नुवाकोट । नेकपा (एमाले) वाग्मती प्रदेश प्रथम अधिवेशनको संघारमा पार्टीभित्रको असन्तुष्टि र किचलो बाहिरिएको छ । प्रतिनिधि छनोटका विषयमा आकांक्षीहरु धेरै भएपछि नुवाकोटका विभिन्न पालिकामा विवाद चर्किएको हो । यसको पल्छिल्लो उदारण हो, पञ्चकन्या गाउँपालिका । पञ्चकन्यामा प्रतिनिधि छनोट विषयमा विवाद चर्किएपछि एमाले पञ्चकन्या गाउँपालिका कमिटी अध्यक्ष रामनाथ खनाल स्वयंले सामाजिक सञ्जालमार्फत तीतो पोख्नुभएको छ ।
उहाँले केही महिनाअघि एमालेले चलाएको मिसन ग्रासरुट अभियान, पार्टीका अन्य कार्यक्रम र नवीकरणमा समेत बेवास्ता गर्ने र अपशब्द बोल्नेहरुले अहिले अधिवेशनका मुखमा प्रतिनिधिमा लोभ गर्ने गरेको बताउनुभएको छ । अध्यक्ष खनालले अहिले पार्टीभित्र देखिएको अवसरवादी र घुर्कीपनाले एमाले बन्ला र भन्ने प्रश्नसमेत गर्नुभएको छ ।
'पार्टीले मिसन ग्रासरुट अभियान चलायो कतिपय साथीहरुले गाउँ नै देख्नुभएन । मसँग उपस्थित भएको रेकर्ड पनि सुरक्षित छ । निर्वाचन आउँछ, पार्टीको अभियानहरु आउँछ सिधा उत्तर आउँछ पार्टीले के देको छ र लाग्ने, सदस्यता नवीकरण गर्नु पर्यो २० चोटी कल गर्दा हालेर गरिदिनु मेरो अरुको म ठेक्का लिन्न भन्ने उत्तर आउँछ अनि जब अधिवेशन टिकटको बेला आउँछ सबैभन्दा अब्बल मै हुँ अरु सबै भुसडी हुन भन्दै कहिलेकहीं नभ्याउने साथीहरु पनि त्यो बेला अरुभन्दा बढी समय लाग्छन र आफू वा आफूले भनेजस्तो भएन भने पार्टीकै विरुद्ध गलत प्रचार गर्दै हिँड्छन्,' उहाँले फेसबुकमा मंगलबार लेख्नुभएको छ, 'वाग्मती प्रतिनिधि छान्ने सवालमा के सम्म पाइयो भने प्रतिनिधि नभए यस्तो ...जी पार्टीमा बसिन्न रे ! अनि पार्टी बन्ला र ?'
उहाँले हरेक पटक अवसर नपाएकै निहुँमा पार्टी संगठन र नेतृत्वविरुद्ध छेडखानी गर्नेहरुबाट संगठनको हित र भलो नहुने भएकोले निरन्तर कर्म गरेमा एकपटक नभए अर्कोपटक अवसर आउने सुझाव नेता, कार्यकर्तालाई दिनुभएको छ।
एमाले वाग्मती प्रदेश प्रथम अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुँदैछ ।