सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाको वडा नम्बर दुईको झण्डै ३ सय घरधुरीमा विद्युत् सेवा विस्तार गरिएको छ । मंगलबार वडाध्यक्ष तथा पालिकाका प्रवक्ता कमला आलेको अध्यक्षता तथा मरिणका अध्यक्ष विमर्श मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्युत विस्तार भएको घोषणा गरिएको हो ।
उक्त वडाका सिन्दुरे, दोभान, रातमाटा, पांग्रे गरी २ सय ९१ भन्दा बढी घरधुरीमा विद्युत् सेवा विस्तार भएका हुन् । सो स्थानका लागि तीन वटा ट्रान्सफर्मर जडान भएको छ । नेपाल विद्युत् प्राधिकरण संघीय कार्यालयको ६ करोड बजेट विनियोजन गरिएको थियो । विद्युत् सेवाका लागि पालिकाले ६ महिनादेखि काम गरेको जनाइएको छ ।
मंगलबार विद्युत् विस्तार भएसँगै मरिणमा विद्युत् विस्तार ८० प्रतिशत पुगेको छ । बाँकी स्थानमा यही आर्थिक वर्षभित्रै विद्युत् विस्तार हुने गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै वडा नम्बर दुईको सिथौली र शिखरडाँडामा पनि विद्युत् विस्तारको काम तीव्रगतिमा भइरहेको पालिका अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।
उहाँले दशैं अघि विद्युत् सेवा त्यहाँ पनि जडान गर्ने गरी काम भइरहेको थप दुई सय ५० घरधुरी लाभान्वित हुने आश गरिएको छ । मरिणमा एक नम्बरको भदौरे, ज्यामिरे, सखौरी, कटुन्जे, मधुवनीमा विद्युत् सेवा अझै पुग्न सकेको छैन ।
त्यहाँ पनि यो आर्थिक वर्ष भित्रमा विद्युत् सेवा सुचारु गरिने अध्यक्ष मुक्तानले प्रतिबद्धता जनाउनुभयो । विद्युत् विस्तार कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जी, सामाजिक विकास शाखा प्रमुख सुदीप केसी, वडा सदस्यहरु र स्थानीयको उपस्थिति रहेको थियो ।