काभ्रेपलाञ्चोक । जिल्लाको तेमाल गाउँपालिका–८, टेकानपुरमा निर्माण गरिएको उग्येन पेज्यूङ डुब्देलिङ गुम्बा रंगरोगनपछि आकर्षक देखिएको छ ।
देश, विदेशमा सहयोग संकलन गरेर पत्रकार जगतमान लामा (दोङ) को अगुवाइमा निर्माण गरिएको गुम्बाको मूल भवनमा रङ लगाउने काम आइतबार सम्पन्न भएको छ । रङरोगन गर्न सोनाम शेर्पा र उनको टिमलाई तीन महिनाभन्दा बढी समय लागेको उग्येन पेज्यूङ डुब्देलिङ गुम्बाका अध्यक्ष समेत रहनुभएका दोङले बताउनुभयो ।
रङ लगाउने कार्यमा संलग्न खाइबाहरुलाई धन्यवाद ज्ञापनसहित गुम्बाका प्रमुख लामा रुपसिङ दोङ र लामा सिंह दोङले आइतबार नै संयुक्तरुपमा खादाद्वारा सम्मान र बिदाइ गर्नुभएको छ । बिदाइ कार्यक्रममा लामा सूर्य स्योङ्तान, खाम्सङ दोङ, चन्द्रध्वज घिसिङ, हरि घिसिङलगायतको उपस्थिति थियो । अध्यक्ष दोङका अनुसार खाना बस्ने बाहेक रङ र ज्याला मात्र १० लाख रुपैयाँ खर्च भएको छ ।
रङका लागि आर्थिक पाटोमा तीर्थ दोङ, कुमार दोङ, माइली पाख्रिन, शर्मिला दोङले सहायता गर्नुभएको थियो । त्यस्तै अमेरिका निवासी सानुमाया तामाङ, माया तामाङ, दिपा लामा/उत्तर दोङ र इटाली निवासी रामकुमार घिसिङले पनि रङका लागि भरथेग गरेको अध्यक्ष दोङले जानकारी गराउनुभयो ।
यो गुम्बा चैत महिनासम्ममा समुद्घाटन गर्ने तयारी छ । 'यहाँहरुकै साथ र सहयोगले हामीले गुम्बा निर्माण प्रक्रियालाई यहाँसम्म ल्याइपुर्याउन सफल भएका छौं । हामीसँग थुप्रै संरचनाहरु निर्माण गर्न बाँकी नै छन् । यद्यपि मूल भवन निर्माण सम्पन्न भइसकेको र रङको काम सकिएकोले यही साल गुम्बाको समुद्घाटन गर्ने तयारीमा छौं,' दोङले भन्नुभयो ।
निर्माण चरण
दोङको अध्यक्षतामा १७ सदस्यीय गुम्बा निर्माण समिति बनाएर २०७७ पुस २० गतेदेखि भवन निर्माण थालिएको थियो । २३ महिनाको अन्तरालमा तीन मूर्ति बनाएर रङ लगाउने काम सकिएको छ । प्रशासनिक भवनको पहिलो ढलान भएको छ । त्यसमा ध्यान केन्द्र र पुस्तकालय अर्थात् बौद्ध लाइब्रेरी निर्माण हुँदैछ । अर्को तलामा लामा कक्षा कोठा । त्यसपछि किचेन डाइनिङलगायत गुम्बालाई आवश्यक संरचनाहरु निर्माण भइरहेको अध्यक्ष दोङले बताउनुभयो ।
गुम्बा निर्माणको सोच तीन दशक पहिलेदेखि नै बने पनि ०७७ पुसमा मात्र मूर्तरुप लिएको उहाँको भनाइ छ । गुम्बालाई यो रुप दिन दाइ कुमार दोङको ठूलो देन रहेको अभियन्ता दोङले सुनाउनुभयो । 'गुम्बा बनाउने कुरा दुई/तीन दशकदेखि नै उठेको हो । दाइले अमेरिकामा बस्दा खुत्रुकेमा जसरी क्वाइन जम्मा गर्न थाल्नुभएछ । तीन वर्ष जतिमा गत वर्ष ३ हजार डलर पुगेछ । त्यसपछि मलाई भन्नुभयो, गाउँमा गुम्बा बनाउने कुरा छ, बनाउने भए म गुम्बामा दिन्छु नत्र कतै पठाउँछु,' दाइको भनाइ भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, 'मैले अन्त हैन, गुम्बामा लगानी गरौं, म नेतृत्व लिन्छु भनेँ ।' कुमार दोङ र सिंहमान लामाकै पहिलो सहयोगबाट गुम्बा बनाउने काम सुरु गरिएको थियो ।
गुम्बा निर्माण गरिएको जग्गा दोङ परिवारले नै दान गरेको हो । उहाँका आमा च्याम्पु पाख्रिन र बुबा गुन्जमान दोङबाट २ रोपनी १५ आना जग्गा दान प्राप्त भएपछि निर्माण सुरु भएको १ वर्षमा गुम्बाको मूल भवन बनाउने काम सकिएको हो । अमेरिकावासी दाइ सिंहमान लामाबाट ५ हजार डलर र कुमार दोङबाट ३ हजार डलर सहयोग प्राप्त भएपछि गत वर्ष जग खन्न सुरु गरिएको थियो । हालसम्म १ करोड २० लाखभन्दा बढी देश-विदेशबाट सहयोग संकलन भएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौंबाट ७५ किलोमिटर दूरीमा रहेको तेमाल तामाङ जातिको आदिमथलो एवं ऐतिहासिक थातथलोको रुपमा परिचित छ । तेमालको गेलोङ ऊमा पद्मसंभव गुरु रिम्पोछेले तपस्या गर्नुभएको थियो । रिम्पोछेको मूर्ति रहने गुम्बा निर्माणले बौद्ध धर्म, दर्शन संस्कृतिको संरक्षण र प्रवर्द्धन हुने अभियन्ता दोङको विश्वास छ । त्यस्तै गुम्बासँग सरोकार रहेका स्थानीय बासिन्दाहरुको जीवनस्तर अभिवृद्धिका लागि सीपमूलक विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गर्ने र गुम्बालाई स्वाबलम्बी बनाउन सघाउ पुर्याउने, गुम्बालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न विभिन्न प्रवर्द्धनात्मक कार्य गर्ने उद्देश्य पनि आफूहरुको रहेको उहाँले बताउनुभयो ।