काठमाडौं । नेपाल कृषि प्रधान देश, यहाँका धेरै नागरिक कृषि पेशाबाट नै जीवनयापन गर्दै आईरहेका छन् । तर परम्परागत कृषि पेशाले भने नागरिकलाई भनेजति फाईदा पु¥याउन सकेको छैन । कृषि व्यवसायलाई आधुनिकिकरण र यान्त्रिकिकरण गर्ने विषयमा पनि सरकारबाट पहल भईरहेको छ । तर सम्बन्धित किसान समक्ष नपुगेको गुनासो पनि आईरहेको अवस्था छ । जसले गर्दा अपेक्षा गरे अनुसार मानिसहरु कृषि व्यवसायमा लाग्न सकेका छैनन् । साथै बजारिकरणको समस्या पनि उत्तिकै रहेको छ ।
तर शलोम एग्रीकल्चरका संचालक श्रीकृष्ण अधिकारी भने धैर्यता र लगाव हुने हो भने नेपालको कृषि व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिने बताउनु हुन्छ । लामो समय इजरायल बसेर नेपाल फर्कनु भएका अधिकारीले त्यहाँ सिक्नु भएका सीप नेपालमा प्रयोग गरिरहनु भएको छ । कृषि व्यवसायबाट सफल भइएन, आम्दानी हुँदैन भन्दै अर्काे पेशा अथवा विदेश पलायन हुने युवा जनशक्तिको लागि अधिकारी एक गतिलो उदाहरण बन्नु भएको छ । उहाँले नेपालमा आधुनिक कृषि व्यवसाय र प्रविधिको प्रयोगमा सहयोग गर्दै आईरहनु भएको छ ।
नेपालमा व्यवसायीक कृषिको अवस्था, संभावना लगायत कृषि प्रविधिको बारेमा कृषि व्यवसायी श्रीकृष्ण अधिकारीसंग ग्लोबल मिडियाका लागि अन्जु डिम्दोङले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं :
अहिले के गर्दै हुनुहुन्छ ?
अहिले कृषि प्रविधि सम्बन्धी नै किसानलाई तालिम, जानकारी दिने र किसानहरुको माग अनुसार देश सुहाउँदो प्रविधिहरु उपलब्ध गराउने काम गरिरहेको छु ।
कृषि व्यवयासमा कति वर्षदेखि आवद्ध हुनुहुन्छ ?
हामी नेपालीको जीविकोपार्जन गर्ने स्रोत नै कृषि हो । कुनै न कुनै क्षेत्रबाट हामी कृषि पेशामा नै आवद्ध थियौँ तर व्यवसायकै रुपमा पूर्ण रुपले लागेको एघार वर्ष भयो ।
पहिला इजरायलमा ९ वर्ष कृषि पेशामा काम गरें । फर्केर नेपालमा एघार वर्ष देखि कृषि उत्पादनसँगै प्रविधिहरुको विस्तार गरिरहेको छु ।
कृषि व्यवसायमा लाग्नु भन्दा पहिला के गर्नु हुन्थ्यो, कृषिलाई नै व्यवसाय बनाउने प्रेरणा कहाँबाट मिल्यो ?
कृषि पेशामा लाग्नु पर्छ भन्ने प्रेरणा मलाई इजरायलबाट मिलेको हो । यो पेशामा लाग्नु भन्दा पहिला म स्वास्थ्यकर्मी (अहेव) थिएँ । त्यो समयको राजनीतिक अस्थिरताले गर्दा म लगायत धेरै युवाहरु विदेश पलायन हुन बाध्य भए ।
देशमा जनयुद्ध चलिरहेको थियो । त्यो बेला नेपालमा काम गर्न गाह्रो थियो । त्यसैले सन् २००३ मा अहेव पेशा छाडेर म इजरायल गएँ ।
इजरायमा कृषि प्रविधि अन्तर्गत थोपा सिंचाई, नेट हाउस, ग्रीन हाउस प्रविधि, विरुवालाई समयमा मलखाद राख्नु पर्ने लगायतको धेरै कुराहरु सिक्ने अवसर पाएँ । इजरायलको बसाईले मलाई कृषि व्यवसायमा डिग्रीको प्रमाणपत्र लिए जस्तै पोख्त बनायो, प्रविधिको बारेमा अझ धेरै जान्ने र सिक्ने अवसर पाएँ । त्यसपछि अब म पनि नेपाल गएर कृषि व्यवसायमा केही गर्न सक्छु भन्ने आत्मबल मिल्यो र नेपाल आएर त्यहाँ सिकेका कुराहरु नै अहिले सिकाईरहेको छु ।
अहिले नेपालमा कृषि व्यवसाय र प्रविधि अन्तर्गत के–के काम गर्दै हुनुहुन्छ ?
शलोम एग्रीकल्चर कम्पनी मार्फत अहिले नेपालमा कृषि प्रविधिको विस्तारमा लागिरहेका छौं । कम्पनीले इजरायलको टेक्नोलोजी, थोपा सिंचाई प्रविधिको बारेमा नेपालका किसानलाई जानकारी दिने र त्यो प्रविधिलाई उपलब्ध गराउने काम गरिरहेको छ । ग्रीन हाउस, किरा छेक्ने जाली, असिना रोक्ने जाली, घाम छेक्ने जाली, चराचुरुङगीबाट कृषि व्यवसाय जोगाउने जाली लगायतको बारेमा किसानलाई जानकारी दिने र उपलब्ध गराउने काम गर्दै आईरहेको छ । यस्तै कालीज, कुखुरा पाल्न आवश्यक जाली लगायत प्रविधिहरु उपलब्ध गराईरहेका छौं ।
यस्तो काम शलोम एग्रीकल्चरले कति जिल्लामा गरिरहेको छ ?
देशको सबै ठाउँमा हामीले नागरिकलाई आधुनिक कृषि व्यवसाय र नयाँ प्रविधिको बारेमा जानकारी दिंदै आईरहेका छौं । हाम्रो केन्द्रीय कार्यालय काठमाडौंमा छ । आवश्यक अनुसार सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा पनि काम गर्दै आईरहेका छौं ।
किसानले शलोम एग्रीकल्चलसँग आधुनिक विधि र प्रविधिको बारेमा जान्न चाह्यो भने कसरी सहभागी हुने ?
सामाजिक संजाल, फोन र तालिम मार्फत प्रविधिको बारेमा जानकारी गराईरहेका छौं । साथै ब्रोसर, प्रदर्शनी अथवा किसान आफैं पनि कार्यालयमा आएर बुझ्न सक्नुहुन्छ । किसानको फिल्डमै गएर पनि प्रविधिको बारेमा जानकारी गराउँदै आईरहेका छौं ।
कृषि प्रधानदेश नेपालमा कृषिमा आधुनिकिरण कतिको पाउनुहुन्छ ?
पछिल्लो चरणमा कृषिलाई अलि महत्वमा राखिएको, कृषिको प्रविधिबारे जानकारी प्रदान गर्ने, प्रविधिलाई अनुदान मार्फत किसान माझ पु¥याउने काम केही हदसम्म भएको पाईन्छ । तर यो पर्याप्त छैन । कागजी रुपमा काम गर्ने कुरामा नेपाल छिटो छ तर कार्यान्वयनको पाटोमा किसान समक्ष नै पु¥याउने कुरामा भने त्यस्तो देखिदैन । किसानलाई जे चाहिएको हो, त्यही अुनदानमा दिने कार्यक्रम भने खासै भएको पाईंदैन ।
नीति केन्द्रले बनाउने अनि किसानलाई चाहिएको भन्दा फरक कुराहरु जवरजस्ती दिईरहेको अवस्था छ । तर पहिलाको तुलनामा अहिले केही मात्रामा भए पनि परिवर्तन आएको छ ।
भने पछि अझै पनि धेरैको संख्यामा किसानहरु परम्परागत कृषि पेशामा नै आवद्ध हुनुहुन्छ ?
परम्परागत कृषि व्यवसायमा अझै पनि धेरै किसानहरु हुनुहुन्छ, जुन बाध्यता पनि छ । किसानलाई आवश्यक परेको प्रविधिको प्रत्यक्ष किसान समक्ष पु¥याउन नसक्ने हो भने लामो समयसम्म परम्परागत कृषिमा नै हरन बाध्य हुने छ । विदेशबाट फर्केर कृषि व्यवसाय गर्ने युवाहरु भने नयाँ कृषि प्रविधि मार्फत व्यवसाय गर्दै आईरहनु भएको छ ।
सरकारले कृषि पेशामा आधुनिकिकरण र यान्त्रिकिकरण भनिरहँदा कार्यान्वयनको पाटो कस्तो देख्नु हुन्छ ?
अहिले सरकारले किसानलाई वितरण गरेको प्रविधिहरु विदेशबाटनै ल्याउनुपर्ने बाध्यता छ । भन्सार कार्यालयले ४० देखि ५० प्रतिशत भन्सार लिन्छ भने किसानलाई त्यही ४० देखि ५० प्रतिशत अनुदान प्रदान गरेको अवस्था छ ।
सरकारलाई मेरो के अनुरोध छ भने यदि भन्सार शुल्क नलिने हो भने किसानलाई जे आवश्यक छ, त्यो प्रविधि सजिलैसँग खरिद गर्न सकिन्थ्यो ।
किसानले विचौलिया र हाकिमलाई रिजाउनु पर्ने अनुदानका कार्यक्रम भन्दा साना किसानको पहुँच हुनेगरी पारदर्शी अनुदान तथा बाली बिमाको व्यवस्था र सहुलियत ऋणको व्यवस्था गर्न सकेको खण्डमा नेपालको कृषि व्यवसायमा परिवर्तन आउन समय लाग्ने थिएन । किसानले लगानी गर्दा बैंक र किसान दुबै नडुब्ने ग्यारेन्टी बन्ने खालका सहुलियत ऋणको व्यवस्था नबनेसम्म ठूला घरानाका किसान भन्नेहरुले मात्रै सेवा प्राप्त गरिरहने अवस्था छ ।
युवा जनशक्ति विदेश पलायन हुन अझै पनि छाडेका छैनन्, कृषि व्यवसायमा सफलता पाईंदैन भन्ने धेरैको बुझाई पनि छ, सफल कृषि व्यवसायी बन्नको लागि के–के गर्नुपर्ने हुन्छ ?
गत वर्षमा मात्रै नेपालमा ३९ अर्बको तरकारीजन्य सामाग्री भित्रिएको छ अथवा नेपालले अन्य देशबाट किनेर ल्याएको छ । १५ अर्बको दूध तथा महजन्य वस्तुहरु र २० वर्ष बराबरको फलफूलजन्य वस्तुहरु आयात भएको तथ्याङक छ । नेपालमै उपत्पादन गर्ने हो भने त्यो बाहिर जाने मुद्रालाई हामी तुरुन्तै रोक्न सक्छौैं । तर आज लगानी गरेर भोली नै मुनाफा चाहिन्छ, त्यसमा पनि सय प्रतिशत चाहिन्छ भन्ने हाम्रो बुझाई छ । जस्तै गत वर्ष अलैंचीको मूल्य २ हजार रुपैयाँ किलो थियो तर यसपाली १७ भयो भनेर निराश हुने हैन, लागत कति थियो भन्ने कुरालाई पनि हेर्नुपर्छ । लागत ४०० हो भने नाफा नै भैरहेको हुन्छ तर पोहोर कुरामा अल्झेको हुँदा हामीमा नैराश्यता देखिएको हो ।
तरकारी खेती भने पछि सबै गोलभेडा खेतीमै लाग्छन्, क्याप्सीकम भने पछि सबै त्यतै तिर लागेर पनि समस्या भईरहेको छ । अहिले रायोको साग २५० रुपैयाँ किलो छ भने धनियाँ ५ सय रुपैयाँ किलो छ, जस्को लागि धेरै मेहनत पर्दैन । उपभोक्ताको चाहना र उत्पादनको बीचमा तालमेल नमिल्दा खेरी नैराश्यता आइरहेको हो ।
सात रोपनी जग्गामा कृषि व्यवसाय गर्ने हो भने एउटा परिवार धान्न राम्रोसँग पुग्छ । महिनाको ३०–४० हजार कमाउनको लागि विदेश जानु नै पर्दैन, म लेखेर दिन्छु । तर थोरै लगानी गर्ने र धेरै खोज्ने हो भने त सफलता प्राप्त गर्न नसकिएला ।
जुम्लामा स्याउ कुहिएर बसिरहेको छ, हामी चाईनाको फुजी स्याउ खोजेर बस्छौं । नाङलामा राखेको अर्गानिक नास्पती कसैले पनि किन्नु हुन्न तर चाईनाबाट प्लेन चढेर आएको विषादी हालेको नास्पती भने गर्वका साथ किनेर खान्छौं ।
रोल्पा, जुम्लाको स्याउ संसारमै पाईंदैन तर त्यो स्याउले अहिले बजार पाउन सकेको छैन । यस्ता कुरालाई सरकारले ध्यान दिनुपर्छ ।
प्रचण्डले मार्सी चामलको भात खाँदा सबैले त्यही खोजे जस्तै अन्य कुराको पनि प्रचार जरुरी छ । सरकारले सडक राम्रोसँग निर्माण गर्ने हो भने जुम्ला हुम्लाको स्याउ बाटैमा कुहिनु पर्दैन थियो । मान्छे पुरानो कपडा लगाएर बस्न सक्छ तर ३ दिन भोको बस्न सक्दैन । त्यसैले नेपालमा कृषिको धेरै सम्भावना छ, कृषिलाई माया गरौं, बाँझो जमिन नराखौं भन्ने मेरो सुझाव हो ।