लेखनाथ । पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग एक सय ५० तिरेर खरिद गरेका थिए । एक महिना अघि मात्र प्रतिकेजी धनियाँको साग एक हजारमा बिक्री भएको थियो । तिहारमा सयपत्री फूलको मूल्य प्रतिकेजी एक हजार पुगेको थियो । यसैबाट प्रमाणित हुन्छ कि अब कास्कीका किसानले उत्पादन गरेको वस्तुले मूल्य पाउन थाल्यो ।
पोखरा महानगरपालिका–२२ भुम्दी निवासी २४ वर्षीया अप्सरा मिजारसँग आफ्नो जमिन नभए पनि दई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएकीमा भदौ र आसोज महिनामा उत्पादन गरिएको काँक्राले मात्र एक लाख आम्दानी गरायो । यसै महिनामा उत्पादन भएको सिमीले ५० हजार मुनाफा दियो । बजारमा यतिबेला सिमीको मूल्य प्रतिकेजी एक सय २० थियो । तीन रोपनी जग्गामा लगाइएको तरकारीबाट मासिक ३० हजार मुनाफा हुने गरेको कृषक मिजारले सुनाउनुभयो । उहाँको पति कुमार रोजगारीका लागि कतारमा हुनुहुन्छ, कतार गएको पनि तीन महिना मात्र भयो ।
स्याङ्जा आरुखर्कबाट पाँच वर्षअघि विवाह गरेर भुम्दी आउनुभएकी अप्सराले गाउँका किसानले व्यावसायिकरुपले तरकारी खेतीबाट मनग्य आम्दानी गरेको देखेर उहाँ पनि तरकारी खेतीतर्फ आकर्षित हुनुभएको थियो ।
गाउँलेको तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको पाँच वर्ष भयो, यस अवधिमा उहाँले मासिक ३० हजार आम्दानी गरेर आत्मनिर्भर हुँदै आउनुभएको हो । अप्सराले भन्नुभयो, “तीन वर्षदेखि तरकारी खेतीको आम्दानीले नै परिवार पालिएको छ । यतिबेला भाडाको जमिनमा केराउका बेर्ना लगाइएको छ । यस गाउँमा व्यावसायिक कृषि सुरु भएको १८ वर्ष पुगिसकेको छ । एक सयभन्दा वढी किसानले तरकारी खेती गर्दै आएका छन् ।”
भुम्दीका अधिकाशं परिवारले तरकारी खेतीमै व्यस्त छन् । किसानको उत्पादन बारीबाटै बिक्री हुँदै आएको छ । अठार वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका ४९ वर्षीय श्यामु अधिकारीले नौ रोपनी जमिनमा तरकारी खेती गर्दै आउनुभएको छ । छ रोपनी आफ्नै र तीन रोपनी जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले प्रतिवर्ष रु नौ लाख मुनाफा गर्दै आउनुभएको छ ।
पछिल्लो समय तरकारीले बजार र मूल्य पनि पाउन थालेको छ । यहाँ उत्पादन भएको तरकारी पोखरा बजारमा बिक्री हुने गर्छ । आफूले पाँच जनाको परिवार तरकारीबाट नै पाल्दै आएको जानकारी दिँदै श्यामुले भन्नुभयो– “यहाँका किसानलाई प्राविधिक ज्ञान र कोल्ड स्टोरको खाँचो छ ।” किसानले गोलभेडा, काउली, सिमी, काँक्रो, साग, मुला, बन्दा, करेला, घिराँैला, धनियाँ, फर्सी, गाँजरलगायत तरकारी उत्पादन गर्दै आएका छन् ।”
कृषि फार्म सञ्चालन गर्दै आउनुभएका श्यामुले कुखुरा र भैँसी पालनसमेत गर्नुभएको छ । यतिबेला उहाँका बारीमा अन्नपूर्ण दामी र वाइट टप जातका काउली लहलह भएका छन् । बारीमा काम गर्दै गर्नुभएका उहाँले भन्नुभयो, “सधै ओझेलमा पारेका किसानको उत्पादनले बल्ल बजार र मूल्य पाउनु थालेको छ ।” गाउँमा कृषि समूह बनाएर तरकारी खेती गर्ने थुप्रै किसान छन् ।
अर्का तरकारी खेती गर्दै आउनुभएका रमेश अधिकारीले भन्नुभयो, “माटोमा खेल्न सके सफल भइँदोरहेछ । चार पाँच रोपनी जग्गामा लगाइएको तरकारी खेतीको आम्दानीले एक परिवार सजिलै पाल्न सकिने रहेछ । कसैसँग ऋण माग्न जानु परेको छैन, दुई छाक खान र छोराछोरी पढाउन पनि पुगेको छ आवश्यक परेमा केही पैसा गोजीबाट निकाल्न पनि सकिने तरकारी खेतीले बनाइदियो ।”
सोही गाउँ निवासी ५५ वर्षीया किसान धनकुमारी गुरुङले आफू विवाह गरेर यहाँ आउँदा लोग्ने छोराले रक्सी पिउने र तासै मात्रै खेल्ने गर्थे, सडकसँगै तरकारीको व्यावसायिक खेती हुन थालेपछि अहिले गाउँमा जुवातास खेलेको देख्न पाइँदैन, ७५ वर्षका वृृद्धवृद्धासमेत तरकारी बारीमा व्यस्त भएको देखिन्छ ।
गाउँमा तरकारीले अनौठो परिवर्तन ल्याइदियो उहाँले भन्नुभयो । किसानले उत्पादन गरेको तरकारी अवलोकनका लागि आइतबार बिहान पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया, वडाध्यक्ष हिमलाल बरालसहित सञ्चारकर्मीको टोली त्यहाँ पुगेको थियो । अवलोकनमा आएका पाउनालाई उक्त गाउँका किसानले यहाँका एक सय घरपरिवारले वार्षिक दुई करोडभन्दा बढीको तरकारी उत्पादन गर्दै आएको जानकारी दिए ।
तरकारी खेती अवलोकन गर्दै प्रमुख कडरियाले यस गाउँबाट अन्य गाउँका किसानले पनि व्यावसायिकरुपले तरकारीे खेती सिक्न जरुरी भएको बताउनुभयो । घरका मान्छे विदेश भए पनि र यहाँका बाझो जग्गा भाडामा लिएर पनि व्यावसायिक तरकारी सुरु हुनु कृषिमा क्रान्ति भएको उहाँले प्रतिक्रिया दिनुभयो ।
वडाध्यक्ष बरालले तरकारीमा सिँचाइको लागि पानी अपुग भएमा थप स्रोतबाट पानी ल्याउनका लागि आफूले वडाको तर्फबाट पाइप उपलब्ध गराइदिने आश्वासन दिनुभयो । पुम्दी र भुम्दी दूध र तरकारी उत्पादनमा कास्कीमै अगाडि भएकाले यहाँका किसानलाई व्यावसायिक तालिमको व्यवस्था गर्नसमेत उहाँले कृषि महाशाखालाई आग्रह गर्नुभयो ।