काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले नुवाकोटमा ‘लम्पी स्किन’रोग संक्रमणका कारण किसानहरु अत्यन्तै मारमा परेको भन्नुहुँदै यसको प्रभावकारी नियन्त्रणको कदम चाल्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसद सुवेदीले ‘लम्पी स्किन’रोगले नुवाकोटमा २ हजारभन्दा बढी गाई, भैँसी संक्रमित र ५० भन्दा बढी मरिसकेको जनाउनुहुँदै यसको रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले बिमा कम्पनीहरुलाई बुझउनुपर्ने प्रिमियम रकम नबुझाएकाले कम्पनीमार्फत किसानहरुले पाउनुपर्ने बिमा रकम नपाउँदा पशुपालन व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था पैदा भएको समेत उल्लेख गर्नुभयो ।
'संक्रमित पशुचौपायाहरुको औषधोपचार गर्न तथा रोगको प्रभावकारी नियन्त्रणका लागि आवश्यक कदम चाल्न र सरकारले बिमा कम्पनीहरुलाई बुझउनुपर्ने प्रिमियम रकम नबुझाएका कारण कम्पनीमार्फत किसानहरुले पाउनुपर्ने बिमा रकम नपाउँदा किसानहरु पशुपालन व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था पैदा भएको छ । तसर्थ यी समस्याहरुको तत्काली समाधान गर्न सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,' सांसद सुवेदीले अगाडि भन्नुभयो, '‘लम्पी स्किन’रोग संक्रमणका कारण देशका विभिन्न जिल्लाहरुमा जस्तै नुवाकोटमा पनि गाई, भैँसीलगायतका पशुचौपायाहरु प्रभावित भएका छन् । अहिलेसम्म २ हजारभन्दा बढी गाई, भैँसी संक्रमित र ५० भन्दा बढी मरिसकेका छन् ।'
बैठकमा सांसद रञ्जुकुमारी झाले गर्मीका कारण तराई मधेसका नागरिकको जीवन कष्टकर भएको जनाउँदै अस्पतालमा उचित जनशक्ति, उपकरण र सेवाको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सो समयमा सांसदहरुले ‘लम्पी स्किन’ रोगबाट पशु चौपाया मर्न थालेको, मेलम्ची खानेपानी आयोजनाको मर्मत नभएको, सडक खाल्टाखुल्टी परेको तथा खानेपानी, शिक्षा र खानेपानीको प्रबन्ध नगरिएको र विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्ने तर्फ ध्यान नपुगेकामा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
शून्य समयमा सांसदहरु विमला सुवेदी, भानुभक्त जोशी, भीमप्रसाद आचार्य, मनबहादुर गुरुङ, मनिष झा, महेन्द्रबहादुर शाही, महेश बर्ताैला, महेश बस्नेत, माधव सापकोटा, मीना यादव, मीना तामाङ,मञ्जु शर्मा अन्सारी, रघुजी पन्त, रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराली, रमा कोइराला पौड्याल, राजु थापा, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, रामकुमार राई, रामनाथ अधिकारी, रामशङ्कर यादव, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा जोशी चौधरी, लक्ष्मी तिवारी, लालप्रसाद साँवा लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाललगायतले भाग लिनुभएको थियो ।