सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका र सर्लाहीको हरिवन नगरपालिकाबीच व्यापारिक कच्ची सडकहरु स्तरोन्नति गर्ने समझदारी भएको छ ।
एक अर्काका छिमेकी स्थानीय तह रहेको र वर्षौंदेखि दुवै स्थानीय तहका नागरिकहरु व्यापारिक कार्यको सिलसिलामा कच्ची सडकहरु हुँदै आवतजावत गरिरहनु परेको र सडकहरु स्तरोन्नति गर्दा दुवै स्थानीय तहको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योग्दान पुर्याउने देखिएको निष्कर्षसहित मंगलबार दुई पालिकाबीच समझदारी भएको हो । समझदारी पत्रमा हरिवनका नगर प्रमुख रमेश बुढाथोकी र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोपालनाथ श्रेष्ठ र मरिण गाउँपालिका अध्यक्ष विमर्स मुक्तानले हस्ताक्षर गर्नुभएको छ ।
हरिवन८, फेदी, वडा नं. १, विलन्दी, हरिहरपुरगढी, क्वाटर, मरिण गाउँपालिका-३, वरुण हुँदै मरिण जोड्ने सडक र हरिवन-२, चिसापानी क्यमनचुली, हरिहरपुरगढी, वडा नं. ७ क्यानखोला भुतांहा मरिण-३, वरुण मथौली ठूलो गर्दुवा खलङ्गा कार्तिके बाँदरे, महाभारत गाउँपालिका वनखु हुँदै काठमाडौं जोड्ने सडक स्तरोन्नतिमा आवश्यक वित्तीय व्यवस्थापनका लागि सम्बन्धित नियकामा संयुक्त पहल गर्ने समझदारी पत्रमा उल्लेख छ ।
'दुवै स्थानीय तहहरुले आ-आफ्ना क्षेत्रमा पर्ने सो कच्ची सडकहरुको सम्भाव्यता अध्ययन गरी प्राविधिकरुपमा सम्भाव्य भएका कच्ची सडकहरुको स्तरोन्नति गर्न आवश्यक वित्तीय व्यवस्थापन गर्न संघीय सरकार र प्रदेश सरकारहरुसमझ संयुक्तरुपमा पहल गर्न हरिवन नगरपालिका र मरिण गाउँपालिकाबीच आपसी समझदारी गरेका छौं,' पत्रमा लेखिएको छ ।