बिदुर । गत स्थानीय निर्वाचनमा बेलकोटगढी नगरपालिका वडा नम्वर १३ मा वडा अध्यक्ष पदमा उमेदवारी दिएका सोमबहादुर लामासहित उहाँ पक्षधर एकसय ३८ जनाले आगामी निर्वाचनमा नेपाली काँग्रेस नेतृत्वको संयुक्त गठबन्धनलाई समर्थन गर्ने प्रतिबद्धता जनाउँनुभएको छ ।
बर्तमान अवस्थामा नुवाकोट क्षेत्र नम्वर २ को बास्तविक प्रतिनिधित्व संयुक्त गठबन्धनले मात्र गर्नसक्ने भएकाले आफूहरुले गठबन्धनलाई समर्थन जनाएको उनीहरुको भनाई छ । आईतबार मदानपुरको बाराहीमा आयोजित कार्यक्रममा वडा अध्यक्षका उमेदवार लामाले यस क्षेत्रमा रहेका आदिवासी जनजातीको अत्यधिक समर्थन गठबन्धनको पक्षमा रहने र समग्र जिल्लामा आफ्नो समूह गठबन्धन जिताउन क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसरी समर्थन जनाउने हरुमा बेलकोटगढी १३ को मतदाता रही राजधानी काठमाडौं र जिल्लाका बिभिन्न ब्यवसायिक गतिबिधिमा संलग्न तामाङ युवा व्यवसायीहरुको संख्या बढी रहेको छ । स्मरणीय छ, गत स्थानीय निर्वाचनमा ७०३ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएको बेलकोटगढी–१३ मा निकटतम प्रतिद्वन्दीका रुपमा माओवादी केन्द्रका उम्मेदवारले ४१७, एमालेका उम्मेदवारले ३९४ र स्वतन्त्र उम्मेदवार लामाले २३८ मत प्राप्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ का उमेदवार नागरिकका संबिधान प्रदत्त अधिकार कुण्ठित गर्ने प्रयास केपी ओलीको नेतृत्वको सरकारले गर्न थालेपछि संबिधानको रक्षाका लागि संयुक्त गठबन्धन निर्माण भएको बताउँदै नागरिकका अधिकारहरुको रक्षाका साथसाथै मुलुकको दीगो बिकास अभियानलाई तिब्र बनाउन गठबन्धनका उमेदवारहरुको जित आवश्यक रहेको बताउनुभयो ।
गठबन्धनका बारेमा यो वा त्यो रुपमा भ्रम छर्ने प्रयास भईरहेका बेला बेलकोटगढी १३ का युवाहरुको गठबन्धनलाई समर्थनले मंसिर ४ सम्ममा सबै मतदाता भ्रमबाट मुक्त भईसक्ने र गठबन्धनको जित सुनिश्चित हुने बिश्वास बढेको धारणा समेत ब्यक्त गरे । त्यसक्रममा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर १ का उम्मेदवार हितबहादुर तामाङले आशन्न निर्वाचन संबिधान पक्षधर र संबिधान बिरोधीहरुको बिचको प्रतिस्पर्धा भएपनि अनेक कोणबाट नागरिकहलाई भड्काउने प्रयास भईरहेको बताउँदै जेजस्ता प्रयास भएपनि गठबन्धनको बिजय अभियानलाई कुनै पनि शक्तिले रोक्न नसक्ने दाबी गर्नुभयो ।
बिकास प्रयासमा भएका राज्यका केही कमजोरीका कारण नागरिकको केही गुनासो रहनु स्वाभाविक भएको र आगामी दिनमा नागरिकको चाहना अनुसार बिकास गतिबिधिलाई अघि बढाउन गठबन्धन प्रतिबद्ध रहेको समेत माओवादी नेता तामाङको भनाई थियो ।
कार्यक्रमा माओवदी पोलिट्ब्यूरो सदस्य एवं प्रतिनिधिसभा समानुपातिक उम्मेदवार बिमला सुबेदी, संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, नुवाकोट काँग्रेसका सभापति एवं निर्वाचन क्षेत्र नम्वर १ प्रदेश ‘ख’का उम्मेदवार रमेशकुमार महत, माओवादी नेता एवं निर्वाचन क्षेत्र नम्वर २ प्रदेश ‘क’ का उम्मेदवार रामप्रसाद ढुँगाना, स्थानीय काँग्रेस नेता रमेश पाण्डे लगायतले आशन्न निर्वाचन र निर्वाचनमा गठबन्धनको जितपछिको बिकास रणनीतिहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त राख्नुभएको थियो ।