सिन्धुली । झण्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भदौ १६ गतेदेखि देशव्यापीरुपमा 'जनतासँग माओवादी' विशेष रूपान्तरण अभियानअन्तर्गत सिन्धुलीमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ १६ भदौमा पार्टी केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियान उद्घाटन गर्नुभएको थियो । सिन्धुलीका ९ स्थानीय तहमध्ये ४ स्थानमा माओवादी केन्द्रले नेतृत्व गर्दै आइरहेको छ । १० वर्ष जनयुद्धमा सिन्धुलीले ठूलो योगदान पुर्याएको छ । माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बोम्जनका अनुसार सिन्धुलीको नौ वटानै पालिकामा केन्द्र र प्रदेशका नेता तथा सांसदलाई अभियानको जिम्मेवारी तोकिएको छ । जसअन्तर्गत कमलामाई नगरपालिकामा हरिबोल गजुरेल र महेश्वर दाहाललाई अभियानको जिम्मेवारी तोकिएको छ ।
हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्र प्रदेश उपाध्यक्ष तथा सांसद प्रेमबहादुर पुलामी, घ्याङ्लेख गाउँपालिकामा प्रदेश कमिटी सदस्य इन्दिरा काफ्ले, तीनपाटन गाउँपालिकामा प्रदेश सचिवालय सदस्य तथा सांसद मातृका भट्टराईलाई अभियानको जिम्मेवारी प्रदान गरिएको छ ।
फिक्कल गाउँपालिकामा प्रदेश कमिटी सदस्य विष्णु सुनुवार, सुनकोशी गाउँपालिकामा माओवादीका केन्द्रीय कमिटीका सदस्य तथा प्रदेश सांसद युवराज चौलागाईं, गोलान्जोर गाउँपालिकामा केन्द्रीय कमिटी सदस्य गंगाबहादुर तामाङलाई अभियानको जिम्मेवारीमा राखिएको छ । त्यस्तै मरिण गाउँपालिकामा प्रदेश सांसद उर्मिला लामा र दुधौली नगरपालिकामा सञ्चालन हुने माओवादीको तीन महिने अभियानको जिम्मेवारी मिना शर्मा तिवारीलाई प्रदान गरिएको छ । उहाँ माओवादी केन्द्रको निर्वाचन आयोगको केन्द्रीय समिति सदस्य पनि हुनुहुन्छ । साथै प्रदेश कमिटीका सदस्यहरूलाई भने भूगोल अदलबदल गरेर फरक पालिकामा जिम्मेवारी दिएको छ ।
जिल्ला संयोजक बोम्जनको जिम्मेवारीमा भने जिल्लाको अभियानअन्तर्गत सञ्चालन गर्ने विभिन्न गतिविधिको संयोजन गर्ने जिम्मेवारी रहेको छ । संयोजक बोम्जनका अनुसार तीन महिने अभियान भर संगठन शुद्धीकरण गर्ने, पार्टी नवीकरण र थप सदस्यता वितरण, जनवर्गीय संगठनको बैठक भेला तथा प्रशिक्षण भइरहेको छ । साथै अभियानको क्रममा सचेतना मूलक कार्यक्रम, श्रम शिविर सञ्चालन गर्ने, सरसफाइ कार्यक्रमलगायत रहेका छन् ।
ग्लोबल मिडियासँगको कुराकानीमा संयोजक बोम्जनले भन्नुभयो, 'पछिल्लो समय माओवादी पार्टी खस्किँदै गएको विषयमा पनि जनतासँग सुझाव लिने, पार्टीले गरेको सकारात्मक कुराको व्यापक मात्रामा जनतामाझ प्रचार–प्रचासार गर्नुका साथै विपक्षी पार्टीले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्ने काम भइरहेको छ ।'
माओवादी पार्टीमा जनताको धेरै विश्वास बढ्दै गएको गए पनि सरकार जनता बिचमा बुझाई फरक भएको हुँदा एक रूपतामा बुझाउने गरी अघि बढिरहेको संयोजक बोम्जनको भनाइ छ ।
सरकारको पछिल्लो चरणको भ्रष्टाचारविरोधी आन्दोलनले गर्दा पूर्णरुपमा जनता माओवादी पार्टी प्रति आशावादी भएको, इतिहासमै राम्रो काम गरेको प्रतिक्रिया आइरहेको उहाँले बताउनुभयो । माओवादी नेतृत्वको सरकारले राम्रो काम गर्दा विपक्ष पार्टीको समर्थक र शुभचिन्तको पनि आशा पलाएको संयोजक बोम्जनको दाबी छ ।
देशभर अभियानका क्रममा विकास निर्माणका काम पनि भएका छन् । कतै सफाइ अभियान चलेको छ । कतै रक्तदान त कतै सहिद परिवारलाई सम्मान गरिएको छ । सडक मर्मत गर्ने, स्थानीयसँग अन्तरक्रिया एवं पार्क सफाइ गर्ने कामसमेत अभियानको क्रममा सुरु भएको छ । यो अभियान तीन महिनासम्म जारी रहने माओवादी केन्द्रले जनाएको छ ।