काठमाडौं । नुवाकोट क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई भव्य स्वागत गरिएको छ । प्रतिनिधिसभा सदस्यमा वाम-लोकतान्त्रिक गठबन्धनबाट विजयी नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङको जन्मठाउँ घलेभञ्ज्याङमा सोमबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा सांसदहरुलाई खादा, माला, ढाका टोपीले भव्य स्वागत गरिएको हो ।
सम्मान कार्यक्रममा क्षेत्र नम्बर १ मा निर्वाचित हितबहादुर तामाङ, प्रदेशसभा १ बाट निर्वाचित माओवादी केन्द्रकी केन्द्रीय सदस्य राधिका तामाङ, प्रदेशसभा २ मा निर्वाचित नेपाली कांग्रेसका जिल्ला सभापति रमेशकुमार महतलाई पञ्चकन्या गाउँ कमिटीका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेता, कार्यकर्ता र स्थानीय मतदाता स्वागत गरेका हुन् ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीनै जना उम्मेदवारहरु निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गरी विजयी बन्नुभएको हो ।
शुक्रबार सार्वजनिक अन्तिम परिणाममा पूर्वमन्त्री हितबहादुर तामाङ दोस्रो पटक निर्वाचित हुनुभएको हो । तामाङले नेकपा एमालेका उम्मेदवार बद्री मैनालीलाई ३ हजार ८५ मतान्तरले पराजित गर्नुभएको हो । विजयी तामाङले २६ हजार ५४८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका बद्री मैनालीले २३ हजार ४६३ मत ल्याइ पराजय बेहोर्नुपर्यो । तामाङले २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट जित्नुभएको थियो ।
यस्तै क्षेत्र १ को प्रदेशसभा १ मा निर्वाचित राधिका तामाङ निकतटतम् प्रतिस्पर्धी एमालेका सुशीलकुमार खड्कालाई ४ हजार ८१९ मतले पराजित गर्दै तामाङ विजयी हुनुभएको हो । तामाङले १६ हजार १६९ मत प्राप्त गर्नुभएको छ । खड्काले ११ हजार ३५० मत पाउनुभएको थियो । विजयी तामाङ वाग्मती प्रदेशसभाकी निवर्तमान उपसभामुख हुनुहुन्छ । उहाँ २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बन्नुभएको थियो ।
तामाङ १४ वर्षको कलिलो उमेरमै कम्युनिस्ट राजनीतिमा लाग्नुभएको व्यक्ति हुनुहुन्छ । उहाँ राज्यमन्त्रीसमेत बनिसक्नुभएको छ ।
क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा निर्वाचित रमेशकुमार महतले पनि एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार आठ सय ८९ मतले पछि निर्वाचित हुनुभएको हो । महतले तेह्र हजार सात सय २७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ११ हजार आठ सय ३१ मत प्राप्त गर्नुभएको थियो ।