काठमाडौं । नेकपा एमालेकी सांसद ईश्वर घर्तीमगर मगर र तामाङ आन्दोलनकारीमाथि भएको दुर्व्यवहार छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बिहीबार धारणा राख्ने क्रममा सांसद घर्तीले छानबिन समिति गठन भएको १६/१७ दिन भए पनि प्रतिवेदन सार्वजनिक नभएको र दोषी प्रहरीलाई कारबाही भएको कि भएन भन्दै सरकारको जवाफ माग गर्नुभएको हो ।
'हाम्रो माननीय गृहमन्त्रीज्यूले यही रोस्ट्रममा उभिएर कारबाही गर्ने कुरा, छानबिन बनेको कुरा, १० दिनभित्र घटनाको सत्य तथ्य सार्वजनिक गर्ने कुरा जानकारी गराउनुभएको थियो । आज छानबिन समिति बनेको १६/१७ दिन पुगिसक्यो । तर अहिलेसम्म कारबाही भयो कि भएन ? त्यस्ता व्यवहार गर्ने प्रहरीमाथि, ती र त्यस्ता निर्देशन दिने प्रहरी अधिकारीमाथि कारबाही भयो कि भएन भन्ने कुरा सदनले जान्न पाएन । आमनेपाली जनताले जान्न पाएन । छानबिन समितिले के प्रतिवेदन ल्यायो ? प्रतिवेदन सार्वजनिक गर्न पनि म हार्दिक अपिल गर्न चाहन्छु,' उहाँको भनाइ थियो ।
एमाले निकट अधिवक्ता भगवती पाण्डेले मगर र तामाङले विवाह संस्कारबारे एक टेलिभिजन कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिँदा ती समुदायको आत्मसम्मानमा ठेस पुगेको र उनलाई कारबाही गर्नुपर्ने मागसहित टेकु प्रहरीमा साउन ९ गते जाहेरी दर्ता भएको थियो । तर, जाहेर दर्ता भएर पनि एक हप्तासम्म पक्राउ गर्न प्रहरी प्रशासनले आनाकानी गरेपछि मगर र तामाङ समुदायले दबाबस्वरुप १७ गते प्रहरी परिसर काठमाडौं टेकुमा शान्तिपूर्ण धर्ना दिएका थिए ।
त्यसक्रममा अनावश्यक बल प्रयोग गरी धरपकड र हिरासतमा लिएकामध्ये विशेषगरी महिलाहरुका संवेदनशील अंगहरुमा प्रहार गर्ने र कुटपिटसहित दुर्व्यवहार गरेको भन्दै साउन २२ गते राजधानीसहित देशभर तामाङ, मगर समुदायले त्यसको विरोधमा प्रदर्शन गरेका थिए ।
त्यसपछि सरकारले टेकु दमन घटना छानबिन समिति बनाएको र अधिवक्ता पाण्डेमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढेको जानकारी गराएको थियो ।