नुवाकोट । 'शिवपुरी-पञ्चकन्या-दुप्चेश्वर' सडकअन्तर्गत निर्माणाधीन कुण्डला-घलेभन्ज्याङ खण्डमा शनिबार संघीय सांसदको नेतृत्वमा अनुगमन हुने भएको छ ।
मध्य पहाडी लोकमार्गको कुण्डला माध्यमिक विद्यालय छेउबाट घलेभन्ज्याङसम्म निर्माण जारी रहेको सडकको कार्यप्रगति, गुणस्तरीयता र समस्याको पहिचानलगायत विषयमा शनिबार दिउँसो अनगमन हुने नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित हितबहादुर तामाङको नेतृत्वमा अनुगमन हुन लागेको हो । अनुगमन कार्यका लागि सांसद तामाङ, सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख, प्रतिनिधि, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, अन्य जनप्रतिनिधि, स्थानीयको सहभागिता रहने सांसद तामाङको सचिवालयले जनाएको छ ।
पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ र ३ मा पर्ने यो सडकखण्ड यही आर्थिक वर्षभित्र ग्राभेल गरिसक्ने लक्ष्यसहित निर्माण भइरहेको छ । अहिले कतिपय ठाउँमा ग्राभेल हाल्न सुरु गरिसकेको माओवादी केन्द्रका स्थानीय नेता रघुबीर तामाङले जानकारी दिनुभएको छ । उक्त सडक खण्डमा फराकिलो पार्ने, आवश्यक ठाउँमा पर्खाल लगाउने, नाली बनाउनेलगायत कामलाई तीव्रता दिई ग्राभेल गर्न थालिएको हो ।
नुवाकोटको पूर्वोत्तर दुप्चेश्वर गाउँपालिका, पञ्चकन्यावासीलाई काठमाडौं प्रवेशका लागि छोटो दूरी पर्ने 'शिवपुरी-पञ्चकन्या-दुप्चेश्वर' सडकअन्तर्गतको उक्त खण्डमा १० मिटर चौडा पारिएको छ । निर्माणाधीन सडक ७ किलोमिटर दूरी रहेको छ ।
निर्माणको जिम्मा जलुकुनी जेभी कम्पनीले पाएको छ । कम्पनीका सञ्चालक सुशील फुयाँलका अनुसार १० मिटरको सडकमा साढे ७ मिटर कालोपत्रे र बाँकी भाग ढलान गरिने । त्यसभित्र ९ सय मिटर ढलान र ६१ सय मिटर कालोपत्र हुनेछ ।
संघ सरकारले छुट्याएको ४० करोड रुपैयाँमा प्राविधिक स्टिमेटबमोजिम १५ किलोमिटर सडक कालोपत्र हुनेछ । जसमा मध्यपहाडी लोकमार्गको कुण्डला मावि भद्रुटारलाई जिरो विन्दु मानिएको छ । जलुकुनी जेभीले यो सडक २५ करोड ५१ लाख रुपैयाँमा तीन वर्षे म्यादसहित ८ किलोमिटर बनाउने गरी ७८ जेठ २४ गते सडक डिभिजन कार्यालय नुवाकोटसँग सम्झौता गरेको हो ।
एउटा निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक बनाउने २०७६/०७७ मा नेपाल सरकारले निर्णय गरेको थियो । निर्वाचन क्षेत्र रणनीतिक सडक ०७६ सालमै ७७ जिल्ला १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फबाट निर्वाचित सांसदहरुको सिफारिसमा १ निर्वाचन क्षेत्रमा १/१ वटा सिफारिस गर्ने नीतिअनुसार सबै सांसदहरूले सिफारिस गरेका थिए । सिफारिस शीर्षकहरु २०७७ को रातो किताबमा उल्लेख भएर आएको थियो ।
नेकपा माओवादी केन्द्रबाट नुवाकोट क्षेत्र नम्बर १ मा निर्वाचित संघीय सांसद तामाङको सिफारिसअनुसार 'शिवपुरी-पञ्चकन्या-दुप्चेश्वर' सडकको विस्तृत प्राविधिक सर्भेपश्चात् २०७८ को रातो किताब प्रत्येकमा बजेट व्यवस्था भएर आएपछि निर्माणले तीव्रता पाएको हो ।
काठमाडौंतर्फ स्तरोन्नतिका लागि छुट्न गएको उक्त सडक आयोजनाअन्तर्गत सुनखानी ढलानघर-स्याल्पिङखोला-बरभन्ज्याङ र शिवालयसम्मका लागि आउँदो बजेटमा रकम विनियोजन गराउन पहल भइरहेको सांसद तामाङले बताउनुभएको छ ।