दाङ । दाङका सबै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनले अग्रता कायम राखेको छ । दाङका तीनवटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभामा अग्रता कायम राखेको हो ।
दाङ क्षेत्र नं १ मा मेटमणिले मतान्तर बढाउँदै
दाङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा गठबन्धनका मेटमणि चौधरीले मतान्तर बढाउनु भएको छ । उहाँले निकटतम प्रतिस्पर्धी एमालेका शान्ता चौधरीलाई एक हजार सात सय ३५ मतले पछि पार्नुभएको छ ।
कुल १४ हजार चार सय १९ मतगणना हुँदा एकीकृत समाजवादीका चौधरीले पाँच हजार पाँच सय ३५ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेकी शान्ता चौधरीले तीन हजार आठ सय मत ल्याउनुभएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो । मेटमणि सुरुआतदेखि नै अग्रस्थानमा हुनुहुन्छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले तीन हजार ५२ मत ल्याउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले एक हजार ९३ मत ल्याएको पनि निर्वाचन अधिकृत विष्टले बताउनुभयो । क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो । क्षेत्र नं १ को लमही नगरपालिकाको हलमा मतगणना भइरहेको छ ।
दाङ १ (१) इन्द्रजितको अग्रता कायम
दाङको क्षेत्र नं १ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता इन्द्रजित चौधरीले अग्रता कायम राख्नुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी एमालेका गङ्गाराम भट्टराईलाई तीन सय ४४ मतान्तरले पछि पार्नुभएको छ । १४ हजार चार सय १९ मतगणना हुँदा चौधरीले चार हजार सात सय ५७ मत ल्याउनुभएको छ भने भट्टराइले चार हजार चार सय १३ मत ल्याउनुभएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका रञ्जित चौधरीले एक हजार आठ सय ३८ मत ल्याउनुभएको छ ।
दाङ १ (२) अनुरागको अग्रता कायमै
दाङको क्षेत्र नं १ को प्रदेशसभा २ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेस युवानेता अनुराग खड्काले अग्रता कायम राख्नुभएको छ । १४ हजार तीन सय ६१ मत गणना हुँदा खड्काले पाँच हजार सात सय ६६ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका कुलबहादुर केसीले पाँच हजार छ सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर एकसय ५४ रहेको छ ।
दाङ क्षेत्र नं २ मा रेखाको अग्रता कायमै
दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले आफ्नो अग्रता कायम राख्नुभएको छ । ३५ हजार हजार छ सय ३० मत गणना हुँदा रेखाले १३ हजार दुइ सय चार मत प्राप्त गर्नुभएको छ भने एमाले महासचिव शङ्कर पोखरेलले ११ हजार पाँच सय ८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।
उहाँहरुबीचको मतान्तर एक हजार ६ सय १६ रहेको मुख्य क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदाता मध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । क्षेत्र नं २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ ।
दाङ २ (१) मा खनाल अगाडि
दाङ क्षेत्र नं २ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडि हुनुहुन्छ । खनाल निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणाभन्दा एक हजार आठ सय ४५ मतले अघि हुनुहुन्छ । खनालले १२ हजार नौ सय ७१ मत प्राप्त गर्नुभएको छ भने राणाले ११ हजार एक सय २६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै दाङ क्षेत्र नं २ प्रदेशसभा २ पनि गठबन्धनका उम्मेदवार अघि छन् । गठबन्धनका उम्मेदवार कांग्रेसका प्रचण्ड विक्रम न्यौपानेले पाँच हजार आठ सय २७ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका गिरीराज केसीले पाँच हजार तीन सय ६७ मत ल्याउनुभएको छ । उहाँहरुबीचको मतान्तर चार सय ६० छ ।
दाङ क्षेत्र नं ३ मा दीपकको मतान्तर अग्रता
दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाउनुभएको छ । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गिरी प्रतिस्पर्धी एमालेका कोमल वलीभन्दा एक हजार सात सय ८३ मतले अघि हुनुहुन्छ ।
गिरीले आठ हजार चार सय ३५ मत प्राप्त गर्नुभएको छ, भने वलीले छ हजार छ सय ५२ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म २० हजार चार सय ४८ मत गणना भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो ।
यस क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदातामध्ये ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ ।
क्षेत्र नं ३ (१) मा चौधरी अगाडि
दाङ क्षेत्र नं ३ को प्रदेशसभा १ मा गठबन्धनबाट कांग्रेसका डिल्ली चौधरीले आफ्ना प्रतिस्पर्धी एमालेका घनश्याम पाण्डेलाई दुई हजार सात सय एक मतले पछि पार्नुभएको छ । चौधरीले १० हजार आठ सय तीन मत प्राप्त गर्नुभएको छ भने पाण्डेले आठ हजार एक सय दुई मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रमा अहिलेसम्म २२ हजार तीन सय ४९ मतगणना भएको छ । यो क्षेत्रमा ६६ हजार चार सय ८६ मतदातामध्ये ४० हजार पाँच सय ७० मत खसेको थियो ।
क्षेत्र नं ३ (२) मास्कीको अग्रता
दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की (राजेश)ले सुरुवातदेखि नै अग्रता कायम राख्नुभएको छ । २७ हजार ३१ मतगणना हुँदा माओवादी केन्द्रका मास्कीले ११ हजार नौ सय १६ र एमालेका हुकुम बस्नेतले १० हजार नौ सय ३४ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर नौ सय ८२ छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार नौ सय ८९ मतदाता रहेकामा ४९ हजार नौ सय ५० मत खसेको थियो ।