घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा नौमती बाजा घन्काउँदै चिया रोपिएको छ ।
पालिकाको वडा नम्बर ४ घ्याङस्वारामा निर्माणाधीन 'सहिद स्मारक पर्यटकीय पार्क तथा खेलमैदान' आसपासमा श्रमदानसहित मंगलबार चियारोपण कार्यक्रम सम्पन्न भएको हो । मंगलबार चिया, सुन्तला, एभोकाडो गरी झन्डै १३ हजार बिरुवा रोपिएको छ ।
अध्यक्ष तेजबहादुर तामाङकाअनुसार चिया साढे १२ हजार, सुन्तला २ सय रोपिएका छन् ।
पालिकाले 'कोहीभन्दा छैन कम, पालिकालाई एकदिन श्रम' भन्ने सन्देशसहित राखिएकोले कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दल, विभिन्न निजी तथा गैरसरकारी क्षेत्र, संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
चियारोपण सकिएपछि पार्क क्षेत्रमा बाजाको तालमा अध्यक्ष, उपाध्यक्षलगायत नाचेका थिए भने खाजापानीको समेत व्यवस्था गरिएको थियो ।
भविष्यमा गाउँपालिकाको आयस्रोतको माध्यम बनाउने उद्देश्यअनुरुप घ्याङस्वारामा पार्क निर्माण भइरहेको छ । झन्डै २० रोपनी क्षेत्रफलमा निर्माणाधीन पार्कस्थलबाट दक्षिण उत्तरतर्फ रहेको भुमेस्थान मन्दिरसम्म जाने सिँढी निर्माण सकिएको छ । भूमेथान मन्दिर नजिक भ्यूटावर निर्माण गर्ने, त्यसबाट पार्कस्थलमा झर्न जिपलाइन बनाउनेलगायतका योजना रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । नयाँ आर्थिक वर्षको पालिकाको बजेटमा जिपलाइन सम्भाव्यता अध्ययन र खेलकुद मैदान सम्याउनका लागि समेत बजेट विनियोजन गरिइसकेको छ ।
घ्याङस्वाराँबाट नुवाकोटका जिल्ला सदरमुकामका पूर्वीभेग, रसुवामा पर्ने गणेश हिमाल, राहुचुली हिमाललगायत हिमशृंखलालगायत दृश्य अवलोकन गर्न सकिन्छ । वनभोजमा जानेहरुका लागि आवश्यक सेटहाउस जस्ता संरचना, पाहुना गृह निर्माण भइसकेको छ । नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा प्राण त्यागेकाहरुको सम्झनामा सहिद स्मारक पार्क निर्माण गरी गाउँपालिकाभित्रमा जनयुद्धकालमा सहिद भएका ११ जनाको अर्धकदको सालिक बनाएर अनावरण गरिसकिएको छ ।