काठमाडौं । 'मलाई छातीमा गोली हान्नुस् तर यस्तो अपशब्द नबोल्नुस्, यातना नदिनुस् एकैपटक मार्नुस् भनेर छाती थापेँ, तर सुनेन, पटक–पटक यातना दिइरहे, म बेहोस भएँ, होसमा आउँदा प्रहरीले मेरो अंगअंगमा हात लगाइरहेको थियो,' अभियन्ता कृतिका गोले यतिकै रोकिनुभएन, 'शरीरको कपडा खोल भन्यो अनि बन्दुकको कुन्दाले स्तन र गोप्य अंगमा हान्यो, बिन्ती गरेर गुहार मागे, पुरुष प्रहरीले छातीमा बुट वर्षायो ।'
विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेविरुद्ध घेराउका क्रममा झन्डै ९ घण्टा टेकु प्रहरी हिरासतमा बसेकी कृतिकासहितका नियन्त्रणमा परेकाहरुले शुक्रबार आयोजित गिरफ्तारी तथा घाइतेहरुबीच अन्तरसंवाद कार्यक्रममा सुनाउँदा केही सन्नाटा छायो । कार्यक्रमस्थलमा सुन्ने कतिका आशु खसे, कति भावुक देखिन्थे भने केहीमा बद्लाभाव झल्किन्थ्यो ।
पक्राउ पुर्जी जारी भएर पनि अभियुक्त खुलेआम हिँडिरहँदा पनि प्रहरीले नसमातेको भन्दै बुधबार साउन १७ गते नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको समन्वयमा आदिवासी जनजाती अभियन्ताहरु टेकु परिसर पुगेका थिए । शान्तिपूर्ण धर्ना र नाराबाजी चलिरहेको बेला प्रहरी अधिकारीले अभियुक्त पक्राउ परेको जनाउ दियो । नभन्दै पक्राउ गरिएको र बयान दिइरहेको तामाङ र मगर अगुवालाई प्रत्यक्ष देखाइयो । आन्दोलनरत पक्षले अभियुक्त पाण्डेविरुद्ध अदालतमा म्याद थप्न नलगिएसम्म आन्दोलनलाई जारी राख्ने भनियो । अभियुक्त पाण्डे समाउन आनाकानी गरेको प्रहरीले के निहुँ पाउँ भइरहेको बेला तामाङ-मगर आन्दोलन बिसर्जन गर्ने बेलामा बल प्रयोग गर्यो । त्यही बेला आफ्नो समुदायको अस्मितामाथि प्रहार गरेको, सामाजिक सद्भाव खल्बल्याउने, समुदायलाई नै आपराधिकरण गरिन लागिएकोमा आक्रोशमा रहेका आन्दोलनरत पक्षले प्रहरीको प्रतिवाद गरे । त्यही झडपका क्रममा कृतिकासहित ती दर्जनलाई प्रहरीले नियन्त्रणमा लियो ।
भीड तितरवितर पार्ने र अशान्ति हुन नदिन प्रहरीले नियन्त्रणमा लिने गरिन्छ । तर निरन्त्रणमा लिइसकेपछि घाइते भएकाको उपचार र अन्यलाई सुरक्षासहित राख्नु पर्नेमा उल्टो चरम यातना दिने र गालोगलौज गरेर प्रहरीले 'पञ्चायती शैली' अपनाएको आन्दोलनरत पक्ष भनाइ छ । सोही घटनाका पीडित मध्येकी कृतिकाले थप सुनाउनुभयो, 'मेरो शरीरको नीलडाम नभएको कुनै पनि ठाउँ बाँकी छैन । पुरुष प्रहरीबाट बुट र लाठी बर्सिरहँदा महिला प्रहरीलाई तपाईं पनि म जस्तै महिला हो मलाई बचाउँनुस् भन्दा झनै गाली गरे,' उहाँले भन्नुभयो, 'मर्यो कि भनेर मेरो पाखुरामा चिमोटेको निलडाम हेर्नुस् त ।'
कृतिका जस्तै टेकु धर्ना कार्यक्रममा काण्डमा गिरफ्तार परेका सबै महिलालाई अमानवीय व्यवहार गर्नुका साथै मरासन्न हुनेगरी कुटपिट र गोप्य अंगमा पनि पुरुष प्रहरीले हात लगाएको समेत पीडितहरुको गुनासो छ ।
'म टेकु पुग्दा प्रहरी र अभियन्ता बीचको मुठभेड सकिसकेको थियो । म सामाजिक संजालमा लाईभ गर्दै थिएँ, न त मैले प्रहरीलाई ढुगां नै प्रहार गरेको थिएँ न त गाली गलौज । सडकमा हिँडीरहेको अवस्थामा एक्कासी मलाई दुई जना महिला प्रहरीले समातेर लग्यो र मिडियाको अगाडि बाहिर नपिटे पनि भित्र मेरो दुबै खुट्टा फ्याक्चर हुनेगरी पिटे, ती आन्दोलनकी सहभागीले भनिन्, 'अति नै गरेपछि डन्ठे भन्ने शब्द मैले प्रयोग गरेँ, झनै पिटे, अपशब्द त कति हो कति, प्रहरी परिसरभित्र नागरिक सुरक्षाको लागि जान्छन् तर हामीलाई भने असुरक्षित महसुस भयो । मेरो खुट्टाबाट रगत बगिरहेको थियो, अन्य गिरफ्तारमा परेको साथीहरुले उपचार गर्नको लागि आग्रह गर्दा, त्यो तेरो काम होइन भन्यो'
कतिपयले त अस्पताल लाने भनेर प्रहरीको भ्यानमा राखेर ४ घण्टासम्म गाडीमै काठमाडौंका विभिन्न ठाउँमा घुमाएको र समयमा उपचार नगराइ निकै कष्टकर समय काट्नु परेको गुनासो गरे । मुस्कानसहितको सेवा, प्रहरी मेरो साथी भन्ने विभिन्न नारा भए पनि प्रहरीमा दानवको रुप पाएको बताइन् ।
खराब आचरण र कानुनविपरीत हिरासतमा अमानवीय व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने उहाँहरुको माग छ । बन्दुर र लाठी प्रहारबाट गम्भीर घाइते हुनुभएकी नेरुता हिजोमात्रै ट्रमा सेन्टरबाट डिस्चार्ज हुनुभएको छ ।
'पत्रकार हुँ' रिर्पोटिङको लागि आएको भन्दै कार्ड देखाउँदा समेत शान्ति मगरलाई गिरफ्तार गरियो । आफूलाई पनि भित्र लगेपछि चरम यातना दिएको बताउँदै उहाँले भन्नुभयो, 'सुरक्षाका लागि प्रहरीलाई सम्झन्छौं तर टेकु घटनापछि मलाई थाहा भयो प्रहरी दानव रहेछ ।'
काठमाडौंको सम्पूर्ण जनताको सुरक्षाको जिम्मा लिने प्रहरी परिसर टेकुभित्रै हामी सुरक्षित भएनौं भने आम जनताले के आश गर्ने भन्दै गृह मन्त्रालय र उच्चस्तरको प्रहरी प्रशासनको ध्यानकर्षण गराउनुभयो । ५० जना घाइतेमध्ये ८ जना महिला अभियन्ता थिए । सबैको माग जथाभावी बोल्ने भगवती पाण्डेलाई थप अनुसन्धान गर्नुपर्ने माग छ भने साउन १७ गते टेकु प्रहरी परिसरमा भएको घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने छ । आफ्नो समुदायको हक अधिकारको निम्ति अन्तिम समयसम्म पनि लडिरहने अभियन्ताहरुले बताउनुभएको छ ।
के छ अगुवाको भनाइ ?
लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले राज्यको विभेद अन्त्य हुन आवश्यक भएको धारणा राख्नुभयो । देश एकात्मक हिन्दुराज्यअनुसार चल्दा विभिन्न जाति र समुदायले अझै पनि सरकारलाई नजिकबाट महसुस गर्न नपाएको महताको भनाइ छ । उहाँले मधेशी समुदाय पनि निकै विभेदबाट गुज्रिरहेको उल्लेख गर्नुभयो ।
घाइतहरुको भनाइ सुनेपछि जनजातिको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नेता महतोले धेरै पटक मधेशी समुदायको निधारमा बन्दुक ताक्ने गरेको दुखेसो पोख्नुभयो । विभेदको अन्य गर्न सबै निकायबाट पहल गर्न आवश्यक भएको उहाँको भनाइ थियो ।
यस्तै अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टाशी लामाले टेकु काण्डलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि पहल गरिने आश्वासन दिनुभएको छ ।
तामाङमाथि भइरहेको दमनको दोषीलाई तत्काल कारबाही गर्नुपर्ने यदि सरकारले यो विषयलाई गम्भीरताका साथ नलिएको खण्डमा सयुक्त राष्ट्रसंघ, मानवअधिकार उच्चआयोग लगायतका निकायहरुमा पत्राचार गर्ने र केन्द्रीय कार्यालयहरुमा सन्देशहरु पठाउने भन्नुहुँदै महासचिव लामाले कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो । सबैभन्दा बढी महिलाहरुमाथि दमन र यातना दिएको भन्दै महासचिव लामाले आपत्ति जनाउनुभयो ।
असाध्यै निन्दनीय र क्रूर व्यवहार भएको भन्दै तत्काल दोषीलाई कारबाही गर्नको निम्ति नेपाल सरकारसमक्ष उहाँले माग गर्नुभयो । 'लोकतन्त्रमा पनि सुरक्षाको जिम्मा लिने र दिने दुबै भूमिकामा अडिक रहनुपर्ने टेकुको प्रहरी प्रशासनबाट यस पटक भने गम्भीर त्रुटि भएको देखिन्छ । गिरफ्तारमा लिए पनि निर्धात कुटपिट गरिनु, महिलालाई अश्लिल शब्द प्रयोग गर्दै पुरुष प्रहरीले छातीमा बुट बजार्नु निकै अमानवीय र अमर्यादीत हो,' उहाँले भन्नुभयो ।