सिन्धुली । सिन्धुली अस्पतालमा प्रसूति गराउन पुगेकी गर्भवती मृत्यु घटना छानबिन गर्न समिति गठनलगायत ३ बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट बुधबार ४ सदस्यीय वार्ता समिति बनाउने, सिन्धुली अस्पतालबाट व्यवस्थापन सुधार, सम्बद्ध स्वास्थ्यकर्मीहरुबाट व्यवहारगत सुधार, पीडितपक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने, शव बुझी अन्त्येष्टि गर्ने लगायत सहमति भएको हो । सहमतिबमोजिम छानबिन समिति बनाउन भने वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अनुरोध गर्ने भनिएको छ ।
जसमा प्रदेश मन्त्रालयले तोकेका दुई जना चिकित्सक, जिल्ला स्वास्थ्य कार्यालयको प्रतिनिधि एक जना र पीडित पक्षबाट आमन्त्रित प्रतिनिधि एक जना रहनेछन् ।
कमलामाई नगरपालिका वडा नम्बर ५ गंगाकुमारी श्रेष्ठलाई मंगलबार मध्याह्न डेलडेलिभरी गराउन सिन्धुली अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ प्रसूति हुन नसकेपछि सिन्धुली अस्पतालले बर्दिबास ट्रमा सेन्टर पठाउँदा त्यहाँको चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसपछि सिन्धुली अस्पतालमा शव राखेर मृतकका परिवार र आफन्त आन्दोलित बनेका थिए ।
सहमति पत्रमा अस्पतालको तर्फबाट अस्पताल विकास समितिका अध्यक्ष सतिश ढकाल, निमित्त मेसु उमेश प्रधान र पीडित पक्षबाट मृतकको जेठाजु सोमबहादुर श्रेष्ठ र काका तुलबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको छ । सहमतिका क्रममा कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पूर्वस्वास्थ्य प्रदीपकुमार कटवाल, पूर्वप्रदेश सांसद विनोद खड्का, कमलामाई नपा-७ वडाध्यक्ष कर्ण घिसिङ पनि उपस्थित थिए ।