको मिर्गौला स्वस्थ छ । बाँकी १२ सय व्यक्तिमा शंकास्पद देखियो । आफूलाई स्वस्थ्य भनेर बसेका ७२६ जनामा पोजिटिभ देखियो । अधिकांश आफूलाई स्वस्थ भनेको व्यक्तिमा पनि मिर्गौलामा समस्या रै छ नि । त्यसैले नागरिकले पनि आफ्नो मिर्गौलाको जिम्मा आफैले लिनपर्यो ।
हामीले मिर्गौला बचाऔं अभियानमा एक रुपैयाँ दान गर्नुस् भन्दै आइरहेका छौं । एक एक रुपैयाँले धेरै सहयोग गर्ने छ । एक व्यक्तिले वर्षमा ३६५ रुपैयाँ सहयोग गर्नुभयो भने हामी हरेक व्यक्तिलाई मिर्गौला परीक्षण गर्न बाध्य पार्ने छौं ।