प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा छहरे-टोखा सुरुङमार्गलाई उच्च प्राथमिकताका साथ उठाइने छ : मन्त्री ज्वाला
चालु आव २०८०/८१ मै शिलान्यास गर्नेगरी यस सुरुङमार्गबारे प्रधानमन्त्री प्रचण्डसँग बारम्बार कुरा गरिरहेको छु : पूर्वमन्त्री तामाङ
नुवाकोट । गौरवको आयोजनामध्ये सरकारको प्राथमिकतामा रहेको टोखा-छहरे सुरुङमार्ग निर्माण कार्य अघि बढाउनका लागि सोमबार मन्त्री र सांसदहरूले स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हितबहादुर तामाङ, कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिसमेत रहनुभएकी संघीय सांसद विमला सुवेदीले सोमबार प्रस्तावित सुरुङमार्ग अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।
अवलोकनपछि मन्त्री ज्वालाले सरकारको प्रमुख प्राथमिकतामा रहेको यो परियोजनाले काठमाडौं उपत्यकालाई नुवाकोट, रसुवा हुँदै चीनसँग जोड्नका लागि महत्त्वपूर्ण रहने भन्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेपछि निर्माणको काम अगाडि बढ्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको असोज पहिलो साता हुने चीन भ्रमणका क्रममा छहरे टोखा सुरुङमार्गलाई उच्च प्राथमिकताका साथ उठाइने जानकारी पनि गराउनुभयो ।
'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका क्रममा टोखा-छहरे सुरुङमार्गलाई उच्च प्राथमिकताका साथ सरकारले उठाउने छ । यो वर्ष १ अर्ब २५ करोड बजेट पनि छुट्याइएको छ । चीन सरकारको सहयोग भयो भने यसलाई तीव्र गतिमा अगाडि बढाउँछौं,' मन्त्री ज्वालाले भने, 'प्राथमिकता र गौरवको आयोजना हो । संघीय राजधानी र चीनसँग सीमासँग जोड्ने रणनीतिक सडक भएकोले भोलिको दिनमा इकोनमिक टनेलको रुपमा अगाडि बढाउनुपर्ने हुन्छ ।'
सोही क्षेत्र नुवाकोट-१ बाट निर्वाचित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले चालु आव २०८०/८१ मै शिलान्यास गर्नेगरी यस सुरुङमार्गको विषयमा प्रधानमन्त्री प्रचण्डसँग आफूले बारम्बार कुरा गरिरहेको बताउनुभयो । उहाँले यो सुरुङ बनेपछि त्यस भेगमा उत्पादन बढ्ने, नागरिकको आर्थिक स्थिति उकासिने र धेरैको आकर्षण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
'२०७४ सालमा म निर्वाचित भएर आइसकेपछि यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले मागपत्र पेस गरेको थिएँ । त्यसको दुई वर्षपछि २०७६ सालमा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउनुभएपछि चाइनाले यो सुरुङमार्गबारे निकै चासो राखेको हामीले थाहा पायौं । केही सहमति पनि भयो । त्यसपछि कोरोना महामारी सुरु भयो । जसले चिनिया प्राविधिक टोली यहाँ बस्न सकेनन् । प्रारम्भिक अध्ययन गरेर गएको भन्ने थियो । असोज पहिलो हप्तामा सम्माननीय प्रधानमन्त्री प्रचण्ड चाइना भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसमा विगतमा भएका सहमतिबारे विशेष कुराकानी हुने भन्ने एजेन्डामध्येमा पहिलो प्राथमिकतामा यो सुरुङमार्ग पनि पर्छ,' पूर्वमन्त्री तामाङले भन्नुभयो, 'इआए अगाडि बढाउनु आवश्यक छ । त्यसपछि डीपीआर बनाउनुपर्ने हुन्छ । ८०/८१ मै शिलान्याय गर्न पाए हुने भन्ने छ । यस विषयमा मैले प्रधानमन्त्रीज्यूसँग कुरा गरिरहेको छु ।'
यो सुरुङमार्ग चिनियाँ सरकारको लगानीमा बन्ने छ । चालु आर्थिक वर्षमा नेपाल सरकारले १ अर्ब बजेट छुट्याइएको छ ।
चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार सुरुङमार्गको सबभन्दा लामो काठमाडौं-टोखा नगरपालिकाको झोर प्रवेशद्वार र अन्तिम विन्दु नुवाकोटको शिवपुरी-७ चापाबोट क्षेत्र रहने छ । जुन ४ किलोमिटर ५० मिटरको रहेको छ । त्यस्तै ३.६ किलोमिटर र ३ किलोमिटरको दूरीको विकल्प रहेको पूर्वाधारमन्त्री ज्वालाले जानकारी दिए । उनका अनुसार काठमाडौंतर्फ २ वटा प्वाइन्ट र नुवाकोटतर्फ तीनवटा प्वाइन्ट हुने अध्ययनमा छ ।
अर्थमन्त्री महतले टोखा-छहरे सुरुङमार्गले चीन जाने रसुवागढी नाकामात्रै नभई पृथ्वी राजमार्गबाट आउने सवारी साधनलाई पनि थानकोटभन्दा छिटो काठमाडौं पुग्न पहुँचमार्ग बन्ने बताउनुभयो ।
सांसद सुवेदीले टोखा-छहरे सुरुङमार्ग नुवाकोटका लागि एकदमै राम्रो अवसर हुने भन्दै यहाँका जनताको जीवनस्तर उठाउन धेरै नै महत्त्वपूर्ण रहने बताउनुभयो ।
अवलोकन तथा निरीक्षणमा मन्त्री, सांसदसहित भौतिक योजना मन्त्रालयका सचिव, महानिर्देशक, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वधारण सहभागी हुनुहुन्थ्यो ।