नुवाकोट । नेकपा माओवादी केन्द्रका संघीय सांसद हितबहादुर तामाङले अब केही वर्षभित्र केरुङ-काठमाडौं रेलयात्रा जोड्ने नुवाकोट आधुनिक जिल्ला बन्ने विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्ग पनि बन्ने उहाँको भनाइ थियो ।
नुवाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं नुवाकोट महोत्सवमा बुधबार सम्बोधनका क्रममा सांसद तामाङले पैदल यात्रा र यातायातको माध्यमबाट चीन र भारतलाई जोड्न सक्ने जिल्लाको रुपमा नुवाकोट दिनदिनै विकास हुँदै गइरहेको समेत बताउनुभयो ।
'नुवाकोट जिल्ला एउटा विकसित र व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गइरहेको छ । हिजो पनि काठमाडौंसँग जोडिएको जिल्ला, आज काठमाडौंमा मात्रै होइन पैदल यात्रा र यातायातको माध्यमबाट चीन र भारतलाई जोड्न सक्ने जिल्लाको रुपमा नुवाकोट दिनदिनै विकास हुँदै गइरहेको छ,' उहाँले भन्नुभयो, 'हामीलाई आशा र विश्वास छ अब केही वर्षभित्रमा नुवाकोट जिल्लालाई चाइनाको केरुङदेखि नुवाकोट हुँदै काठमाडौंसम्म रेलयात्राद्वारा जोड्न सकिने आधुनिक जिल्लाको रुपमा विकिसत हुँदैछ । त्यत्तिमात्रै काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने हामीले सुरुङमार्ग थालनी गर्दैछौं । यो नुवाकोट जिल्लाका लागि ज्यादै सौभाग्यको कुरा हो ।'
उहाँले नुवाकोटको विकासका लागि सबै राजनीतिक दलहरु साझा अवधारणासहित एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 'राजनीतिक रुपमा कुनै खालको पूर्वाग्रह नराखीकन, राजनीतिक हिसाबले जुनसुकै पार्टी र जुनसुकै विचारधाराको पक्षधर भए पनि जिल्लाको विकास गर्ने सबालमा हामी सबै एकताबद्ध भएर, सहकार्य गरेर, नुवाकोट जिल्लाको कृषि, पर्यटन, औद्योगिक क्षेत्रलगायत समग्र विकास गर्नका निमित्तरुपमा सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ र साझा अवधारणा बनाउनुपर्छ भन्ने सबैलाई म अपिल गर्न चाहन्छु ।'
'शाहवंशीय राज्यकालको उदयको पृष्ठभूमिकालदेखि नेपाल र तिब्बतबीचको युद्ध, पञ्चायतकाल, बहुदलीय शासन व्यवस्था र पछिल्लो संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा पनि नुवाकोट एउटा महत्वपूर्ण जिल्ला हो । यो जिल्ला राजनीतिक रुपले मात्रै महत्वपूर्ण होइनन्, प्राकृतिक सौन्दर्यताको हिसाबले काठमाडौंबाट नजिकै रहेको जिल्ला काठमाडौं उपत्यकाबाट २२/२५ किलोमिटर हिँडिसकेपछि ककनी र शिवपुरीको डाँडाबाट उत्तरतर्फ अवस्थित विभिन्न नाम गरेका हिमालजस्ता प्राकृतिक सम्पदाहरुको दृश्य अवलोकन गर्न पाउने यो नुवाकोट जिल्ला । जहाँ धार्मिक हिसाबले पनि नाम चलेका मन्दिर, तीर्थस्थलहरु । जहाँ धार्मिक पर्यटकहरुलाई कुनै कुनै रुपमा आकर्षण गरिरहेको अवस्था छ,' उहाँको भनाइ थियो ।