काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ बोझेनीका स्थानीयले आन्दोलन जारी राखेका छन् । नेपाल विद्युत् प्राधिकरणले अपर तामाकोसीको विद्युत् प्रसारण लाइन सबस्टेसन हाइटेन्सन लाइन राख्न थालेपछि स्थानीयले प्रतिरोध थालेका हुन् ।
स्थानीयको आन्दोलन बिहीबार १२ औं दिन पुगेको छ । आक्रोशित स्थानीयले बिहीबार सवस्टेशन निर्माणस्थलभन्दा करिब २ सय मिटर अगाडि सुरक्षाकर्मीलाई रोक्ने प्रयास गरेका थिए । तर, ठूलो संख्यामा रहेका सशस्त्र प्रहरीले सडकमा धर्ना कसेर नाराबाजी गरिरहेका स्थानीयलाई बलजफ्ती गरेर अघि बढेको घटनास्थलबाट सामाजिक अभियन्ता मुक्तान थेबाले जानकारी गराउनुभयो । उहाँका अनुसार सामान्य झडकका क्रममा केही स्थानीय घाइते भएका छन् ।
स्थानीयले प्रहरी र आयोजनाको गाडी सन्चालन नदिन भन्दै सडकमा खाल्डो खनेर पानी समेत भरेका छन् । प्राधिकरणको हाइटेन्सनका कारण बैंकले जग्गा धितो नलिने, स्थानीयको स्वास्थ्यमा असर पर्नेलगायतका विषय उठाउँदै उनीहरुले विरोध गरिरहेका छन् । उनीहरुले सबस्टेसन स्थानान्तरण गर्नुपर्ने मागसमेत गरेका छन् ।
आन्दोनलका क्रममा प्रहरीले दमन गर्ने गोली ताक्ने लगायतका गतिविधिहरु गरेर आफूहरुलाई तर्साउने गरेको स्थानीयको भनाइ छ । आन्दोलनको सुरक्षार्थ गत बुधबार प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीमाथि अनुसन्धान थालिएको छ । उहाँले सो घटनामा स्थानीयलाई ‘गोली हान्दिउँ,’ भन्दै पेस्तोल ताकेको खुलेको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल पनि भएको छ ।
प्राधिकरणले एसियाली विकास बैंकको लगानीमा सबस्टेसन र टावर प्याड सर्वेक्षणको काम अघि बढाएको जनाएको छ । काठमाडौंलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछापमा प्रसारण लाइन वितरणका लागि लप्सीफेदीमा ४००, २२० र १३२ केभीका सबस्टेसन बन्ने योजना प्राधिकरणको हो ।
प्राधिकरणले २०७४ सालमै स्थानीयको जग्गा अधिग्रहण गरी ७० जना जग्गाधनीको १७० रोपनी जग्गाको मुआब्जा दिएको बताएको छ । ऐतिहासिक तामाङ दूङयुल अन्तर्गत बोडयूलका स्थानीयले राज्य औपनिवेसिकताका कारण गुमाउनु परेको आफ्नो भूमि फिर्ता गर्न आन्दोलनरत रहेको बताएका छन् । बृहत नागरिक आन्दोलन, राष्ट्रिय सिमान्तिकरणविरुद्धको अभियानले स्थानीयको आन्दोलनलाई साथ दिएका छन् । केही दिनअघि नेपाल तामाङ घेदुङका कार्यवहाक महासचिव जगतमान दोङ लामा नेतृत्वको टोली समेत पुगेर आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको थियो ।