नुवाकोट । सडक डिभिजन नुवाकोटले निर्माणाधीन गुर्जे-छहरे सडकमा सोमबारदेखि असफाल्ट प्रविधिबाट कार्य गरिने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सुमनराज बस्नेतले आइतबार सूचना जारी गर्नुहुँदै सोमबारदेखि जेठ ३२ गतेसम्म बिहान ८ देखि दिउँसो ४ बजेसम्म असफाल्ट कार्य गर्दा सवारी आवागमन अवरुद्ध हुने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभएको हो । उहाँले ग्लोबल मिडियासँग भन्नुभयो,'सडक पूरै बन्द भन्ने होइन, काफलडाँडा क्षेत्रमा पिच (कालोपत्र) प्रक्रिया जारी रहेको ठाउँमा असफाल्ट प्रविधिबाट काम गरिने भएकोले सवारी साधन आवागमनमा बेला बेला रोकिने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न भनेका हौं ।'
गत चैत १३ गते ३ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएबमोजिम शिवपुरी गाउँपालिका-८ को वडा कार्यालय आसपास, थापागाउँ क्षेत्रमा ढलान, नाली निर्माण, मर्मत, कालोपत्रका लागि बागेश्वरी वाग्मती सिम्रन जेभीले काम गरिरहेको छ । उक्त खण्डमा बागेश्वरीले ६ करोड (भ्याटसहित)मा निर्माण जिम्मा लिएको छ । यस्तै चापाबोट क्षेत्रमा जी टेक सर्भिसेसले काम गरिरहेको छ । उक्त ठेक्का चालु आर्थिक वर्षमा केन्द्रीय बजेटमा छुट्याइएको ६ करोड रुपैयाँमध्येबाट ४ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । सूचना अधिकारी बस्नेतका अनुसार गत आर्थिक वर्षको दुई करोड दायित्व वहन गर्नुपर्ने भएकोले दुई किलोमिटरमा मर्मत र गुणस्तरीय पिचका लागि ४ करोडमा सम्झौता गरिएको हो ।
'निर्माणाधीन गुजे-छहरे सडक खण्डको ठे. नं. RDNKT/33701138/079-80/09 & RDNKT/33701138/079-80/39 को Asphalt कार्य गर्ने सिलसिलामा मिति २०५०।०२।२२ देखि २०८०।०२।३२ गते विहान ८:०० बजेदेखि दिउँसो ४:०० सम्मका लागि सवारी आवागमन अवरुद्ध हुने भएकोले उक्त Asphalt कार्य गरिने अवधिभरका लागि वैकल्पीक मार्ग प्रयोग गर्ने गरी आवाश्यक व्यवस्था मिलाई दिनुहुन भई निर्माण कार्यमा सहयोग पुयाई दिनुहुनका लागि निर्देशानुसार अनुरोध छ,' विभिन्न निकायलाई पठाएको पत्रमा लेखिएको छ ।
इन्जिनियर बस्नेतका अनुसार उक्त पत्र जिल्ला प्रहरी कार्यालय नुवाकोट, जिल्ला ट्राफिक कार्यालय नुवाकोट, शिवपुरी गाउँ कार्यपालिकाको कार्यालय नुवाकोट, लिखु गाउँपालिकाको कार्यालय नुवाकोट, पासाङ ल्हामु बस व्यवसायी संघ नुवाकोट, बागेश्वरी/बागमती/ सिमरन जेभी, G-Tech Consultant & Engineering Pvt.Ltd लाई बोधार्थ पठाइएको छ ।