काठमाडौं । तामाङ समुदायको एकमात्र साझा संस्था नेपाल तामाङ घेदुङ, संघीय कार्य समितिको चौथो पूर्ण बैठकको निर्णयहरू सार्वजनिक गरेको छ । पोखरामा यही बैशाख १६ र १७ गते सम्पन्न भएको बैठकको निर्णयहरू बुधबार कार्यालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
नाम्सा–नाम्सारी घेदुङ अभियान, ग्रेन गे दिम खरिद अभियान र तामाङ मातृभाषा शिक्षा कार्यक्रम र सरकारी निकायमा लबिङ लगायतको विषयमा बैठक छलफल गरिएको घेदुङका महासचिव काजिमान थिङ जानकारी गराउँनुभएको थियो ।
‘तामाङ भूमि र तामाङ समुदायसँग घेदुङको सम्बन्ध विस्तार अभियानको रूपमा ’तामाङ ह्युल थेन ह्युलबादा थुईबा ल्हाम, नाम्सा–नाम्सारी घेदुङ भन्ने मूल नारा सहित घेदुङको संगठन निर्माण अभियान सञ्चालन गरिनेछ । अभियान पहिलो चरणमा ताम्सालिङ क्षेत्रको जिल्लाहरूमा केन्द्रित गरिने विशेषगरी उपत्यकाको ३ जिल्लामा घेदुङको संगठन अत्यन्त कमजोर रहेकोले उपत्यकामा अभियान केन्द्रित गर्दै अन्य प्रदेश तथा जिल्लाहरूमा यो अभियान तिब्र रूपमा सञ्चालन गरिनेछ । विज्ञप्तिमा भनिएको छ ।’
साथै नाम्सा–नाम्सारी घेदुङ अभियानले स्थानीय तहसम्म घेदुङको संगठन निर्माण, प्रशिक्षण गर्नुका साथै तामाङ जनता र तामाङ भूमि ताम्सालिङसँग घेदुङको सम्बन्ध विस्तार हुनेछ । अभियान सञ्चालनका लागि संघीय अध्यक्ष मोहन गोलेको संयोजकत्वमा एक समिति समेत गठन गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
ग्रेन गे दिम खरिद (निर्माण) अभियानलाई पनि बैठकले प्राथमिकतामा राखेको छ । नेपाल तामाङ घेदुङको हालसम्म आफ्नो कुनै सांस्कृतिक भवन निर्माण हुन सकेको छैन । अहिले काठमाडौं बौद्ध स्थित लाहुरे टोलमा घेदुङको सांस्कृतिक भवन खरिदको प्रक्रिया अगाडि बढिसकेको छ । उक्त भवन खरिदका लागि विभिन्न संघ/संस्था, दातृनिकाय, व्यक्ति तथा सरकारी निकायहरूबाट भवन खरिदका लागि सहयोग रकम संकलन भैरहेको पनि जनाएको छ । आर्थिक संकलन अभियानलाई अझ तीब्रगतिमा अगाडि बढाउदै आगामी २०८० चैत्र १ गतेसम्ममा भवन खरिद गरिसक्ने लक्ष्य लिएको जनाएको छ । उक्त अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन बैठकले संघीय सह अध्यक्ष कुमार सिंह घिसिङको संयोजकत्वमा गठित समितिलाई विशेष जिम्मेवारी प्रदान गरिएको महासचिव थिङले बताउँनुभयो ।
संघीय बैठकले तामाङ मातृभाषा शिक्षा कार्यक्रम र सरकारी निकायमा लबिङ, समुदायमा क्याम्पेनिङको विषयलाई पनि अघि बढाएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । “अहिले घेदुङको समन्वय र पहलमा विभिन्न स्थानीय तहहरूमा तामाङ मातृभाषामा पठनपाठन प्रारम्भ भएको छ । मातृभाषा शिक्षाका लागि हालसम्म घेदुङले गरेका प्रयासहरूको समीक्षा गर्दै आगामी दिनमा तामाङ मातृभाषाको शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । सरकारी तहमा लबिङ गर्ने तामाङ समुदायमा तामाङ मातृभाषा बोल्न, पढ्न र लेख्न क्याम्पेनिङ सञ्चालन गरिनेछ । उक्त अभियानको ठोस कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउन महासचिव काजिमान थिङ तामाङलाई जिम्मेवारी प्रदान गरेको छ ।” विज्ञप्तिमा भनिएको छ ।
साथै अहिले ३ वटै तहको सरकार आगामी आ.व. २०८०÷८१ को नीति, कार्यक्रम र बजेट निर्माणमा जुटिरहेको समयमा घेदुङका संघीय, प्रदेश तथा स्थानीय समिति र अभियानहरू आ–आफ्नो क्षेत्रबाट सरकारी नीति, कार्यक्रम र बजेटमा तामाङ सशक्तिकरण र विकासका योजनाहरू पेश गर्न रचनात्मक र सृजनात्मक ढंगले लाग्न समेत आग्रह घेदुङले गरेको छ ।