काठमाडौं । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आफ्नो समुदायलाई अन्याय र अपमान भयो भनी न्यायको लागि आवाज उठाउँने नागरिकहरू उपर प्रहरीले वल प्रयोग गरिनु चिन्ताको विषय भएको जनाएको छ ।
विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गरी कारवाही गर्न साउन १७ गते बुधवार काठमाडौं प्रहरी परिसरमा शान्तिपूर्ण धर्ना दिने क्रममा प्रहरीले गरेको अत्याचारको विरुद्धमा समाधान खोज्न आग्रह गरेको छ ।
अध्यक्ष भवानी खरेलले साउन १८ गते (आज) जारी गर्नु भएको पत्रमा पाण्डेले तामाङ एवं मगर समुदायको रीतिरिवाज, परम्परा लगायतका विषयमा दिएको अशोभनीय र आपत्तिजनक विचारका कारण उत्पन्न असहज परिस्थितिको बारेमा प्रतिष्ठानको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिष्ठानको जारी पत्रमा गैरकानुनी धरपकड गरिनु र थुनामा राख्न नहुने पनि जनाएको छ । सबै काम कारवाही कानुन बमोजिम मात्र हुनुपर्ने प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले उचित समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
पत्रमा भनिएको छ ‘ कुनै पनि जनजाति एवं भाषाभाषीहरूकाे धर्म, संस्कृति र परम्परा, रीतिरिवाज आदिका बारेमा गहिरो अध्ययन नगरी जथाभावी विचार दिनु उचित होइन ।’
बुधवार शान्तिपूर्ण धर्नामा बसेका तामाङ र मगर समुदायमाथि प्रहरीको दमन र धरपकड गरि ५० जनालाई नियन्त्रणमा लिएर राखिएको थियो । गएराति र आज बिहान गरी सबै जनालाई छोडिएको जनाएको छ ।