नुवाकोट । नेपाल पर्यटक यातायात व्यवसायी संघको द्वितीय उपाध्यक्षमा नुवाकोट शिवपुरी गाउँपालिका ५ सिलामेका व्यवसायी विनोद तामाङले उम्मेदवारी दिनुहुने भएको छ ।
संघको यही भदौ १९ गते काठमाडौमा हुने १० औं अधिवेशनअन्तर्गतको निर्वाचनमा तामाङले आइतबार उम्मेदवारी दर्ता गर्न लाग्नुभएको हो । ड्राइभ एडभेन्चर भेहिकल सर्भिस्का प्रोपाइटर तामाङ २०७२ सालदेखि संघमा आबद्ध हुनुभएको हो । उहाँले संघमा एक कार्यकाल कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालिसक्नुभएको छ । पर्यटकलाई यातायात सुविधा दिने यो व्यवसायमा तामाङ दुई दशकअघि अर्थात् २०६० सालदेखि नै निरन्तर हुनुहुन्छ ।
द्वितीय उपाध्यक्षका दाबेदार तामाङले संघ र व्यवसायीको समस्या पहिचान गरी समाधान गर्ने र व्यवसायलाई अझै परिस्कृत गराउने एजेन्डासहित उम्मेदवारी दिन लागेको ग्लोबल मिडियासँग जानकारी दिनुभयो ।
१९ गते निर्वाचनबाट नयाँ कार्यसमिति चयन भइसकेपछि पर्यटक यातायात व्यवसायी संघको २० औं साधारणसभा यही भदौ २२ गतेका लागि तोकिएको छ । संघको ११ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य रहने व्यवस्था छ । यो पटकको निर्वाचनमा ८८ जनाले मतदान गर्न पाउनेछन् ।
३ सय हाराहारीमा सदस्य संख्या रहेको संघमा चयन हुने नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ ।
देशभरका पर्यटक यातायात व्यवसायीहरुको साझा संस्था नेपाल पर्यटक यातायात व्यवसायी संघको यस पटकको निर्वाचनमा बेदराज बास्तोला प्यानलसहित होमिदै हुनुहुन्छ । उहाँकै टिमभित्र शिवपुरीका तामाङले उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो ।