कतार । शैक्षिक विकास तथा डम्फुको प्रवर्द्धन र संरक्षणका लागि तामाङ समाज कतारले तेस्रो डम्फु साँझ २०२३ को आयोजन गरिएको छ ।
दोहा स्थित एक प्रतिष्ठित रिजेन्सी हल्सू नामक हलमा नेपाल प्रवासी तामाङ समाज कतारले बहुप्रतिक्षित सांस्कृतिक कार्यक्रम तेस्रो डम्फु साँझ २०२३ बारे शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
“ तामाङ समाज कतार स्थापना काल देखिनै आफ्नो समुदायको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरणका लागि समर्पित हुँदै आएको छ । हामीले समुदायको शैक्षिक विकास लागि “शैक्षिक विकास कोष” स्थापना गरेका छौं। उक्त कोष मार्फत आफ्नो समुदायका गरीब तथा जेहेन्ददार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छौं, यस कार्यलाई निरन्तरताका लागि शैक्षिक विकास कोष प्रवर्द्धन तथा वृद्धि आवश्यक परेको हुनाले तेस्रो डम्फु साँझको आयोजना गरिएको हो” समाजको अध्यक्ष सुवास तामाङ बताउनुभयो ।
डम्फु साँझमा चर्चित गायक एवं संगीतकार उर्गेन दोङ, सेलो गायक तथा संगीतकार बैरागी मोक्तान र म्हेन्दोमाया गायिका तथा आरजे सविना तामाङ लगायतलाई निमन्त्रण गरिएको छ । कलाकारहरूले तामाङ समुदायको जीवन्त डम्फु र टुङना जस्ता लोक मौलिक बाजा सहितको संगीत, नृत्य र परम्परालाई प्रस्तुत गरिने छ ।
तामाङ समाज कतारले सो कार्यक्रमको लागि कतारको स्थानीय सरकारी निकायहरू बाट सबै प्रकारको औपचारिक प्रकृयाहरू पूरा गरी स्वीकृति प्राप्त गरिसकेको छ । कार्यक्रम दोहाको प्रतिष्ठित रिजेन्सी जस्तो एक महङ्गो हलमा पहिलो पटक डम्फु साँझ आयोजना गर्न लागिएको हो । कार्यक्रमलाई सफल बनाउनको लागि तामाङ समाज कतारले सबै प्रक्रिया पुरा गरिसकेको छ । समाजले तामाङ तथा गैर तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रम हेर्दै तामाङ संस्कार संस्कृतिको अनुभव बटुल्न, परम्परागत बाजा डम्फु र सेलोको भाकामा नाच्न अनुरोध गरिएको छ ।
अध्यक्ष तामाङ “ कार्यक्रम तामाङहरूको समृद्ध संस्कार संस्कृति ले नेपाललाई विश्वमा चिनाउँन ठूलो भूमिका खेल्ने भएको हुँदा, दोहामा बसोबास गर्ने सम्पूर्ण तामाङ तथा गैरतामाङ जनसमुदायलाई सहभागी हुन अनुरोध गर्दछु । एउटा टिकटको पैसाले शिक्षाको उज्यालो घाम बाट बञ्चित अनाथ बालबालिकाहरूका लागि ठुलो सहयोग पनि मिल्नेछ” । कार्यक्रम आउदो २३ तारिख शुक्रवारका दिन रिजेन्सी हलमा हुने छ ।