काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघको प्रमुख घटक 'अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ'मा पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।
दरबारमार्गस्थित होटल याक एन्ड यतिमा संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले रिक्त पदहरु महासचिव, दुई सचिव, कोषाध्यक्ष र ६ जना केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको हो । संघले दिएको जानकारीअनुसार मनोनीत हुनेमा महिला उपाध्यक्षमा रमिता श्रेष्ठ (होटल हिमालय), महासचिव रामकुमार खड्का (क्यासिनो माजोङ), सचिव सुनिता गुरुङ (हायात), सचिवमा प्रयास लामा (होटल क्लब हिमालय) तथा कोषाध्यक्षमा राम पन्त (र्याडिसन) हुनुहुन्छ । यस्तै केन्द्रीय सदस्यहरुमा रामहरि भण्डारी (र्याडिसन), सुनिता थापा (पार्क भिलेज), मेघराज खनाल, दिलबहादुर घिसिङ, यादव फुयाल, मित्रराज पाण्डे सर्वसम्मत चयन हुनुभएको छ ।
बैठकमा महासंघ अध्यक्ष जगत सिंखडा प्रमुख आतिथ्यता, विशिष्ट अतिथिहरु महासंघ उपाध्यक्ष तथा वाग्मती प्रदेश सहसचिव प्रकाश श्रेष्ठ, महासंघ उपमहासचिव तथा संघ इन्चार्ज माधव पाण्डे उपस्थित हुनुहुन्थ्यो ।
महासचिवराम कुमार खड्काले संचालनमा गरेको बैठकले होटल रेस्टुरेन्ट क्षेत्रको मुख्य काममा समेत आपूर्तिकर्ता तथा करारमा श्रमिक नियुक्ति गर्ने गैरकानुनी कामविरुद्ध कडा संघर्ष गर्ने लगायत निर्णय गरेको छ ।
बैठकले सेवा शुल्क कानुनीरुपमा नै पुनर्प्राप्तिका लागि श्रमिक संवाद, सरोकारवाला पक्षहरुसँग (प्रतिष्ठानस्तर तथा राष्ट्रियस्तर)मा अन्तरक्रिया, राजनीतिक दल र विधायकहरुसँग कानुन निर्माणका विषयमा संवादलगायत रचनात्मकरुपमा दबाब मूलक अभियान देशव्यापीरुपमा गर्ने, सेवा शुल्ककै रुपमा श्रमिकले पाउनु पर्ने अधिकार पुनर्स्थापित गर्न संघर्ष गर्ने, नेपाल सरकारले वृद्धि गरेको तलब २३०० सबै तहको श्रमिकहरुलाई साउनबाटै वृद्धि गर्न लगाउने, सामाजिक सुरक्षा पूर्ण कार्यान्वयनमा जोड दिने र दसैं र तिहारको बीचमा संगठनको अहिलेसम्मका सबै उपलब्धि संघर्षलगायत समावेश गरी स्मारिका प्रकाशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रामहरि भण्डारीले जानकारी दिनुभयो ।