घलेभन्ज्याङ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले निर्माणाधीन घ्याङ्स्वाँरा सहिद स्मारक पार्क तथा खेल मैदान क्षेत्रमा ५०/५० फिटको बुद्ध र शिवमूर्ति बनाउने सोच रहेको जानकारी दिनुभएको छ ।
जाल्पा न्यूजसँग कुराकानीका क्रममा अध्यक्ष तामाङले पञ्चकन्याको वडा नम्बर ४ मा विभिन्न संरचना बनिरहेको पार्क क्षेत्रमा ठाउँ पहिचान गरी ५० फिटको बुद्धमूर्ति र ५० फिटको शिवमूर्ति पनि निर्माण गर्ने योजना बनिरहेको जानकारी गराउनुभएको हो । विदेशमा भएका पञ्चकन्याका युवाहरुले पार्कमा बुद्धमूर्ति बनाउन आग्रह गरेको र त्यसका लागि सहयोग गर्ने वचनपछि आफूले बुद्ध र शिवको मूर्ति निर्माण गर्ने निधो गरेको बताउनुभयो ।
'सबै धर्मावलम्बीहरु यहाँ (पार्क)मा आउँदाखेरी हामीले मान्ने भगवान पनि रहेछन् है भन्ने अनुभूति गर्न सकुन् भनेर कतै ठाउँ पहिचान गरेर ५० फिटको बुद्धमूर्ति र ५० फिटको शिवमूर्ति निर्माण गर्ने सोच बनाएको छु,' उहाँले भन्नुभयो, 'त्यसका निम्ति विदेशमा बस्ने युवाहरुले केही रकम संकलन गर्न खोजिरहनुभएको छ ।'
सहयोग संकलनका लागि वडा नम्बर ४ का अध्यक्ष र स्थानीय सरोकारवालाको संयुक्त खाता खोल्ने भन्ने छलफल भइरहेको उहाँले प्रस्ट पार्नुभयो । झन्डै तीन वर्षदेखि पञ्चकन्याको सबैभन्दा अग्लो भूभागमा पार्क निर्माण भइरहेको छ । अहिले १५/२० जना पाहुना अट्ने पाहुनाघर, भूमिस्थानसम्म जाने सिँढी, पर्यटकलाई आकर्षण गर्ने विभन्न संरचना बनेका छन् । खेल मैदान, भूमिस्थान मन्दिर निर्माणको चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।
पार्कमा आकर्षण गराउने र आम्दानी समेत हुने भएकोले यस वर्षदेखि पार्क क्षेत्रभित्र चिया खेती सुरु गर्न लागेको समेत अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन मन्त्रालय, प्रदेश, गाउँपालिका, खानेपानीका निकायलगायतबाट बजेट जुटाउँदै निर्माणलाई अगाडि बढाइरहेको बताउनुभयो । उहाँले आफ्नो दोस्रो कार्यकालभरीमा पार्क निर्माण पूरा गर्ने लक्ष्य रहेको बताउनुभयो । यो पार्क निर्माण भइसकेपछि आन्तरिक र बाह्य पर्यटक भित्रिने र त्यसबाट लिने शुल्कबाट पञ्चकन्याको विकाशमा महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष तामाङको विश्वास छ ।