सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा कांग्रेस र एमाले परित्याग गरी सयौँ माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रको तीन महिने अभियानअन्तर्गत 'घरघरमा माओवादी जनजनमा माओवादी' विशेष रूपान्तरण अभियानकै क्रममा हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ झनझनेमा आयोजना गरिएको जनसभामा कांग्रेसका पूर्ववडाध्यक्ष बालकृष्ण नेपालसहितका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । माओवादी हरिहरपुरगढीले भने २४१ जना पार्टी प्रवेश गरेको दाबी गरेको छ ।
तीन महिने अभियानका इन्चार्ज प्रेम पुलामीको अध्यक्षतामा तथा केन्द्रीय उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको प्रमुख आथित्यतामा भएको सभामा नवप्रवेशीलाई उपमहासचिव शर्मा, केन्द्रीय सदस्य तथा सांसद लेखनाथ दाहाल ‘राजन’, केन्द्रीय सदस्य महेश्वर दाहाल, नेताहरू ईश्वरी भट्टराई, बमध्वज लामा, उर्मिला लामा, मिना शर्मा, वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेललगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।
सभामा स्वागत मन्तव्य पालिका इन्चार्ज बज्रध्वज वाइबाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन पालिका सचिव बिल बम्जनले गर्नुभएको थियो ।
माओवादी केन्द्रले तीन महिनेअभियान देशभर विभिन्न कार्यक्रम गरी जारी राखेको छ । अभियानअन्तर्गत प्रत्यक वडामा संयोजक तोक्ने, वडामा–वडा कमिटी निर्माणसँगै विद्यालय, सडक तथा सार्वजनिक स्थलमा सरसफाई गर्ने काम भइरहेको पालिका संयोजक वाइबाले बताउनुभयो । त्यस्तै पार्टी सदस्यता नवीकरण गर्नुका साथै नयाँ सदस्य ९ सय पुर्याउने लक्ष्य पालिकाको रहेको उहाँले बताउनुभयो ।
ग्लोबल मिडियासँगको कुराकानीमा पालिका संयोजक वाइबाले हाल हरिहरपुरगढीमा एक हजार ८ सय सदस्य रहेको र अभियानको क्रममा थप ९ सय थपिने उद्देश्य राखिएको बताउनुभयो । लक्ष्यअनुसार सदस्यता थपिए हरिहरपुरगढीमा ३ हजार जना माओवादी केन्द्रको सदस्य पुग्ने उहाँको भनाइ छ ।