घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले श्रमदानका लागि अपिल गरेको छ ।
पालिकाको वडा नम्बर ४ घ्याङस्वारामा निर्माणाधीन 'सहिद स्मारक पर्यटकीय पार्क तथा खेलमैदान आसपासमा चियारोपण कार्यका लागि एक दिन श्रमदानका लागि अध्यक्ष तेजबहादुर तामाङले अपिल गर्नुभएको हो ।
पालिकाले 'कोहीभन्दा छैन कम, पालिकालाई एकदिन श्रम' भन्ने सन्देशसहित यही असार २६ गते बिहान ११ बजे चियारोपण कार्यक्रम राखिएकोले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, राजनीतिक दल, विभिन्न निजी तथा गैरसरकारी क्षेत्र, संघसंस्थाका प्रतिनिधिलगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिएको छ ।
भविष्यमा गाउँपालिकाको आयस्रोतको माध्यम बनाउने उद्देश्यअनुरुप घ्याङस्वारामा पार्क निर्माण भइरहेको छ । झन्डै २० रोपनी क्षेत्रफलमा निर्माणाधीन पार्कस्थलबाट दक्षिण उत्तरतर्फ रहेको भुमेस्थान मन्दिरसम्म जाने सिँढी निर्माण सकिएको छ । भूमेथान मन्दिर नजिक भ्यूटावर निर्माण गर्ने, त्यसबाट पार्कस्थलमा झर्न जिपलाइन बनाउनेलगायतका योजना रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । नयाँ आर्थिक वर्षको पालिकाको बजेटमा जिपलाइन सम्भाव्यता अध्ययन र खेलकुद मैदान सम्याउनका लागि समेत बजेट विनियोजन गरिइसकेको छ ।
घ्याङस्वाराँबाट नुवाकोटका जिल्ला सदरमुकामका पूर्वीभेग, रसुवामा पर्ने गणेश हिमाल, राहुचुली हिमाललगायत हिमशृंखलालगायत दृश्य अवलोकन गर्न सकिन्छ । वनभोजमा जानेहरुका लागि आवश्यक सेटहाउस जस्ता संरचना, पाहुना गृह निर्माण भइसकेको छ । नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा प्राण त्यागेकाहरुको सम्झनामा सहिद स्मारक पार्क निर्माण गरी गाउँपालिकाभित्रमा जनयुद्धकालमा सहिद भएका ११ जनाको अर्धकदको सालिक बनाएर अनावरण गरिसकिएको छ ।