नुवाकोट । नुवाकोटका नवनिर्वाचित सांसदहरुले आफ्ना क्षेत्रको विकास निर्माण र जनजीविकाका सबाललाई सम्बोधन गर्न सक्रियता देखाउनुभएको छ ।
निर्वाचनमा जनतासँग गरिएका बाचा, कबुलअनुरुप निर्वाचित भएको केही हप्ताको अन्तरालमै प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले मतदातासँगको भेटघाट, गुनासो सुनेपछि स्थलगतमै सडक अनुगमन र सम्बन्धित कार्यालयमा पुगेर पहल लिन थाल्नुभएको हो । यसै क्रममा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद एवं नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र प्रदेशसभा १ बाट निर्वाचित सांसद एवं वाग्मती प्रदेशका निवर्तमान उपसभामुख राधिका तामाङले प्राविधिक टोलीसहित शनिबार जिल्लाको शिवपुरी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकामा जोडिने 'गुर्जेभन्ज्याङ-मानेभन्ज्याङ-दुप्चेश्वर सडक' अनुगमन गर्नुभएको हो ।
सांसदद्वय वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका निर्देशनालय प्रमुखसहित भौगोलिक क्षेत्र विशेष प्राविधिक डिजाइन भए/नभएको कार्यको अनुगमन गर्नु पुग्नुभएको हो । 'गुर्जेभन्ज्याङ-मानेभन्ज्याङ-दुप्चेश्वर सडक' अन्तर्गत समुद्रदेवीदेखि निर्माणलाई अगाडि बढाउनु पर्नेछ । टेण्डर प्रक्रियामा रहेको उक्त सडकका लागि वाग्मती प्रदेश सरकारबाट ७१ करोड बजेट विनियोजन भएको सांसद हितबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यो सडक निर्माण फागुनदेखि सुरु हुने सम्भावना छ । शिवपुरी गाउँपालिका वडा नं. ६, गुर्जेभन्ज्याङदेखि समुद्रदेवीसम्मको ८ किलोमिटर सडक भने कालोपत्रे सम्पन्न भइसकेको छ । यो सडकखण्ड २०७६ फागुनमा शिलान्यास गरी प्रदेश सरकारको करिब २३ करोड ८२ लाख बजेटमा नालीसहित ८ मिटर चौडामा 'गुणस्तरीय' कालोपत्रे निर्माण सम्पन्न गरिएको छ । त्यतिबेला ओमबुद्ध इन्टरनेसनल, पिएसजेभीले ठेक्का लिएको थियो । बाँकी खण्ड समुद्रदेवी, पुरानो गाविस भवन, महत टोल, रातोमाटे हुँदै लिखु पुल, महाकाली-कुखुरे मानेभञ्ज्याङ-दुप्चेश्वर निर्माणको चरणमा रहेको छ ।
'माननीय हितबहादुर तामाङ, राधिका तामाङज्यू वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका निर्देशनालय प्रमुखज्यू, शिवपुरी गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङ, वडा नम्बर १ का अध्यक्ष सुकराम तामाङज्यूलगायत पूर्वाधार कार्यालय नुवाकोटका प्राविधिक टोलीसहित भौगोलिक क्षेत्र विशेष प्राविधिक डिजाइन भए/नभएको कार्यको अनुगमनसहित गुणस्तरीय काम समयमै सप्पन्न गराउन सम्बन्धित सम्पूर्णलाई जिम्मेवार हुन निर्देशनसहित अनुगमन सप्पन्न भएको छ,' माओवादी केन्द्र वाग्मती प्रदेश कमिटी सदस्य एलिशा थापाले भन्नुभयो । निर्माणपछि ठेकेदारको आलोचना र एकले अर्कोलाई दोषारोषण गर्नुभन्दा सुरुमै सचेततासहित अनुगमन गर्न जनप्रतिनिधिहरु पुगेको थापाले बताउनुभयो ।
संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङ बिहीबार पनि पासाङ ल्हामु सडकको पुनः निर्माण कार्य अघि बढाउने विषयमा अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई भेट्न पुग्नुभएको थियो । उहाँहरुसँगको भेटमा पासाङ ल्हामु सडकका लागि आन्तरिक स्रोत छिट्टै व्यवस्थापन गराउनका लागि कुराकानी भएको उहाँले बताउनुभएको थियो । सरकार र सम्बन्धित मन्त्रीले पटक-पटक आश्वासन दिए पनि बजेट छुट्याउने विषयमा गम्भीर नबनीदिँदा सडक पुन:निर्माणले ढिला हुन लागेकोमा सांसद तामाङले सामाजिक सञ्जालमार्फत नै चिन्ता व्यक्त गर्नुभएको छ ।
'पासाङ ल्हामु सडकलाई आन्तरिक स्रोत सुनिश्चित गरी छिट्टै पुनः टेण्डर आह्वान गर्न सकारात्मक देखिनु भए तापनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले लिनुभएको तथा उहाँको व्यस्तता र भेटघाटमा जटिलताको कारण प्रक्रिया पूरा गर्न गाह्रोमात्रै होइन, ढिलोसमेत हुँदै गएको र सडकको पुन:निर्माण कार्यनै ढिलो हुन जाने अवस्था सिर्जना हुँदै गएको छ,' सांसद तामाङ सामाजिक सञ्जालमा लेख्नुभएको छ । अर्थमन्त्री शर्मा र यातायात मन्त्रालयका सचिव सिग्देलसँगको भेटमा संघीय सांसद विमला सुवेदी पनि सहभागी हुनुहुन्थ्यो ।
सोमबार प्रदेश सांसद राधिका तामाङ नुवाकोट जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, जिल्ला प्रशासन कार्यलयका प्रमुख नारायण रिसाल, प्रहरी प्रमुख रमेश पण्डितलगातले कृषि सामग्री नुवाकोटको निमित्त प्रमुखसँग भेट्नुहुँदै नुवाकोटलाई चाहिने कुल मल परिमाण र हाल भएको मल मौज्दातजस्ता विषयमा जानकारी लिनुभएको थियो ।
यस्तै नुवाकोट क्षेत्र नम्बर १ (२) का सांसद रमेशकुमार महत, क्षेत्र नम्बर २ का अर्जुननरसिंह केसी, २ (१) का रामप्रसाद ढुंगाना, २ (२) का सांसद बहादुरसिंह लामाले पनि भेटघाट थालेको जनाउनुभएको छ ।