नुवाकोट । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाको जनसंख्या झन्डै २३ हजार पुगेको तथ्यांक सार्वजनिक भएको छ ।
गाउँपालिकाले नै गरेको घरधुरी सर्वेक्षण प्रतिवेदन (आव २०७९/०८०) अनुसार ५ वटा वडा रहेको पालिकाभर २२ हजार ९५८ जनसंख्या देखाइएको हो । जसमध्ये पुरुष ११ हजार ९०१ र महिला ११ हजार ०५७ जना रहेका छन् । घरधुरी संख्या भने ४ हजार ७५१ रहेका छन् ।
विवरणअनुसार वडा नम्बर २ कविलासको जनसंख्या सबभन्दा बढी ५ हजार ८७८, दोस्रो स्थानमा वडा नम्बर ५ भद्रुटारमा ५ हजार १५६ जना रहेका छन् । तेस्रो स्थानमा देखिएको वडा नम्बर ४ थप्रेक/आरुखर्कमा ४ हजार ८७८ जनसंख्या रहेको उल्लेख छ । यस्तै वडा नम्बर ३ मा ३ हजार ८८२ र वडा नम्बर १ मा ३ हजार १६४ जना नागरिक बसोवासरत रहेको तथ्यांकले देखाएको छ ।
पालिकाले गत आर्थिक वर्ष २०७८/०७९ को अन्तिमतिर सर्वेक्षण गराएको थियो । पालिकाको जिन्सी शाखा प्रमुख तथा सव इन्जिनियर मछिन्द्र थापाले भन्नुभयो, 'गाउँ प्रहरी र केही सर्वेक्षक खटाएर गत असारमा सकिने गरी सर्वेक्षण गराइएको थियो । वडागत रुपमा ५/६ सर्वेक्षक थिए ।'
घरधुरी नम्बर प्लेटको त्रुटि सच्याउँदै गाउँपालिका
पञ्चकन्यामा घरधुरी सर्वेक्षणपछि टाँसिएको केही घरधुरी नम्बर प्लेटमा उल्लेख गरिएको टोलको नाममा त्रुटि भेटिएको छ । ती त्रुटिहरु पालिकावासीले सच्याउन आग्रह गरेबमोजिम पुन: प्लेट प्रिन्ट गराएर सुधार गर्ने काम जारी रहेको जिन्सी शाखा प्रमुख तथा सव इन्जिनियर मछिन्द्र थापाले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । उहाँका अनुसार सर्वेक्षणमा खटिएका सर्वेक्षकहरुले गलत विवरण टिपाएकाले र टाइपोमा मिस्टेक भएकोले यस्तो समस्या आएको हो ।
घरधुरी नम्बर प्लेटमा जोगीमारा हुनुपर्नेमा जैसीमारा, सिटौला टोल हुनुपर्नेमा सिर्तौला, टोल हुनुपर्नेमा टोलोल, अन्तरे हुनुपर्नेमा अन्धरे जस्ता त्रुटिहरु भेटिएका छन् ।
उहाँले आफ्नो घर रहेको स्थानको नाम अनर्थ भएको, नम्बर प्लेटमा शुद्धाशुद्धि बिग्रिएको रहेछ भने पालिकालाई खबर गरी संशोधन गराउन आग्रह समेत गर्नुभएको छ ।
कर्मचारी बिरामी र केही विवरण त्रुटि भएकोले पालिकाको वडा नम्बर २ मा घरधुरी सर्वेक्षण नम्बर टाँस्न बाँकी रहेको उहाँले बताउनुभयो । पालिकावासीले त्रुटि सच्याउन दिएको सुझावअनुसार अहिले १९० घरधुरी नम्बर प्लेट संशोधनका लागि प्रिन्टमा पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।