मलेखु,रासस । धादिङको गल्छी गाउँपालिका–८ गल्छीका विनोद थापामगरको आफन्त र स्थानीयले धादिङवेसीमा प्रदर्शन गरेका छन् । गल्छीकै शानदार होटलमा खाजा खान गएका विनोदको क्रुर हत्यामा संलग्नलाई आजीवन जेल सजायको माग राख्दै पीडितका परिवार र आफन्तले प्रदर्शन गरेका हुन् । हत्याराको अवैध सम्पत्तिको छानबिन गर्न माग गरेका छन् ।
हत्यामा संलग्न भएको आरोपमा गल्छीकै शानदार होटलका सञ्चालक सरस्वती पनेरु पण्डित, उनका छोरा नीरज र पाल्पा तानसेन नगरपालिका–१४ घर भई हाल गल्छी–८ बस्दै आएका ३० वर्षीय किरण राना पक्राउ परेका छन् । उनीहरु तीनै जनामाथि अनुसन्धान जारी छ । नेपाल मगर सङ¬्घको अगुवाइमा भएको प्रदर्शनपछि उनीहरुले धादिङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
अनुसन्धानको क्रममा पीडकले प्रहरी प्रशासन र अदालत आफ्नो पक्षमा पार्न सक्ने आशंका उब्जनी भएकाले दबाब स्वरुप प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाइएको गल्छी गाउँपालिकाका वडाध्यक्ष विशाल लुङ्गेली मगरले बताउनुभयो । ‘मान्छे मार्न पाइँदैन, आजीवन कारावासको सजाय गर, कानुनी राज्यको प्रत्याभूति गर’ लगायतका प्लेकार्डसहित नारा जुलुस गरेका थिए ।
शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गत वैशाख २८ गते राति विनोद विभत्स हत्या भएको थियो । पीडितका आफन्तले हत्यामा संलग्न भएको आरोपमा प्रहरी अनुसन्धानमा रहेका होटल सञ्चालक पण्डित, उनका छोरा नीरजमाथि मानव बेचविखन तथा ओसारपसार र देहव्यापारको अभियोगमा मुद्दा दर्ता गराएका छन् ।
पीडितको ज्ञापनपत्र बुझ्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले घटना भए लगत्तैदेखि आफूले नजिकबाट बुझिरहेको जनाउँदै घटनामा संलग्नलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनेमा विश्वस्त रहन पीडितका परिवार र आफन्तलाई आग्रह गर्नुभएको छ ।