काठमाडौं । तामाङ, मगर र मुस्लिम समुदायको विवाह संस्कारबारे गलत अभिव्यक्ति दिने अधिवक्तालाई पक्राउ गर्न ढिलासुस्ती भइरहेको विषयमा नेपाल तामाङ घेदुङको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।
घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङ नेतृत्वको टोलीले शुक्रबार सिंहदरबारमा पुगेर विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे 'शितल' लाई तत्काल पक्राउ गराई कानुनी कारबाही अघि बढाउन गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो । 'हाम्रो समुदायको विवाह संस्कारबारे गलत अभिव्यक्ति दिने भगवती पाण्डेलाई तत्काल पक्राउ गरी कानुनबमोजिम हदैसम्म कारबाहीको माग राखेर गृहमन्त्रीलाई भेट्न गएका थियौं,' अध्यक्ष गोलेले भन्नुभयो । अध्यक्ष गोलेका अनुसार गृहमन्त्री श्रेष्ठले केस कहाँ, कुन अवस्थामा छ ? त्यो बुझेर कारबाहीको प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् । पाण्डेविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । सोही अभिव्यक्तिलाई लिएर उनीविरूद्ध तामाङ र मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीका आधारमा पाण्डेविरूद्ध जातीय भेद्भावको कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
प्रतिनिधिसभा बैठकमा केही सांसदहरूले पनि उनको अभिव्यक्तिले तामाङ समुदायमा आघात परेको भन्दै तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए । पक्राउ पुर्जी जारीपछि उनको खोजी भइरहेको प्रहरीले बताएको छ । तामाङ समुदायले आदिवासी आयोग, राष्ट्रिय मानवअधिकार आयोगसमेत गुहारिसकेका छन् ।
राजनीतिक दबाबमा अधिवक्ता पाण्डेलाई पक्राउ नगरिए सडक आन्दोलन हुनेसमेत ती समुदायका अगुवाहरुले चेतावनी दिएका छन् । गृहमन्त्रीलाई भेट्न प्रतिनिधिसभा सदस्य मिना तामाङसहित अध्यक्ष गोले, महासचिव काजीमान थिङ तामाङ, उपमहासचिव जगतमान लामा (दोङ)लगायत सिंहदरबार पुग्नुभएको थियो ।