काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राधिका तामाङले तामाङ भाषामा समाचार प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजन परिवारलाई आभार प्रकट गर्नुभएको छ । वाग्मती प्रदेशसभा निवर्तमान उपसभामुखसमेत रहनुभएका तामाङले सोमबार कार्यकक्षमै पुगेर नेपाल टेलिभिजन बोर्डका कार्यकारी अध्यक्ष समीरजंग शाह र महाप्रबन्धक फुलमान वल तामाङलाई खादा लगाएर बधाईसहित आभार व्यक्त गर्नुभएको हो ।
सो अवसरमा सांसद तामाङले सरकारी संचारमाध्यम रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रसारण हुन बहुदल आउन परेको र टेलिभिजनबाट समाचार प्रसारण हुन गणतन्त्र कुर्नु परेको टिप्पणी गर्नुभयो । वर्तमान नेपालको संविधान २०७२ को एक हस्ताक्षरकर्ताको हैसियतले नेपाल टेलिभिजनबाट संविधान कार्यान्वयन भएकोमा आफू अत्यन्तै खुसी भएको बताउँदै उहाँले संविधानमा सबै मातृभाषालाई राष्ट्रभाषाको रुपमा समान अधिकार सुनिश्चित गरेको स्मरण गराउनुभयो ।
‘बगैंचामा सबैथरीका फूलहरु फुल्दा जति आकर्षक देखिन्छ, एकल तोरीबारी राम्रो देखिँदैन,’ उहाँले भन्नुभयो, ‘अब साँच्चिकै साझा फूलबारी बन्ने भएको छ ।’ विगतमा राज्यले सबै मातृभाषाहरुको स्वामित्व ग्रहण नगर्दा भाषा, संस्कृति मर्दै गएको भन्नुहुँदै उहाँले नेपाल टेलिभिजनको कदमबाट त्यसको सम्बोधन भएको बताउनुभयो ।
नेपाल टेलिभिजन बोर्डका कार्यकारी अध्यक्ष शाहले विविध समस्याका बाबजुत पनि तामाङ भाषाबाट समाचार प्रसारण प्रारम्भ गरिएको र अब क्रमश: अन्य भाषाबाट पनि प्रसारणको तयारीमा रहेको जानकारी दिनुभयो । महाप्रबन्धक बलले आफू आउनेबित्तिकै पहल थालिएको तर सुरुमा बजेटको व्यवस्था नभएको कारणले ढिला हुन पुगेको बताउनुभयो । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोसत्वसको सन्दर्भमा राष्ट्रिय प्रसारणलाई सबै समुदायको पहुँचमा पुर्याउने र समावेशी बनाउने राज्यको नीतिअनुरुप तामाङ भाषाको समाचार सुरु गरिएको उहाँले बताउनुभयो ।
यसैगरी नायव महाप्रवन्धक विश्वराम निरौला र समाचार प्रमुख कृष्णहरि क्यम्पा राईले आफूहरुले गरेका कार्यप्रति चासो राखी दिनुभएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप मिहिनेत गर्न हौसला प्राप्त भएको बताउनुभयो । नेपाल टेलिभिजनले यही माघ १५ गते आइतबारबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण आरम्भ गरेको थियो । मुलुकमा टेलिभिजन प्रसारण प्रारम्भ भएको साढे तीन दशकपछि तामाङ भाषाको समाचारले स्थान पाएको हो । १० मिनेटको पहिलो समाचार वाचन वीरबल तामाङ र शान्ति वाइबाले संयुक्त रुपमा गर्नुभएको थियो। समाचार बेलुकी ५:३० बजे र बिहान ७:३० बजे प्रसारण हुँदै आइरहेको छ ।
सांसद तामाङले यस कार्यलाई सार्थक तुल्याउन गहिरो मर्मबोधसहित लागि परेको भन्दै महाप्रबन्धक वल, ध्यानाकर्षण गराउने नेपाल तामाङ घेदुङ साथै वैचारिक र राजनैतिक आधारभूमि तयार पार्ने नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विभागीयमन्त्री रेखा शर्मालाई पनि आभार व्यक्त गर्नुभएको छ ।
नेपाल टेलिभिजनबाट तामाङ भाषाको समाचार प्रसारण आरम्भ