काठमाडौं । सामाजिक सद्भाव खलबलिने किसिमले अभिव्यक्ति दिने अधिवक्ता र टेकु प्रहरी हिरासतमा चरम यातनामा दिने दोषीलाई कारबाही माग गर्दै सोमबार तामाङ र मगर समुदायको अगुवाइमा देशभर आन्दोलन भइरहेको छ ।
काठमाडौं माइतीघरदेखि नयाँ बानेश्वरसम्म विशाल जनप्रदर्शन गरिएको छ । आन्दोलनमा सहभागीहरुले विवादास्पद अभिव्यक्ति दिने भगवती पाण्डे र टेकु प्रहरीको दमन विरुद्ध चर्को नाराबाजी गरेका छन् । पक्राउ पुर्जी जारी भए पनि राजनीतिकलगायत विभिन्न पक्षको आडमा पाण्डेलाई उन्मुक्ति दिन खोजिएको भन्दै १७ साउनमा टेकु प्रहरी परिसरमा धर्ना दिने क्रममा प्रहरीले तीन दर्जनभन्दा बढीलाई हिरासतमा लिएको थियो । हिरासतमा पुगेका महिलाहरुलाई चरम यातना दिइएपछि आन्दोलन चर्किन थालेको हो । यो आन्दोलनलाई ताम्सालिङ, मगरातसहितको पहिचानको आन्दोलनको रुपमा बदल्नुपर्ने आवाज समेत उठाइएको छ ।
नेकपा एमाले निकट कानुन व्यवसायी पाण्डेले एक टेलिभिजन अन्तर्वार्तातमा प्रथाजनित कानुन र संविधानको विपरीत तामाङ, मगर र मुस्लिमलगायत समुदायम दाजुभाइ, दिदीबिहिनीबीच विवाह गर्ने र त्यस्ता विवाहबाट जन्मने सन्तान आपराधिक क्रियाकलाप लाग्ने, एकोहोरो हुने लगायत अभिव्यक्ति दिएकी थिइन् । जातीय, सामाजिक सद्भाव बिगार्ने र तामाङ, मगर समुदायलाई अपराधिकरण गर्न खोजिएको भन्दै तामाङ र मगर समुदाय आन्दोलित बनेका छन् ।
पाण्डेविरुद्ध टेकु प्रहरी कार्यालय काठमाडौंमा तामाङ घेदुङका सहअध्यक्ष कुमारसिंह घिसिङले दुवै समुदायको तर्फबाट साउन ९ गते जाहेरी दिनुभउको थियो । तर साउन १७ गतेसम्म पनि पाण्डेलाई पक्राउ नगरेपछि दबाबस्वरुप टेकु प्रहरी परिसरमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको थियो । त्यसक्रममा ५० जना अभियन्ताहरुलाई गिरफ्तार गरिएको थियो । गिरफ्तारपछि अभियन्ताहरुलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरिएको थियो । पक्राउ परेका ४२ जना पुरुष र ८ जना महिलाहरु थिए । सबैभन्दा धेरै महिला अभियन्ताहरुलाई प्रहरीले बर्बर दमन गरेको पीडितले जनाएका थिए ।
महिला अभियन्तालाई पुरुष प्रहरीले पिटेको र समयमा उपचार नगरेको भन्दै नेपालका आदिवासी जनजाती समुदाय अहिले देशभर आन्दोलित भएका हुन् ।
यस्ता छन् मागहरु
पहिलो नम्बरमा तामाङ र मगर समुदायलाई अपराधिकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने अभिवक्ता भगवती पाण्डेलाई कानून बमोजिम हदैसम्मको सजाय दिनुपर्ने, शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गरी नियन्त्रणमा लिइसकेपछि चरम यातना दिने जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीसहित संलग्न सबै प्रहरीलाई कार्वाही गर्नुपर्ने माग दोस्रो नम्बरमा राखिएको छ ।
साथै आदिवासी जनजाती अभियान्ताहरुले प्रहरी दमन निकै दर्दनाक र अमानविय भएको भन्दै साउन १७ गतेको आन्दोलनमा प्रहरीको चरम यातना तथा कुटपितबाट घाइते भएका अभियन्ताहरुको उपचार खर्चसहित उपचार सहित क्षतिपूर्ति दिनुपर्ने माग राखिएको छ ।
नेपाल तामाङ घेदुङको संघीय कार्यालय, नेपाल मगर संघ, नेपाल तामाङ कलाका संघ, अन्तराष्ट्रिय तामाङ परिषद्, तामाङ समुदायका विभिन्न संघ संस्थाले काठमाडौंको माईतीघरमा भएको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।
देशभर जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिदै प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।