काठमाडौं । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले भगवती पाण्डेहरु उत्पादन गर्ने सिंहदरबार नसच्चिए बन्चरेडाँडामा लगेर फालिदिने चेतावनी दिनुभएको छ ।
तामाङ पत्रकार संघले २९ औं तामाङ प्रसारण दिवसका अवसरमा काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सम्बोधनका क्रममा अध्यक्ष तामाङले आफ्नो समुदायमाथि थिचोमिचो र अपमान गर्ने स्रोत सिंहरबार भएकोले त्यसविरुद्ध जाइलाग्नु पर्ने बताउनुभएको हो । 'अब सबै खालका विभेद सदा कालका लागि अन्त्य गर्नुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं । यसखालको विभेदहरुलाई निरन्तरता दिने हो भने, यस खालका अपमानहरुलाई निरन्तरता दिइरहने हो भने यो राज्यसत्ताविरुद्धमा ठूलो आँधीबेहरी आउन सक्छ । ठूलो संघर्ष सुरुआत हुन सक्छ,' अध्यक्ष तामाङले भन्नुभयो, 'सडेगलेको सिंहदरबारलाई बन्चरेडाँडामा लगेर फाल्नु नपरोस् भनेर मैले सांकेतिकरुपमा यो उद्घोष गरेको थिएँ । किनकि भगवती पाण्डेहरु उत्पादन गर्ने कारखाना यो हो । यो हेर्डक्वार्टर यस्ता धेरै उत्पादन गरिरहेको छ । यो सत्ताले त्यसलाई सधैंभरि अन्त गर्ने दिशातिर गा'छ कि एउटा व्यक्तिको समस्या समाधान गर्नेतिर जान्छ त्यो हामीले हेर्नेपर्छ । यदि यो सत्ता करेक्सन गर्नेतिर जाँदैन भने निश्चय पनि हामीसँग आन्दोलनको विकल्प छैन ।'
कतिपयले हिजो मिलेर बसेको समाजमा तामाङ लगायत उत्पीडित समुदायले निहुँ झिकेको भन्ने भनाइको खण्डन गर्नुहुँदै अध्यक्ष तामाङले हिजोको दिनमा आफूहरु सहेर बसेको र अब त्यो नसकिने बताउनुभयो । 'हिजो मिलेर बसेको समाज होइन, सहेर बसेको हो । अब सहेर बस्दैनौं । यदि सहेर बस भन्छ भने आजको युग लोकतान्त्रिक युग हो । गणतान्त्रित्क, संघीयता र धर्मनिरपेक्षताको युग हो । यो बेला हामी सबै सार्वभौम बन्न चाहन्छौं,' उहाँले अगाडि भन्नुभयो ।
केही हप्ताअघि तामाङ, मगर समुदायमाथि अपमान हुने कपोलकल्पित अभिव्यक्ति दिने भगवती पाण्डे र उनलाई पक्राउ गर्न माग गर्दा धरपकड र हिरासतमा यातना दिने प्रहरीमाथि राज्यले कारबाही नगर्ने शंकामा सरोकारवाला आन्दोलित छन् । सरकारले ढिलै भए पनि कानुनी प्रक्रिया अगाडि बढाएको र दोषी प्रहरी पहिचान गर्न छानबिन समिति बनाएको छ । यी मुद्दामा सरकारले उन्मुक्ति दिए आन्दोलन चर्काउने अध्यक्ष गोलेले बताउनुभयो ।
'छानबिन समिति गठन गरेको अवस्था । त्यसको कार्यावधि १० दिनको आज सकिँदैछ । हामी पर्ख र हेरको स्थितिमा छौं,' उहाँले भन्नुभयो, 'त्यो प्रतिवेदन कस्तो आउँछ ?, राज्यले न्याय दिन्छ कि दिँदैन । अपमान गर्नेलाई राज्यले कारबाही गर्छ कि गर्दैन । हामी त्यो हेरिरहेका छौं । साउन २२ मा हामीले सानो टेलर देखायौं अब फेरि तीन घण्टाको फिलिम देखाउन नपरोस् । जबसम्म भगवती पाण्डे र शान्तिपूर्ण आन्दोलनकारी हाम्रा साथीहरुमाथि निर्मम, चरम यातना दिने प्रहरी अधिकारीहरुलाई कारबाही गरिँदैन भने तामाङले समुदायले छोड्ने परिस्थित बन्दैन । हामी सहने अवस्थामा छैनौं । राज्यले कारबाही गर्दैन भने तिनलाई तामाङ जनताले नै कारबाही गर्छौं । त्यसैले अब फिल्म हेर्ने कि टेलरमा सीमितता गर्ने बल राज्यसत्ताको कोर्टमा छ ।'