काठमाडौं । विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता र प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर चरम यातना दिने टेकु प्रहरीविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरिएको छ ।
तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे र शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गरी नियन्त्रणमा लिने र त्यसपछि चरम यातना दिने प्रहरीलाई कारबाही माग गर्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले देशभर विरोध प्रदर्शन र धर्नासहितका कार्यक्रम घोषणा गरेका हुन् । विज्ञप्तिअनुसार यही साउन २२ गते सोमबारका दिन काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १:०० बजे शान्तिपूर्ण विरोधको कार्यक्रम आयोजना गर्ने, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका तामाङ, मगर लगायत सबै अभियन्ताहरू माइतीघर मण्डलामा हुने कार्यक्रममा सहभागी हुने र अन्य जिल्लाको हकमा आआफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिँदै प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाइने छ ।
सामाजिक सद्भाव नखल्बलियोस् भन्दै आन्दोलनरत पक्षबाट आचारसंहितासमेत तोकिएको छ । जसअनुसार कार्यक्रममा कुनै दल विशेषको झन्डा, व्यानर प्रयोग नगर्ने र सामाजिक संस्थाको झन्डा, व्यानरमात्र प्रयोग गर्ने । साथै, सामाजिक सद्भाव भड्किनेगरी कुनै जाति, समुदाय लक्षित उत्तेजित नारा र अभिव्यक्ति नदिने, कार्यक्रम अवधिभर संयमित ढंगले प्रस्तुत हुने तर कुनै समूह वा व्यक्तिको घुसपैठवाट आन्दोलन भड्किन पुगेमा र त्यसबाट क्षति पुग्न गएमा सो को जिम्मेवारी स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ ।
ती संस्थाहरुले तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानुनबमोजिम हदैसम्म सजाय दिनुपर्ने, शान्तिपूर्ण आन्दोलनमा आफ्नो मागहरू राखिरहेका अभियन्ताहरूलाई नियन्त्रणमा लिइसकेपछि अनावश्यक बल प्रयोग गरी चरम यातना दिने प्रहरीलाई कारबाही गर्नुपर्ने, आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाइते भएका दर्जनौं अभियन्ताहरूलाई उपचार खर्चसहित उचित क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन् ।
गत साउन ७ गते एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा अधिवक्ता पाण्डेले सिंगो तामाङ, मगरलगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले व्याख्या गर्नुका साथै आनुवांशिक रूपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्नेगरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्ति दिएकी थिइन् । सोही अभिव्यक्तिले आफूहरुको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्याएको सन्दर्भमा निजलाई अभिव्यक्ति सच्याउन पटक - पटक आग्रह गर्दासमेत अटेर गरेको भन्दै साउन ९ गते जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता भई पक्राउ पूर्जी समेत जारी भएको थियो । पक्राउ पुर्जी जारी भएर पनि लामो समय बितिसक्दा पनि अभियुक्तलाई पक्राउ नगरेपछि तामाङ र मगर समुदाय तथा अभियन्ताहरु १७ गते जिल्ला प्रहरी परिसर टेकु घेराउ कार्यक्रम राखिएको र घोषित १ घण्टे धर्ना कार्यक्रमलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरी चार दर्जन बढीलाई पक्राउ गर्नुका साथै अश्रुग्यास, लाठी, रङ, बुट प्रयोग गरी एक दर्जन बढी महिला तथा पुरुष अभियन्ताहरूलाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले हिरासतमा चरम यातना दिनुका साथै सुन्न, भन्न र लेख्नसमेत नसकिने शब्द प्रयोग गरी गालीगलौज गरेको र अमानवीय व्यवहार प्रदर्शन गरी निहत्था एक दर्जन बढी अभियन्ताको टाउको, जिउ र हातखुट्टामा चोट पुर्याई गम्भीर घाइते बनाएको भन्दै मगर र तामाङ समुदाय आन्दोलित भएका हुन् ।