बेलायतमा बस्ने आम नेपालीहरुबीच चीरपरिचित दुतबहादुर गर्बुजा पुन (चिम्खोले काइँला) अत्यन्त लोकप्रिय नाम हो । विशेषगरी गोर्खाज समुदायमा उहाँको नाम त्यत्तिकै चर्चित छ । गमिलो अनुहार, होचो कद, फूर्तिलो शरीर, ठट्यौली स्वभाव, उच्च विचार, मिहिनेती बानी, पूर्वगोर्खा सैनिक यी आदि कुराहरुले उहाँलाई यो उचाइसम्म ल्याएको हुन सक्छ । यो पछिल्लो समयमा आफैँले आफ्नो आत्मा वृतान्त– व्यक्तित्वसम्बन्धी 'भैँसी गोठदेखि राजदरबारसम्म' पुस्तक प्रकाशन गर्ने क्रममा आफ्नो भनाइ राखिदिन अनुरोध गरेका कारण मेरो नजरले भ्याएसम्म उहाँका बारेमा केही लेखिदिने मनसाय राखेको छु । हुन त, उहाँले यसअगाडि थुप्रै कृतिहरु प्रकाशन गरिसक्नुभएको छ । उहाँ आफैँ साहित्यकार, पत्रकार, गीतकार, सामाजसेवी अनि फिल्म निर्मातासमेत हुनुहुन्छ ।
दुतबहादुर गर्बुजा मेरो जन्मभूमि अर्थात् म्याग्दी जिल्लावासी हुनुहुन्छ । उहाँलाई नेपालमा देखेको थिइनँ तर पनि उहाँबारे राम्ररी थाहा थियो । हाम्रो पालामा म्याग्दी जिल्लाभरि जम्मा चारवटा हाइ स्कुल थिए । त्यसमध्ये मुक्तिधाम माध्यमिक विद्यालय राखुको होनहार विद्यार्थी उहाँ हुनुहुन्थ्यो । कक्षामा सधैँ प्रथम भैरहने, सबै शिक्षक अभिभावकको आशाका केन्द्र दुतबहादुरले वि. सं. २०३५ को एसएलसी राखुबाट उत्तीर्ण गरी क्याम्पस भर्ना नभई आफ्नै जन्मगाउँ चिम्खोलामा शिक्षक पेसा रोज्नुभयो । शिक्षण पेसामा आबद्ध हुँदाहुँदै ब्रिटिस सैनिकमा भर्ती भएर हङकङ जानुभएको रहेछ । आफ्ना आमाबुबाबाट जन्मिएका आठ सन्तान छोराहरुमध्ये काइँलो छोरा भएकै कारण उहाँले आफ्नो नामको पछाडि काइँला राख्नुभएको होला ।
साहित्यिक नाम चिम्खोले काइँलाबारे सबै कुरा बताइरहनु पनि परेन किनकि उहाँ आफैँले आफ्ना सबै वृत्तान्त यिनै पुस्तकमा बताउनुभएको छ । यो पुस्तक मेरो बायोडाटा (दुतबहादुर पुन)ले आफैँमा अत्यन्त महत्व बोकेको छ । घरदेश छोडी परदेश लागेपछि आफ्ना सन्तान, छरछिमेक, इष्टमित्रहरु समयक्रमसँगै पक्कै पनि बिरानो भएर जाने छन् । भविष्य कसलाई थाहा हुन सक्छ र पछि गएर आफ्ना सन्ततिले खोज्ने अवस्था आउन पनि सक्छ । त्यसैलाई मध्यनजर ठानेर दुत सरले यो पुस्तक प्रकाशन गर्न थाल्नुभएको होला । यो पुस्तक भविष्यमा गएर उहाँको दस्तावेजमात्र नभएर सारा म्याग्दीवासी एवम् गोर्खाज समुदायमा प्रेरणादायी इतिहास बन्न सक्छ, जुन नेपाल बेलायतको पुस्तकालयहरुमा सुरक्षित रहने सम्भावना रहने छ ।
सन् २००३ मा दुत सरलाई बेलायतमा प्रत्यक्ष रुपमा भेटेको थिएँ । उहाँका ठाइँला भाइ अमृत गर्बुजा पृथ्वीनारायण क्याम्पस पढ्दै गर्दा हामी क्लासका अत्यन्त मिल्ने साथी पनि थियौँ । सन् २००२ को जुलाई २३, सेमिनारका दिन मगर संघ युकेको स्थापना गरिरहँदा संयोजकको हैसियतले उपयुक्त पदाधिकारीको खोजी गर्दा दुत सरलाई खोजेको थिएँ । तर संयोगबस सैनिक जागिरको दौरानमा उहाँ उपस्थित हुन सक्नुभएन अथवा थाहा पाउनु भएन । मेरो एउटा प्रयासमा धक्का लागेकै हो । पछि सन् २००३ मा बेलायतमा प्रथमपटक बुद्ध पूर्णिमा मनाउने क्रममा संयोगले उहाँ सम्पर्कमा आउनुभयो र उहाँलाई नै उक्त मगर दिवसको संयोजक बनाउने हामीलाई अवसर मिलेको थियो । हङकङका चर्चित कलाकारहरुलाई बेलायतमा झिकाएर अत्यन्त मनोरञ्जनका साथ बुद्ध पूर्णिमा मनाएपछि सम्पूर्ण मगर समुदाय एवम् दक्षिण पश्चिम लन्डनमा बस्ने नेपालीहरुबीच दुत सर निकै चर्चामा रहनुभएको थियो । यसरी सन् २००३ देखि आजका दिनसम्म दुत सरसँग विभिन्न चरणहरुमा सहकार्य गर्दै आइरहेको छु । हामीबीच यस्तो मित्रता मात्र होइन, हाम्रो सहकार्यबाट बाँकी रहेका थुप्रै कामहरु फत्ते गर्नुपर्ने जिम्मा हाम्रै हो भन्ने लाग्छ ।
दुत पुनसँग बितेका १८ वर्षका संगत सहकार्यबाट मैले पनि धेरै कुरा जानेको छु, सिकेको छु र सिकाएको पनि छु । त्यस्तै दुत पुनबाट समाज र व्यक्तिले धेरै कुरा सिकेको छ जस्तो लाग्छ । माथिको पङ्क्तिले दिएको समयअवधिमा सधैँ राम्रा र सुखद् पक्कै रहेन । कतिपय अवस्थामा उहाँसँग बोलचाल समेत भएन । त्यसको मुल कारण भनेको सैद्धान्तिक मतभिन्नता नै थियो, त्यो कुनै व्यक्तिगत फाइदाका लागि थिएन । त्यसैले एकआपसमा बाझे पनि फेरि तरल भएर एकै ठाउँमा उभिएका हुन्थ्यौँ । त्यसरी दुत पुनलाई बिर्सनै नसकिने उहाँका सबै पक्षहरुबाट तीनवटा कुराहरुलाई यसपटक समेट्ने प्रयास गरेको छु ।
कार्यकुशलता
कुनै पनि संस्था वा समाजमा रहेर काम गरिन्छ भने आफूमा कुनै न कुनै विषयमा सक्षम र सबल रहन आवश्यक पर्छ । दुतबहादुर पुन सन् २००३ मा कार्यक्रम संयोजक, २००४ बाट मगर संघ युकेको संस्थापक महासचिव, वरिष्ठ उपाधक्ष्य, अध्यक्ष हुँदै संस्थाको प्रभावशाली सल्लाहकारका रुपमा अझै खटिइरहनुभएको छ । यस्तै म्याग्दी प्रवासी नेपाली संघ बेलायतको सल्लाहकार, एभरेष्ट टाइम्स साप्ताहिक छापा (अनलाइन) को प्रबन्धक निर्देशक, हाल सम्पादक, पत्रकार महासंघ बेलायत शाखाको सल्लाहकार र गैर आवासीय नेपाली संघ बेलायतको सल्लाहकारसमेत बनेर काम गर्दै आउनुभएको छ । उहाँसँग मैले काम गर्दा उहाँमा तिब्र रुपमा देखेको सुन्दर पक्ष नै कार्यकुशलता हो । उहाँको बैठक बस्ने, बसाल्ने शैली अत्यन्त सटिक र प्रभावशाली थियो । विषयवस्तुको छनोट, छलफलमा समयावधिको किटान, त्यसको समापन र बैठक बसिरहँदा अनुशासनको अपरिहार्यतालगायत अन्य आवश्यक सामानको बन्दोबस्तबारे अत्यन्त निपूर्ण अगुवा नेताको रुपमा मैले उहाँलाई पाएको छु । यी माथिका थुप्रै पद ग्रहण गरिरहँदा धेरै कार्यक्रमहरु सम्पन्न भए ।
मगर दिवस हुँदै विकसित नाम ओपन कन्सर्ट, मगर भवन निर्माण समिति र यससम्बन्धी च्यारिटी कार्यक्रमहरु, म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको निर्वाचन समितिको पदभारलगायत त्यससम्बन्धी च्यारिटी कार्यक्रमहरु, एभरेष्ट टाइम्स पत्रकार महासंघ, गैर आवासीय नेपाली संघका सम्बन्धी च्यारेटी कार्यक्रमहरुको संयोजन गरेका दुत पुन निकै सफा र सफल दस्तावेज तयार गर्ने व्यक्ति हुनुहुन्छ भन्ने प्रमाणित हुन्छ । कुनै पनि कामको पदभार सम्हाल्नसाथ त्यसबारे गहिरो अध्ययन गर्ने दुत सरको बानी छ । कार्यक्रमको रुपरेखा तयार पार्ने र सम्बन्धित कार्यक्रमबारे विज्ञ व्यक्तिहरुको नाम सङ्कलन पारेर सामाजिक सञ्जालको नाम दिइहाल्ने, कार्यक्रमलाई उत्साह, रोचक, प्रेरणदायी र सम्मानित बनाउन अतिथि कलाकारहरु र शभाहलको उचित छनोट गर्ने उत्कृष्ट कार्यशैली दुत सरमा छ ।
अत्यन्त सरल स्वभाव, मुस्कानसहितको बोली, कार्यसमिति तथा अन्य महानुभावसँग सधैँ सकारात्मक शैलीमा व्यवहार देखाउने, तिथि, मिति र योजनाको सही छनोट, सम्मानजनक भाषाको प्रयोगजस्ता असल चरित्रले उहाँलाई यो स्थानसम्म पुर्याएको हुनुपर्छ । विभिन्न संघसंस्थामा रहेर दर्जनौपटक च्यारिटेबल कार्यक्रमहरुको संयोजकको रुपमा भूमिका पाउनु उहाँको महानता हो । हामीलाई थाहा छ, कतिपय व्यक्तिविशेषहरु एकपटकको च्यारिटी कार्यक्रम गरेर व्यक्ति मात्र होइन, संस्था नै धरापमा पारेका उदाहरण छन् । यसबाट स्पष्ट थाहा हुन्छ दुत सरमा कतिसम्म आर्थिक पारदर्शिता छ भनेर । कार्यक्रम गर्नुगराउनु त्यति ठूलो कुरा होइन तर त्यसले समाजमा कति प्रभाव पारेको छ भन्ने कुरा नै ठूलो हो ।
समाजमा पारेको प्रभाव
दुतबहादुर पुन (चिम्खोले काइँला) पल्टनघरबाट अवकाश लिनसाथ उहाँको अर्को भाग्य खुलेछ । क्षमता वा इच्छाशक्ति भएका कैयौँ व्यक्तिहरु उचित समय र स्थान नपाएर गुमनाम छन् । अवकाश पाउनसाथ दुत सरलाई मगर संघ युकेको महासचिवको जिम्मेवारी सम्हाल्ने मौका मिल्यो । उहाँकै पल्टनका गुरुजी थर्कबहादुर राना धेरै वर्ष पहिला अवकाश लिएर नेपाल जानुभएको थियो । ब्रिटिश सैनिकबाट अवकाश पाएका व्यक्ति भनेपछि नेपालमा पनि राम्रै भाउ थियो । इमान, जमान र क्षमताका कारण थर्कबहादुर राना एक कुशल व्यक्ति मगर संघ युकेको संस्थापक अध्यक्ष रहनुभएको थियो । थर्कबहादुर राना नेपालमा हुँदा मगर संघको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय समितिको सदस्यसम्म पुगेका व्यक्ति हुनुहन्थ्यो । अध्यक्षको शालीन व्यक्तिङ्खव, दुतबहादुर पुनको उच्च स्तरीय कागजात बनाउने सक्ने क्षमतावान व्यक्ति यी दुवै मिलेर मगर संघ युकेको ४ कार्यकाल उहाँहरुले सञ्चालन गर्नुभयो ।
मगर संघ युके हाक्ने क्रममा दुत सरले दुईवटा मुख्य काम गरेरै छोड्नुभयो जुन विश्वभर छरिएर बसेका मगर समुदायले कहिले बिर्सने छैनन् । म पनि मगर संघ युकेको संस्थापक सल्लाहकार हुँदै अहिलेसम्म सल्लाहकारको भूमिकामा आबद्ध छु । सल्लाहकारको हैसियतले दुत सरलाई तपाईंहरु अब मगर संघ युकेको अभिभावकको रुपमा बस्नुपर्छ, आगामी अधिवेशनबाट नयाँ मगर साथीहरुलाई नेतृत्वमा ल्याउनुपर्छ भन्थेँ । तर दुत सरबाट सधैँ मेरो सपना पूरा नगरी कार्यसमितिबाट टाढा बस्दिनँ भनेर हाँस्दै भन्नुहुन्थ्यो । दुत सरको त्यो सपना भनेको मगर भवन किन्नु थियो । दुत सर महासचिव रहँदाको अवस्थादेखि नै मगर भवन बनाउने सङ्कल्प कार्य समितिले बनाएको थियो । चार पाँच लाख पाउन्ड जम्मा गर्नु त्यति सजिलो कहाँ थियो र । तर पनि उहाँ वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष पदमा पुग्ने बेला उच्चतम आर्थिक सहयोगको सीमा रेखा पुरिँदै गयोे र उहाँकै कार्यकालमा मगर संघ युकेले मगर भवन अर्थात् मगर संघ सामुदायिक हाल प्राप्त गर्यो ।
त्यस्तै मगर संघ युकेको बैठकहरुमा नेपालमा मगर समुदायहरु किन र कसरी पछाडि पुगे भन्नेबारे बेलाबखत गम्भीर छलफल चल्थ्यो । धेरैजस्तो कार्यकर्ताहरुले पढाइ लेखाइकै कारण मगरहरुमा चेतनाको कमी आयो, त्यसैको असर उनीहरुको जीवनमा गरिबीको प्रभाव हुन गएको बताएका थिए । गरिबी तथा पछ्यौटेपनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे बहस हुँदा मगर संघ युकेले एउटा ठूलो अक्षयकोष निर्माण गरिदिने र त्यही अक्षयकोषको ब्याजबाट प्रोत्साहनस्वरुप नेपालभरिबाट पीएचडी गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छनोट गरी केही न केही विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने भन्ने कार्यपत्र तय भयो । जुन नेपाल मगर संघ केन्द्रीय कार्यसमितिसँग यससम्बन्धी सहकार्यमा बेलायत शाखा उभिएको छ । जुन कोष एक करोड नेपाली रुपैयाँँ रहेको छ । नेपालमा पीएचडी गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप गरिने आर्थिक सहयोगको यो पिएचडी फण्डको संरक्षक मगर संघ युके छ । कारण पीएचडी फण्ड निर्माण गर्दा जति पनि च्यारिटेवल कार्यक्रमहरु भए ती सबै कार्यक्रमको संयोजक दुतबहादुर नै हुनुहुन्थ्यो । त्यसैले बेलायत बस्ने सबै चन्दादाता मगर समुदायले आआफूले गच्छेअनुसार चन्दा दान गरे तापनि यसको सेरोफेरोमा दुत पुनलाई सम्झने गरेको पाइन्छ ।
दुत पुन चिम्खोले काइँलाका कृतिहरु
दुतबहादुर गर्बुजा पुन (चिम्खोले काइँला) एक सफल साहित्यकार, उपन्यासकार, फिल्म निर्माता, पत्रकार र सफल समाजसेवी हुनुहुन्छ । बेलायतमा बस्ने नेपालीहरुको विशेषगरी सांस्कृतिक कार्यक्रमहरुमा उहाँबाट लिखित लोकगीत, लोकदोहोरीका सीडी बिक्रीवितरण भएको पाइन्थ्यो । त्यस्तै कविता, कथाहरु, फिल्मका सीडीहरु विक्री वितरण भएको देखिन्थ्यो । दुत सर बेलायतबाट प्रकाशित हुने हाम्रा पत्रिका एभरेष्ट टाइम्सको प्रबन्धक निर्देशक हुँदा आदिवासी जनजाति पत्रकार महासंघ नेपालका पदाधिकारीलाई बेलायत झिकाएर बेलायतबासी आदिवासी पत्रकारहरुलाई पत्रकारिताका बारेमा अन्तरक्रिया र प्रशिक्षण दिने कार्य गरिदिनुभएको छ जुन यसै वायोडाटामा उल्लेख छ । त्यस्तै पत्रकार महासंघ बेलायत शाखाको सभासद पदमा रहँदा एउटा च्यारिटेवल सांस्कृतिक कार्यक्रमको संयोजक बनेर पत्रकार महासंघ बेलायतलाई निकै धनी र सक्षम बनाइदिनुभएको छ, जुन पत्रकार साथीहरुले कहिल्यै भुल्ने छैनन् ।