नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताउनुभएको छ ।
नुवाकोटको तादी गाउँपालिकामा आजदेखि सुरु भएको ‘अन्तरपालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका डा महतले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन गर्दा जनपक्षीय काम हुन नसक्ने बताउनुभयो । कांग्रेस सरकारमा पुगेपछि नुवाकोटसहित देशभर नै समृद्धि आउने उहाँले दाबी गर्नुभयो । 'गठबन्धन गरेर एकआपसमा मत साटेर समृद्ध नेपाल निर्माणका लागि सहकार्य गर्यौँ । गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा कांग्रेस नै पुग्नुपर्ने हो”, प्रवक्ता डा महतले भन्नुभयो, “ठूलो दल भएको कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण स्वाभाविकरुपमा लिएका छौँ । स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमा नै कांग्रेस सरकारमा पुग्ने भएकाले निराश हुनुहुन्न ।”
प्रतिपक्षमा रहेको कांग्रेसले सत्ता बाहिर रहँदा सरकारको राम्रो कामको प्रशंसा गर्ने र गलत कामको गलत भन्ने मात्र नभई रोक्नका लागि सम्पूर्ण शक्ति लगाउने उहाँले चेतावनी दिनुभयो । भलिबल प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्री डा महतले खेलले शारीरिक तन्दुरुस्ती र मानसिक स्फूर्तिसमेत दिने भएकाले खेललाई मनोरञ्जन मात्रै नभई स्वस्थ्य जीवनका लागि अपरिहार्यता रहेको बताउनुभयो । खेलकुदले बहुआमायिक लाभ पुग्ने भन्दै विकास, परिवर्तन र राष्ट्रिय एकतामा खेल र संस्कृति सबैभन्दा बलियो हतियार रहेकाले राजनीतिक हस्ताक्षेपमुक्त भएर यसको प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ ।
गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला पाठक, तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ, तादी गाउँपालिका पूर्वअध्यक्ष नारायणप्रसाद पाण्डेलगायतको उपस्थिति थियो ।
प्रतियोगिता यही २० गतेसम्म समापन हुनेछ । समापन कार्यक्रममा प्रतिनिधिसभा सांसद हितबहादुर तामाङ सहभागी हुनुहुनेछ । 'खेलमार्फत विकास अनुशासन र गतिशीलता' भन्ने मूल नाराका साथ सुरु भएको खेल अमरज्योति नमुना मावि, खरानीटारको मैदानमा चलिरहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार रकम तोकिएको छ ।