काठमाडौं । नेपाल तामाङ घेदुङले तामाङ, मगर लगायत आदिवासी समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्तालाई तत्काल पक्राउ नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
तामाङ घेदुङको संघीय कार्यालय बौद्ध चुच्चेपार्टीमा पत्रकार सम्मेलन आयोजना गर्दै घेदुङले संविधान र कानुनविपरीत बोल्ने अधिवक्ता शीतल पाण्डेलाई तत्काल पक्राउ गर्न र त्यसो नगरिए आन्दोलन गर्ने चेतावनी दिएको हो । अधिवक्ता पाण्डेविरुद्ध शुक्रबार नै पक्राउ पुर्जी जारी भइसकेको छ । उनीविरुद्ध तामाङ घेदुङको तर्फीबाट प्रहरी परिसर टेकु काठमाडौंमा कार्यवाहक अध्यक्ष कुमारसिंह घिसिङलगायतले जाहेर दिनुभएको थियो ।
जाहेरीपछि पक्राउ पुर्जी जारी गर्न ढिलाइ भएको र पक्राउ पुर्जी जारी भएर पनि तीन दिन बित्दा समेत पाण्डे पक्राउ नपरेपछि घेदुङले आन्दोलनको चेतावनी दिएको हो । अध्यक्ष मोहन गोले तामाङले तामाङ, मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि सरकारले पक्राउ नगरेको र कतै राज्य नै अपराधी संरक्षणमा लाग्न खोजेको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो ।
‘तामाङ, मगर लगायत आदिवासी समुदायलाई एक जनावर पशुसँग तुलना गरी समस्त समुदायलाई अपराधीकरण गर्ने हेतुले दिएको भ्रामक अभिव्यक्ति हाम्रो स्वतन्त्रता, सम्मानपुर्वक बाँच्न पाउने संवैधानिक हकको प्रतिकूल रहनुका साथै यसले हाम्रो आत्मस्वाभिमानमा गम्भीर ठेस पुगेको हुँदा हामी, कडा शब्दमा यसको घोर भर्त्सना र निन्दा गर्दछौं’, महासचिव काजीमान थिङ तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष गोलेले अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ नगरिए मगर र तामाङ समुदायले संयुक्त आन्दोलन घोषणा गरिने जानकारी दिनुभयो । आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मा सम्बन्धित अधिवक्ता र राज्यले लिनुपर्ने उहाँको भनाइ थियो ।
विज्ञप्तिको पूर्णपाठ
तामाङ, मगर लगायत समस्त आदिवासी जनजाति समुदायलाई अपराधी करार गर्न खोज्ने कानुन व्यवसायी शितल भनिने भगवती पाण्डेलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कार्वाही गर्न माग गर्दै अन्यथा सडक सङ्घर्ष गर्ने उद्घोषसहित तामाङ समुदायको राष्ट्रिय, साझा संस्था नेपाल तामाङ घेदुङद्वारा आज मिति २०८०/०४/१४ गते जारी प्रेस विज्ञप्ती ः–
गुल्मी जिल्ला साविक तम्घास नगरपालिका वडा नं. ६ हाल परिवर्तित रेसुङ्गा नगरपालिका वडा नं. ६ स्थायी ठेगाना भएको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने शितल भन्ने अधिवक्ता भगवती पाण्डे (नेपाल बार काउन्सिल प्र.प.नं. १४४१७) ले मिति २०८०/०४/०६ गते प्राइम टेलिभिजनमा दिक्पाल कार्कीद्वारा सञ्चालित चिया गफ कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा “तामाङ र मगर जातिमा दाजुबहिनीबीचमा बिबाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अलि कट्टरवादी हुने, एक लाइनको सोच्ने, गर्छु गर्छु भन्ने खालको जिनको विकास हुने गरेको र अपराध बढ्नुको यो पनि कारण रहेको बताउनुका साथै भैँसी र बाख्रामा पनि एकै जिनबीचको यौन संसर्गबाट जन्मिएको सन्तान राम्रो नहुने हुँदा पशुमा पनि यस्तो यौन सम्बन्धलाई बार्नुपर्ने देखिन्छ भने यता मानिसको सम्बन्धमा खुल्ला छोड्दा बित्तिकै अब यसले चाहिँ अपराध सिर्जना गर्छ” भनी सिङ्गो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायलाई आनुवांशिक रूपमा नै अपराधीकरण गर्नेगरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्ति टेलिभिजन, युट्युब र टिकटकबाट समेत प्रत्यक्ष तथा रेकर्डेड प्रसारण भएको कुराले हाम्रो आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौं ।
तामाङ समुदायमा परम्परादेखि चलिआएको संस्कार, परम्परागत अभ्यास तथा रीतिरिवाजमा दाजुबहिनीबीच पवित्र सम्बन्ध हुनेमा निज अधिवक्ता भगवती पाण्डे र प्राइम टेलिभिजनका कार्यक्रम प्रस्तोता दिक्पाल कार्कीले बिबाहवारी चल्ने भनी दिएको अभिव्यक्ति आफैमा गैरजिम्मेवारपूर्ण तथा शान्तिपुर्वक चलिरहेको सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पु¥याउने किसिमको रहेको छ । साथै तामाङ, मगर लगायत आदिवासी समुदायलाई एक जनावर पशुसँग तुलना गरी समस्त समुदायलाई अपराधीकरण गर्ने हेतुले दिएको भ्रामक अभिव्यक्ति हाम्रो स्वतन्त्रता, सम्मानपुर्वक बाँच्न पाउने संवैधानिक हकको प्रतिकूल रहनुका साथै यसले हाम्रो आत्मस्वाभिमानमा गम्भीर ठेस पुगेको हुँदा हामी कडा शब्दमा यसको घोर भत्र्सना र निन्दा गर्दछौ ।
कानुन व्यवसायी पाण्डेको उक्त अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक समाजको धार्मिक, सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको हुँदा निजको कार्यालयमा नै पुगेर र सामाजिक सञ्जालको माध्यमबाट आत्मआलोचित हुन पर्याप्त समय दिँदा समेत अटेर गरी समय गुजारेको स्पष्ट पार्न चाहन्छौ । निजको यो अभिव्यक्ति तथा प्रसारण नेपालको संविधानद्वारा प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हक, संस्कृतिको हक प्रतिकूल हुनुका साथै जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ मुलुकी अपराध संहिता, २०७४ र विद्युतिय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ समेत आकर्षित हुनजाने देखिएकाले मिति २०८०/०४/०९ गते जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा तामाङ र मगर समुदायको राष्ट्रिय साझा संस्थाद्वय नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको तर्फबाट जाहेरी दरखास्त दिएकोमा यतिका समय बितिसक्दा समेत निज कानुन व्यवसायी पाण्डेलाई पक्राउ नगरिनुले हामीलाई अझ मर्माहत तुल्याएको छ ।
पत्रकार मित्रहरू,
यस सम्बन्धमा हामीले निजलाई कानुनी कार्वाहीको लागि सम्मानित राष्ट्रिय मानवअधिकार आयोग, आदिवासी जनजाति आयोग र प्रेस काउन्सिलमा निवेदन दर्ता गर्नुका साथै माननीय गृहमन्त्री ज्यूको समेत गम्भीर ध्यानाकर्षण गराइसकेका छौ भने संसदमा समेत माननीय सदस्य ज्यूहरूले यो विषयलाई प्रवेश गराउनु भएको छ । डेड दर्जन बढी सरोकारवाला संघ, संस्थाहरूले प्रेस विज्ञप्ती जारी गरी निजलाई कार्वाहीको लागि राज्य पक्षको गम्भीर ध्यानाकर्षण गराइसकेको छ । तर जाहेरी दर्ता भई पक्राउ पूर्जी जारी भएको यतिका दिन बितिसक्दा समेत संवैधानिक हकअधिकार र प्रचलित कानुन विपरीत तथ्यहीन अभिव्यक्ति दिई सिङ्गो समुदायलाई अपराधी करार गर्न खोज्ने कानुन व्यवसायी भगवती पाण्डे पक्राउ नपर्नुले राज्य निजलाई कार्वाही गर्न तयार नरहेको र अपराधीलाई बचाउन लागिपरेको हो कि भन्ने हामीमा संशय उत्पन्न गराएको छ ।
तसर्थ, निज कानुन व्यवसायी भगवती पाण्डेलाई यथासिघ्रह पक्राउ गरी कानुन बमोजिम हदैसम्म सजाय गर्न हामी नेपाल सरकार, गृह मन्त्रालय र प्रहरी प्रशासनको हामी गम्भीर ध्यानाकर्षण गराउँदछौ । यदि अझैपनि निजलाई पक्राउ गरी कानुन बमोजिम कार्वाही नगर्ने र आलटाल गरिरहने हो भने हामी तत्काल सडक सङ्घर्षमा जाने र त्यसबाट उत्पन्न परिस्थितिको स्वयम् राज्य व्यवस्था जिम्मेवार हुनेपनि यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराउन चाहन्छौ । साथै, कानुन व्यवसायी भगवती पाण्डेको अभिव्यक्तिबाट सिर्जित यो घटनाक्रम नितान्त निज व्यक्ति र उसको अभिव्यक्तिसँग सम्बन्धित भएकाले यो विषय कुनै जाति, समुदाय, लिङ्ग र वर्ग लक्षित नभएको पनि स्पष्ट पार्न चाहन्छौ र सिङ्गो समुदायलाई अपराधीकरण गर्ने उद्देश्यले दिएको पाण्डेको यो गम्भीर आक्षेप विरुद्ध सबै अधिकारकर्मी, पत्रकार, नागरिक समाज, कानुन व्यवसायी तथा न्यायप्रेमी जनसमुदायलाई सहयोग गरिदिन, न्यायको पक्षमा आवाज उठाइदिनहुन समेत हामी हार्दिक आग्रह गर्दछौ ।
.........................
काजिमान थिङ तामाङ
महासचिव
नेपाल तामाङ घेदुङ