काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ । उहाँको बुधबार बिहान काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
सीताको बिहान ८:३३ बजे निधन भएको नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि थला पर्नुभएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सामेल सीता नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
सीताको शबव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ देखि १ बजेसम्म राखिने र २ बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनुभएकी सीता दाहालको २०२६ सालमा कमरेड प्रचण्डसँग विवाह भएको थियो । वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । पार्टी कामका लागि पंचायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लोसमय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थियो ।
भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आउनुभएको छ ।