नुवाकोट । नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय 'प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता' को उपाधि म्यागङ गाउँपालिकाले जितेको छ । तादी गाउँपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शनिबार अमरज्योति नमुना मावि, खरानीटारको मैदानमा भएको फाइनल खेलमा आयोजक टिमलाई हराउँदै म्यागङको टिम च्याम्पियन बनेको हो । २५-१५-२५-२५ स्कोर बनाउँदै म्यागङ विजेता बन्यो भने उपविजेता तादीले २१-२५-२३-२२ स्कोर बनाएको थियो ।
पञ्चकन्याको टिम तेस्रो बनेको छ । तादी गाउँपालिकाका कर्मचारी राजेश श्रेष्ठका अनुसार शुक्रबार भएको सेमिफाइनलमा पञ्चकन्या गाउँपालिकाको टिमलाई हराउँदै म्यागङ फाइनल प्रवेश गरेको थियो । म्यागङले सेमिफाइनलमा २५-२५-२५ सोझो सेटमा पञ्चकन्यालाई पराजित गरेको थियो । पञ्चकन्याले २०-२४-२४ स्कोर बनाएको थियो । उपविजेता बनेको तादी सेमिफाइनलमा दुप्चेश्वर गाउँपालिकाको टिमलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
तादीले २०-२५-२५-२५ र दुप्चेश्वरले २५-१५-२०-२१ स्कोर बनाउन सफल भएको थियो । विजेता टिमले ट्रफीसहित १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गरेका छन् । 'खेलमार्फत विकास अनुशासन र गतिशीलता' भन्ने मूल नाराका साथ यही माघ १८ देखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
समापन समारोहमा संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङ, वाग्मती प्रदेश सांसद रमेशकुमार महत, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला केसी, नुवाकोट जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्तोष राई, माओवादी केन्द्र पञ्चकन्याका अध्यक्ष मणिनाथ लामिछाने, नेपाली कांग्रेस नेता कृष्ण मिश्र, अखिल क्रान्तिकारीका नेता प्रदीप शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।