नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका-६ अन्तर्गत गुर्जेभन्ज्याङ-समुन्द्रदेवी-मानेभन्ज्याङ सडक पहिरोले एक सातादेखि अवरुद्ध भएको छ ।
अर्खौले ठूलोभिर र नजिकै पहिरो खसेकाले बाटो पूर्णरुपमा बन्द रहेको अस्थायी प्रहरी पोस्ट गुर्जेले जानकारी दिएको छ । पोस्टका प्रहरी सहायक निरीक्षक (असई) सन्तबहादुर कुमालले पहिरो ठूलो झरेकोले पैदलयात्री समेत हिँड्ने अवस्था नरहेको ग्लोबल मिडियालाई जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीले नमानेपछि शिवपुरी गाउँपालिकाको प्रयासमा दुई दिनअघि डोजर लगाएर बाटो खुलाउने प्रयास गरे पनि पहिरो झर्नेक्रम नरोकिएपछि बाटो खुलाउन नसकिएको हो ।
असई कुमालले भन्नुभयो, 'उक्त बाटो तत्काल खुल्ने अवस्था छैन । खुले पनि उच्च जोखिम छ ।' उक्त सडकको ७ किलोमिटर पक्की खण्डमै सडक माथिबाट पहिरो झर्ने गरेको छ । गुर्जेभन्ज्याङ-समुन्द्रदेवी-मानेभन्ज्याङ सडकबाट खोलेगाँउ, शिवपुरी गाउँपालिका केन्द्र सेराबगर, कुख्रे, सिक्रेलगायतका बासिन्दा आवतजावत गर्ने गर्दछन् ।
सडक सञ्चालनमा रहँदा दैनिक ३ बस, यात्रुवहाक जिप ६/७ वटा र अन्य निजी तथा सार्वजनिक गाडीहरु चल्ने गर्दथ्यो । उक्त बाटो नचलेपछि त्यस भेगका स्थानीय अहिले छहरे घुम्दै काठमाडौं ओहोरदोहोर गर्न बाध्य छन् । पूर्वी भेगका केही बासिन्दा भने पार्टी भन्ज्याङ-सिन्धुपाल्चोक हुँदै काठमाडौं जाने गरेको असई कुमालले बताउनुभयो ।
स्थानीय एमाले नेता जीतेन्द्र विष्टले वैकल्पिक बाटो माने, स्वाँरथोक, बाँस्कोटे, फेदिगाउँ हुँदै अर्खौले मूलसडक जोड्ने बाटोको रुट प्रयोग गर्न विशेषगरी लिखु, सिक्रे, महाकाली र समुन्द्रदेवीका आमनागरिकलाई सुझाव दिनुभएको छ । साथै पहिरो ठूलो भएकोले हटाउन ठुलै खर्च लाग्ने देखिएकोले तत्काल स्थानीय सरकारले सम्बन्धित भौतिक पूर्वाधार विकास नुवाकोट र निर्माण व्यवसायीसँग समन्वय गरी यथाशीघ्र उक्त अवरुद्ध सडक खुलाउन पहल गर्न स्थानीय सरकारलाई आग्रहसमेत उहाँले गर्नुभएको छ ।