काठमाडौं । पत्रकार दीपेन्द्र दोङको निधन भएको छ । ब्रेन स्ट्रोक (मस्तिष्कघात) भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ४३ वर्षीय दोङको शनिबार बिहान निधन भएको हो । काभ्रेको तेमाल गाउँपालिका-४ कल्लेरीमा जन्मिएका दोङ काठमाडौंमा रहेर तीन दशकदेखि पत्रकारिता पेसामा क्रियाशील हुनुहुन्थ्यो ।
दोङ मध्याह्न राष्ट्रिय दैनिकमा कार्यकारी सम्पादक, नेपाल तामाङ कलाकार संघका संस्थापक सचिव, वरिष्ठ गीतकार, लेखक, तामाङ चलचित्र निर्देशक, रेडियो जनताका स्टेशन म्यानेजर, जनता टेलिभिजनका प्रमुख कार्यकारी निर्माता हुनुहुन्थ्यो ।
उहाँ तामाङ पत्रकार संघका पूर्वउपाध्यक्ष तथा सल्लाहकार पनि हुनुहुन्थ्यो । दोङका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । दोङको बौद्ध धर्म परम्पराअनुसार सोमबार काठमाडौंमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।
यसैबीच नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पत्रकार दोङको निधनमा शोक व्यक्त गरेको छ । शनिबार महासचिव मिलन लिम्बूले जारी विज्ञप्तिमा लेखिएको छ- ;हाम्रो संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको संस्थागत सदस्य संस्था क्रममा मिति २०७९ चैत ११ गते बिहान ४३ वर्षको उमेरमा दुःखद निधन भएकोमा सिङ्गो फोनिज परिवार स्तब्ध छ ।
' साथै महासचिव लिम्बूले दुःखको यस घडीमा दीपेन्द्र दोङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै विज्ञप्तिमार्फत शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।