भक्तपुर,रासस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको नयाँ भवनको शनिबार उद्घाटन गर्नुभएको छ । नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा आज च्यामासिंहस्थित अस्पताल भवनमा आयोजित कार्यक्रममा उहाँले नयाँ भवनको उद्घाटन गर्नुभयो ।
सो अवसरमा देशमा प्रदेश सरकारको आवश्यकता नरहेको बताउँदै अध्यक्ष बिजुक्छेँले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्छ, दुर्गम ठाउँमा स्थानीय निकायलाई अधिकार सम्पन्न बनाएर सक्रिय रुपमा काम गर्न सके सरकारको आधा काम त्यहीबाट सम्पन्न हुन्छ ।”
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले स्वास्थ्य मन्त्रालयले ख्वप अस्पताल स्वीकृतिमा ढिलाइ गर्न नहुने औँल्याउँदै सरकारी अस्पताल राम्रो भए मात्र गरिब जनताले सहज रुपमा स्वास्थ्य उपचारमा पाउने बताउनुभयो । क्यान्सर लगायतका जटिल रोगको विदेशबाट ल्याउनुपर्ने औषधि सरकारले तत्काल ल्याउनुपर्नेमा जोड दिँदै उहाँले क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधि उपलब्ध नहुँदा धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले ख्वप अस्पताललाई १०० शैय्याको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने, वडा वडामा स्वास्थ्य केन्द्रको विस्तार गर्ने र विशेषज्ञमार्फत नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले विसं २०३८ देखि जनस्वास्थ्य केन्द्रको रुपमा सञ्चालित च्याम्हासिंहस्थित स्वास्थ्य केन्द्रलाई विसं २०७८ वैशाख १७ गतेदेखि विधिवत रुपमा ख्वप अस्पतालको रुपमा सञ्चालन ल्याएको स्मरण गर्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुरका कार्यकारी निर्देशक प्रा डा विष्णुदत्त पौडेल, भक्तपुर अस्पतालका मडिकल सुपरिटेन्डेण्ट डा सुमित्रा गौतम, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजार, ख्वप अस्पतालका डा रत्नसुन्दर लासिवा, ख्वप अस्पताल भवन निर्माण आयोजना प्रमुख विजयराम कोजूलगायतले अस्पताले पु¥याउने सेवाले गरिब जनताको स्वास्थ्यमा सहज पहुँच पुग्नुपर्नेमा जोड दिनुभयो ।
त्यसअवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाबाट प्रकाशित कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिका नामक पुस्तक विमोचन गर्नुभयो । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोष र ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग गर्ने सङ्घसंस्थालाई कदरपत्र वितरण गर्नुभयो । कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्यमा सङ्लग्न भई सहयोग गर्ने कर्मचारी, नगरपालिकाका उत्कृष्ट १० कर्मचारीलाई नगद पुरस्कारसहित कदरपत्र प्रदान गर्नुभयो ।