सिन्धुली । सिन्धुली अस्पतालमा बिहीबारदेखि 'मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम' सुरु भएको छ । हृदयघात, मस्तिष्कघात, अब्सटेट्रिक फिस्टुलालगायत नसर्ने रोगको रोकथाम, न्यूनिकरण, निदान र उपचारमा आर्थिक सहायता तथा सहुलियत दिने र सहजीकरण गर्ने कार्यलाई व्यवस्थित गर्ने उद्देश्यले 'मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम' सुरु गरिएको अस्पतालका सूचना अधिकारी (अधिकृत छैठौं) राजकुमार गोलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त स्वास्थ्य कार्यक्रमअन्तर्गत विशेषज्ञ चिकित्सकबाट ३० वर्षभन्दा माथिका व्यक्तिको लागि फोक्सोको जाँच, ईसीजी, रगत तथा पिसाबको जाँच, कलेजोको जाँच, कोलस्ट्रोल, चिनीरोग, छातीको एक्स-रे, चिकित्सकीय जाँच परामर्शलगायत जाँच नि:शुल्क गराइनेछ ।
एक महिनासम्म जारी रहने यस स्वास्थ्य कार्यक्रमका लागि १८ लाख रुपैयाँ बजेट छुट्याइएको सूचना अधिकारी गोलेले बताउनुभयो । यस कार्यक्रममा १२ सयदेखि १५ सयजनासम्मले सेवा लिने अस्पतालको अपेक्षा छ । एक व्यक्तिले १८ सयदेखि २२ सय रुपैयाँ बराबरको स्वास्थ्योपचार सुविधा पाउनेछन् ।
जिल्लाको कमलामाई नगरपालिका-६ सिन्धुलीमाढीमा अवस्थित सिन्धुली अस्पताल २०३५ सालमा स्थापना भएको हो । यो अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, फर्मेसी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, प्रसूति सेवा, ओसिएमसी सेवा तथा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको सूचना अधिकारी गोलेले बताउनुभयो ।
त्यस्तै अस्पतालले हाडजोर्नी, बालरोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, साइक्याट्रिक र रेडियोलोजी विशेषज्ञ सेवा दिइरहेको छ । देशको राजनीतिक तथा प्रशासनिक संरचनामा भएको परिवर्तनपश्चात् वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालय मातहत रही ५० शय्याको सेवा प्रदान गर्दै आइरहेको छ । अवस्थितिको हिसाबले कमलामाई नगरपालिका वडा नं. ६ मा रहे तापनि देशकै सबैभन्दा बढी जिल्लासँग जोडिएको हुनाले रामेछाप, उदयपुर, महोत्तरी, सर्लाहीलगायत जिल्लाका बिरामीहरुले समेत सेवा लिँदै आएका छन् ।
सिन्धुली अस्पतालका सेवाहरु
१) आकस्मिक सेवा : इमर्जेन्सी केशका बिरामीहरुलाई २४ सै घण्टा यो सेवा अस्पतालबाट प्रदान गरिन्छ । यस सेवा सञ्चालनका लागि आकस्मिक सेवा कक्षमा १० वटा बेड रहेको छ ।
२) OPD सेवाः बिहान १० बजेदेखि दिउँसोको ३ बजेसम्म इएम् सेवा प्रदान गरिन्छ । यसको लागि कोठा नं.१ को टिकट काउन्टरबाट बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म OPD टिकट लिन सकिन्छ । यसअन्तर्गत हाडजोर्नी, दन्त चिकित्सा, प्रसूति तथा स्त्रीरोग, जेनेरल फिजिसियन, जनरल सर्जरी, बालरोग आदि सेवाहरु प्रदान गरिन्छ ।
३) EHS सेवाः दैनिक इएम् सेवा समय बाहेक पनि बिरामीहरुले आफ्नो इच्छानुसार अतिरिक्त शुल्क तिरी विशेषज्ञ चिकित्सकबाट सेवा लिन सक्ने गरी यो सेवा संचालन हुँदै आएको छ । यो सेवा सार्वजनिक बिदाको दिन बाहेक दैनिक बिहान ७ देखि ९ बजेसम्म र बेलुका ३ देखि ६ बजेसम्म प्रदान गरिन्छ ।
४) अन्तरंग सेवाः डाक्टरका सल्लाह अनुसार भर्ना गर्नुपर्ने बिरामीलाई अन्तरंग सेवा अन्तर्गत ३१ वटा वेड छुट्याइएको छ । यो सेवा पनि २४ सै घण्टा उपलब्ध रहेको छ ।
५) दन्त चिकित्सा सेवाः यस सेवा अन्तर्गत दाँत उखल्ने, भर्ने, मिलाउने, जरा भर्ने तथा मुख तथा गिजा सम्बन्धी अन्य रोगहरुको उपचार गरिन्छ ।
६) आमा सुरक्षा कार्यक्रमः गर्भवती महिलालाई प्रदान गर्ने सेवाहरु जस्तैः साधारण प्रसुति सेवा, प्रसूति सम्बन्धी शल्यक्रिया सेवा (Caeserean Section) दैनिक प्रसुति OPD सेवा यस कार्यक्रम अन्तर्गत प्रदान गरिन्छ । साथै सुरक्षित प्रसुतिलाई उत्साहित गर्न अस्पतालमा सुत्केरी हुने आमालाई यातायात खर्चको रुपमा रु.२०००, नियमित चार पटक जाँच गरेमा रु.८०० थप र शिशुलाई न्यानो झोला समेत प्रदान गरिन्छ ।
७) मातृशिशु क्लिनिकः गर्भवती महिलाको गर्भ अवस्थाको नियमित चेकजाँच, आइरन तथा क्याल्सियम उपलब्ध गराउनुको साथै भिडियो एक्स–रे सेवा समेत यस कार्यक्रम अन्तर्गत प्रदान गरिन्छ ।
८) शल्यक्रिया सेवाः यस अस्पतालले गर्भवती महिलालाई गरिने शल्यक्रिया, पाठेघर सम्बन्धि शल्यक्रिया, हाइड्रोशिल, हर्निया, एपेन्डिसाइटिस तथा हाडजोर्नी सम्बन्धि विभिन्न शल्यक्रिया सेवा प्रदान गरेको छ ।
९) सघन शिशु उपचार सेवाः सिकित्स शिशुलाई सघन उपचारको आवश्यकता परेमा ४ वेड युक्त सघन शिशु उपचार सेवा उपलब्ध गराइएको छ ।
१०) एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC)M लैंगिक तथा घरेलु हिंसामा परेका पिडित तथा पिडकको २४ सै घण्टा चेकजाँच तथा उपचार र मनोपरामर्श तथा आवश्यकता अनुसार कानुनी परामर्श पनि यस केन्द्रबाट प्रदान गरिन्छ ।
११) सामाजिक सुरक्षा कार्यक्रमः यस कार्यक्रम अन्तर्गत गरिब, असाहय, ज्येष्ठ नागरिक तथा पिछडिएको वर्गलाई लक्षित गरी अस्पतालमा सहुलियत तथा निःशुल्क उपचार सेवा प्रदान गरिन्छ ।
१२) सुरक्षित गर्भपतन कार्यक्रमः यस कार्यक्रम अन्तर्गत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा सुरक्षित गर्भपतन गराइन्छ
१३) मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमः यस अन्तर्गत स्वस्थ्य नागरिकको कुनै पनि नसर्ने तथा दिर्घ रोग हुन सक्ने सम्भावनालाई मध्येनजर गरी त्यस्ता रोगहरु पत्ता लगाउन विस्तृत स्वास्थ्य परिक्षण निःशुल्क वा सहुलियतमा यो सेवा प्रदान गरिन्छ ।
१४) रेडियोलोजी सेवाः यस अन्तर्गत बिरामीको डिजिटल एक्स–रे तथा पेट, प्रोस्टेट, पाठेघर, थाइराइड, खुट्टाका नसा इत्यादि
सम्बन्धि भिडियो एक्स–रे गरिन्छ ।
१५) ल्याब सेवाः अस्पतालमा २४सै घण्टा ल्याब सेवा उपलब्ध रहेको छ । यसमा सामान्य जाँचका साथै थाइराइड, लिपिड प्रोफाइल, वाथ रोग, हृदयघात सम्बन्धी रगतबाट हुने परिक्षणहरु गरिन्छ ।
१६) फार्मेसी सेवाः नेपाल सरकारले तोकेको निःशुल्क तथा शशुल्क औषधीहरु बजार मुल्य भन्दा १० प्रतिशत छुटमा अस्पताल फार्मेसीबाट २४सै घण्टा उपलब्ध गराइन्छ ।
१७) एम्बुलेन्स सेवाः आपतकालीन सेवाका लागि अस्पतालले २ वटा एम्बुलेन्स मार्फत २४सै घण्टा सेवा दिइरहेको छ ।
१८) पोष्ट मार्टम सेवाः कुनै पनि मानिसको अप्राकृति मृत्युका कारण पत्ता लगाउन अस्पतालमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शवको पोष्ट मार्टम गर्ने व्यवस्था रहेको छ ।
१९) ART/ATT सेवाः यस सेवा अन्तर्गत क्षयरोग तथा एच.आई.भि. लागेका बिरामीहरुको निःशुल्क परिक्षण तथा उपचार गरिन्छ ।
२०) खोप सेवाः यस सेवा अन्तर्गत नवजात शशु तथा पाँच वर्ष मुनिका बालबालिकाहरु तथा गर्भवती महिलाहरुलाई नेपाल सरकारद्वारा निर्धारित खोप तालिका अनुसार खोप लगाइन्छ ।
२१) स्वास्थ्य बिमा सेवाः स्वास्थ्य बिमा बोर्डबाट संचालन गरिएको स्वास्थ्य बिमा सेवा लिइएका बिरामीहरुलाई पनि यस अस्पतालबाट निःशुल्क चेकजाँच तथा औषधी उपचार गरिन्छ ।
२२) PCR Test सेवाः यस सिन्धुली अस्पतालमा महामारीको रुपमा फैलिएको कोरोनाको PCR Test पनि गरिन्छ ।
२३) आइसोलेशन उपचार सेवाः यस अस्पतालले कोभिड पोजेटिभ देखिएका बिरामीहरुलाई आइसोलेशन वार्डमा भर्ना गरी कोभिड उपचारको मापदण्ड मुताविक उपचार गरिन्छ ।