नुवाकोट । नुवाकोटको २ नगरपालिकासहित १२ गाउँपालिकामध्ये म्यागङ गाउॅपालिका कार्यसम्पादन मूल्यांकनमा पहिलो भएको छ । यस्तै ककनी गाउँपालिका दोस्रो भएको छ । बजेट विनियोजनदेखि नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा म्यागङ र ककनी क्रमश: पहिलो र दोस्रो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष (आर्थिक वर्ष २०८०/८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि गरिएको कार्यसम्पादन सूचांकका आधारमा म्यागङ पहिलो भएको हो । आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलले प्रदेश सरकारको तुलनामा स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनको नतिजा सुधारिएको बताउनुभयो । यस्तै पञ्चकन्या गाउँपालिका तेस्रो भएको छ ।
म्यागङले ६६.४५ र ककनीले ६१.१९ प्रतिशत अंक पाएका छन् । तेस्रो स्थानको पञ्चकन्या ५६.८९ र शिवपुरी गाउँपालिकाले ५६.६ प्रतिशत पाएका छन् । तादी ५५.८८, विदुर नगरपालिका ५५.५७, दुप्चेश्वर गाउँपालिका ५३.३१, लिखु गाउँपालिका ४६.०८, सूर्यगढी गाउँपालिका ४५.११, किस्पाङ गाउँपालिका ५०.०४, बेलकोटगढी नगरपालिका ४३.४९ र सबभन्दा कमजोर तारकेश्वरले ४०.५१ प्रतिशत पाएका छन् ।
आयोगका अनुसार स्थानीय सरकार ऐनअनुसार १० असारभित्र सम्बन्धित गाउँ–नगरसभामा बजेट पेस गर्नुपर्छ । त्यसो भए/नभएकोलाई एक सूचक मानिएको छ । बजेट असार मसान्तभित्र पास गर्नुपर्छ । गरे/नगरेको विषय अर्को सूचक हो । स्थानीय तहले घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरे/नगरेकोलाई समेत सूचक मानिएको प्रवक्ता पौडेलले बताउनुभयो ।