बैंकक । 'जाम्बुलिङ खोरला ङ्हा, तामाङ रिमठिम तेन्बा ङा’ भन्ने मूल नाराको साथ विश्वभरिका तामाङहरुको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौं सम्मेलन थाइल्यान्डको बैंकक सहरस्थित हुहाइनमा सुरु भएको छ ।
भव्य समारोहबीच शनिबार सम्मेलन संस्थापक अध्यक्ष परशुराम तामाङले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा ताम्बा, बोन्बो र लामाबाट साङसेरकेम गरेका थिए । सम्मेलनमा विश्वभरिका १७ मुलुकका १९ सदस्य संस्थाहरुको तर्फबाट प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रमलाई मनोरञ्जनमय बनाउन नेपालबाट कलाकार समेत सहभागी छन् ।
संस्थापक अध्यक्ष तामाङले तामाङ जातिको भाषा, लिपि, धर्म, संस्कृति आदिको संरक्षण र संवर्द्धन, सामाजिक एवं आर्थिक सम्मुन्नति, साझा हकहित र विकास, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक उन्नयन, वातावरण तथा दिगो विकासमा ठोस योगदान, नागरिक तथा मानव अधिकारको प्रवर्द्धन, तामाङ समाजमा सशक्तिकरण र जागृति फैलाउन, मैत्रीत्व, भ्रातृत्व, सद्धभाव र सहकार्यको संस्कृति फैलाउने कार्यका लागि विश्वका तामाङ संघ संस्थाहरुबीच आवश्यक समन्वय समेत तामाङ परिषद्ले गर्ने बताउनुभयो ।
परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाले विश्वभरि छरिएर रहेका तामाङहरुलाई एकताको सुत्रमा बाँधिराख्न सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
विश्वका विभिन्न देशमा क्रियाशिल रहेका तामाङ संघ संगठनहरुलाई समन्वय गरी संसारभरि छरिएर रहेका तामाङ जातिहरुका बीच भातृत्व, सद्भाव र सहकार्यको संस्कृतिलाई विकास गर्दै तामाङ समाजको हकहित र समुन्नतिका लागि संगठित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय तामाङ परिषद् गठन भएको उहाँले बताउनुभयो ।
तामाङ समाज थाइल्यान्डको व्यवस्थापनमा सुरु भएको सम्मेलन २ दिनसम्म चल्ने छ । सम्मेलनले विद्यान संशोधनलगायत विश्व कार्ययोजना र समसामायिक प्रस्तावहरु समेत पारित गर्ने छ । संशोधित विधान अनुसार नयाँ बन्ने कार्यसमिति निर्माण हुने छ । अहिलेसम्मको अभ्यासअनुसार कार्यक्रम आयोजक राष्ट्र नै संस्थाको अध्यक्ष हुने छ । भारतको अध्यक्ष रहेकोमा अब थाइल्यान्डको अध्यक्ष रहनेछ ।
सम्मेलनमा सहभागी हुन थाइल्यान्ड नेपाल‚ जापान‚ म्यानमारका प्रतिनिधिहरू बैंककमा भेला भएका छन् भने नेपाल, भारत‚ अमेरिका‚ कोरिया‚ हङकङ‚ बहराइन‚ युएई‚ पोर्चुगल‚ रोमनिया ,माल्टा,थाइल्याण्ड,बर्मा, जापान,बेलजियम,मलेसिया,कतार र इटालिका तामाङहरुको सहभागिता रहेको छ ।
परिषद्को सन् २००२ डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो । विशेष गरेर सम्मेलन नेपाल र भारतमा मात्र हुँदै आएकोमा पहिलो पटक तेस्रो मुलुकमा आयोजना भएको हो ।