भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र राष्ट्रको पक्षमा केही नयाँ कामको सुरुआत गर्ने अठोटका साथ प्रधानमन्त्रीको शपथ लिएको बताउनुभएको छ । आज राष्ट्रिय योग दिवस मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिसद्मा आयोजना गरेको राष्ट्रिय योग दिवसको उद्घाटन गर्दै उहाँले आफ्नो कार्यकालमा नयाँ कामको सुरुआत गर्ने बताउनुभयो ।
नेपालमा मात्रै नभइ अहिले सारा विश्व, योग, ध्यान र साधनातर्फ केन्द्रित रहेको उल्ल्ेख गर्दै प्रधानमन्त्री दाहालले योग र ध्यान आध्यात्मिक चिन्तनका रुपमा लिनुपर्नेमा जोड दिनुभयो । विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने उल्लेख गर्दै उहाँले भौतिक रुपमा मात्रै नभइ मानिसलाई मानसिक रूपले पनि तन्दुरूस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
“विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन पहल गर्छुँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालबाट संसारभर योग प्रशिक्षक दिन सके मुलुकलाई नयाँ पहिचान दिन सकिन्छ ।” विभिन्न प्रकारका रोगव्याधीले मानवजातीलाई आक्रमण गरिरहेको भन्दै उहाँले योग, चिन्तन र आध्यात्मिकतानै त्यसलाई रोक्न महत्वपूर्ण पक्ष हुने बताउनुभयो ।
योग र ध्यान विज्ञान भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “योग र ध्यान पूर्वीय दर्शन र सभ्यताको आधारशीला हो, नेपाल त्यसको धरोहर हो भन्न पाउँदा हामीलाई गौरवको अनुभूति हुन्छ । हाम्रा सांस्कृतिक धरोहर, मठ मन्दिर, कुवा, धारामा पनि योगमा आधारित विशेषता पाइन्छन् । नेपालमा योग र ध्यानको परम्परा धेरै पूरानो हो । यसले पनि योगको महत्व झल्काउँछ ।”
पूर्वीय सभ्यताको रुपमा रहेको योगलाई जीवनविज्ञान र जीवन शैलीको रुपमा निरन्तरता दिन नेपाल सरकार मन्त्रिपरिषदबाट २०७२ सालमा भएको निर्णयानुसार प्रत्येक वर्षको मकर सङ्क्रान्तिलाई नेपालले राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको प्रधानमन्त्री दाहालले बताउनुभयोे । कार्यक्रममा उहाँले अन्य सहभागिसँगै मञ्चमै योग गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले सरकारले हरेक वर्ष माघ १ गतेलाई योग दिवस मनाउँदै आएको चर्चा गर्दै योगलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले योगको महत्वमाथि प्रकाश पार्दै योगलाई जीवनमा जीवन्त रुपमा उतार्न विद्यालयस्तरदेखि उच्च शिक्षासम्म योग शिक्षा समावेश गर्नेबारे तयारी भइरहेको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले टिपी धमलाद्वारा लिखित नाथ योगसम्बन्धी पुस्तक बिमोचन गर्नुभयो । यस्तै उहाँले पातञ्जलि योगसमिति नेपालले स्थापना गरेको नारयणी शङ्कर मानन्धर पातञ्जलि राष्ट्रिय योग पुरस्कारबाट प्रा डा हरिप्रसाद पोखरेल, जीवन विज्ञान, ब्रम्हकुमारी मोहन देवीलाई सम्मान गर्नुभयो । त्यस्तै उहाँले योग गुरु एलपी भानु शर्मालाई परस्कार प्रदान गर्नुभयो । ‘स्वस्थ जीवनको चाहना ः
योग, शिक्षा र साधना’ नाराका साथ आठौँ राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेपछि शिक्षा मन्त्रालयको संयोजनमा हरेक वर्ष माघ १ गते दिवस मनाइँदै आएको छ ।